हतार नगर्नुस्, वृद्धाभत्ता ५ हजार पुग्छः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले पदावधि सकिने बेला वृद्धाभत्ता ५ हजार पुर्याउने बताएका छन् । मुख्यमन्त्री गुरुङले सरकारले पदावधि सकिने बेलासम्म भत्ता ५ हजार रुपैयाँ पुर्याउने बताउँदै ढुक्क रहन आग्रह गरेका हुन् ।
कास्कीको रुपा गाउँपालिकामा भएको अन्तर स्थानीय तह भलिबल प्रतियोगिता तथा स्थानीय झाँकी प्रदर्शन कार्यक्रमको समापनमा बोल्दै मुख्यमन्त्री गुरुङले यो वर्ष कमजोरी भए पनि अर्को वर्षबाट सबै खाले भत्ता बढ्ने बताए । ‘भत्ता बढेन भन्ने तपाईंलाई कताकता लागिरहेको होला । भोट माग्दा कम्युनिस्ट पार्टीका उम्मेदवारले भनेका थिए होलान्, हामी वृद्धाभत्ता वा एक महिला भत्ता ५ हजार रुपैयाँ पुर्याउँछौं । तर, आजसम्म भत्ता बढेको छैन भन्ने होला,’ मुख्यमन्त्री गुरुङले भने, ‘हतार नगर्नुस् । यसपटक छुट्यो तर ४ वर्ष त बाँकी छ नि । ४ वर्षभित्र १, १ हजार बढ्यो भने पनि ५ हजार पुग्दैन र ?’
सरकारको पदावधि सकिँदा वृद्धाभत्ता ५ हजार पुग्ने कुरामा ढुक्क हुन् मुख्यमन्त्री गुरुङको आग्रह थियो । ‘ढुक्क भए हुन्छ । स्थानीय र प्रदेश सरकारले होइन, अबको बजेटमा संघीय सरकारले छुट्याउँछ । वृद्धा भत्ता, असक्त भत्ता, विधुवा भत्ता लगायत जति पनि भत्ता छन्, संघीय सरकारले बढाउँछ र वितरण स्थानीय सरकारले गर्छ,’ स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले भने ।
महंगीको तुलनामा वृद्धाभत्तासँगै अरु भत्ता पनि बढाउनुपर्छ भनेर आफूले संघीय सरकारलाई भनेको मुख्यमन्त्री गुरुङले बताए । ‘यो साल कमजोरी ग¥यौं, अर्को सालबाट वृद्धाभत्ता बढाउँछौं भनेर संघ सरकारले आस्वस्त पारेको छ ।’
प्रदेश सरकारले अबको ५० वर्षसम्ममा कहाँ हुने भन्ने लक्ष्य लिएको तर अहिले गर्भमै रहेको मुख्यमन्त्री गुरुङले बताए । ‘पञ्चवर्षीय योजना बनाइरहेका छौं । अबको १२ वर्षमा कहाँ हुन्छौं । अहिलेको लक्का जवान ५० वर्ष पुग्नेबेला हाम्रो प्रदेश कस्तो हुन्छ ? अनुमान गर्ने र योजना बनाउने काम गरिरहेका छौं,’ मुख्यमन्त्री गुरुङले भने । भोलि काम गर्नका लागि पनि प्रदेशले अहिले जग खन्ने काम गरिरहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । हतारो नगरी अर्को वर्षबाट प्रदेश सरकार कहाँनेर छ भनेर खोज्न मुख्यमन्त्री गुरुङले आग्रह गरे ।
मुख्यमन्त्री गुरुङले प्रत्येक स्थानीय तहले आफू कहाँनेर छु भनेर थाहा पाउनुपर्ने बताए । ‘आफ्नो स्थानीय तहको प्रत्तिव्यक्ति आयको दर कति हो ? कति जनता गरिबीको रेखामुनि छन् लगायतका कुरा थाहा नपाई बनाएका योजना फेल हुन्छन् । त्यसैले आफू कहाँ छु भन्ने थाहा पाउनुस् र योजना बनाउनुस्,’ मुख्यमन्त्री गुरुङले भने ।
समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा विकास समिति सभापति दीपक कोइरालाले सेवाग्राहीले वडावडाबाटै काम पाउनुले सिंहदरबार घरघरमै आएको आभास दिलाइरहेको बताए । स्थानीय तह, प्रदेश मिलेर जनताका आवश्यकताअनुसारको विकास निर्माण र सेवा दिने काम भइरहेको उनको भनाइ थियो ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले चुनावताका जनताको घरदैलोमा गरेको बाचा पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए । स्वास्थ्य, शिक्षा, खेलकुद, सेवा हरेक कुरामा रुपा गाउँपालिकाले जनताको आवश्यकता पूरा गरिरहेको उनले बताए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया