हतार नगर्नुस्, वृद्धाभत्ता ५ हजार पुग्छः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:२१

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले पदावधि सकिने बेला वृद्धाभत्ता ५ हजार पुर्‍याउने बताएका छन् । मुख्यमन्त्री गुरुङले सरकारले पदावधि सकिने बेलासम्म भत्ता ५ हजार रुपैयाँ पुर्‍याउने बताउँदै ढुक्क रहन आग्रह गरेका हुन् ।

कास्कीको रुपा गाउँपालिकामा भएको अन्तर स्थानीय तह भलिबल प्रतियोगिता तथा स्थानीय झाँकी प्रदर्शन कार्यक्रमको समापनमा बोल्दै मुख्यमन्त्री गुरुङले यो वर्ष कमजोरी भए पनि अर्को वर्षबाट सबै खाले भत्ता बढ्ने बताए । ‘भत्ता बढेन भन्ने तपाईंलाई कताकता लागिरहेको होला । भोट माग्दा कम्युनिस्ट पार्टीका उम्मेदवारले भनेका थिए होलान्, हामी वृद्धाभत्ता वा एक महिला भत्ता ५ हजार रुपैयाँ पुर्‍याउँछौं । तर, आजसम्म भत्ता बढेको छैन भन्ने होला,’ मुख्यमन्त्री गुरुङले भने, ‘हतार नगर्नुस् । यसपटक छुट्यो तर ४ वर्ष त बाँकी छ नि । ४ वर्षभित्र १, १ हजार बढ्यो भने पनि ५ हजार पुग्दैन र ?’

Advertisement

सरकारको पदावधि सकिँदा वृद्धाभत्ता ५ हजार पुग्ने कुरामा ढुक्क हुन् मुख्यमन्त्री गुरुङको आग्रह थियो । ‘ढुक्क भए हुन्छ । स्थानीय र प्रदेश सरकारले होइन, अबको बजेटमा संघीय सरकारले छुट्याउँछ । वृद्धा भत्ता, असक्त भत्ता, विधुवा भत्ता लगायत जति पनि भत्ता छन्, संघीय सरकारले बढाउँछ र वितरण स्थानीय सरकारले गर्छ,’ स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले भने ।

महंगीको तुलनामा वृद्धाभत्तासँगै अरु भत्ता पनि बढाउनुपर्छ भनेर आफूले संघीय सरकारलाई भनेको मुख्यमन्त्री गुरुङले बताए । ‘यो साल कमजोरी ग¥यौं, अर्को सालबाट वृद्धाभत्ता बढाउँछौं भनेर संघ सरकारले आस्वस्त पारेको छ ।’

Advertisement

प्रदेश सरकारले अबको ५० वर्षसम्ममा कहाँ हुने भन्ने लक्ष्य लिएको तर अहिले गर्भमै रहेको मुख्यमन्त्री गुरुङले बताए । ‘पञ्चवर्षीय योजना बनाइरहेका छौं । अबको १२ वर्षमा कहाँ हुन्छौं । अहिलेको लक्का जवान ५० वर्ष पुग्नेबेला हाम्रो प्रदेश कस्तो हुन्छ ? अनुमान गर्ने र योजना बनाउने काम गरिरहेका छौं,’ मुख्यमन्त्री गुरुङले भने । भोलि काम गर्नका लागि पनि प्रदेशले अहिले जग खन्ने काम गरिरहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । हतारो नगरी अर्को वर्षबाट प्रदेश सरकार कहाँनेर छ भनेर खोज्न मुख्यमन्त्री गुरुङले आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले प्रत्येक स्थानीय तहले आफू कहाँनेर छु भनेर थाहा पाउनुपर्ने बताए । ‘आफ्नो स्थानीय तहको प्रत्तिव्यक्ति आयको दर कति हो ? कति जनता गरिबीको रेखामुनि छन् लगायतका कुरा थाहा नपाई बनाएका योजना फेल हुन्छन् । त्यसैले आफू कहाँ छु भन्ने थाहा पाउनुस् र योजना बनाउनुस्,’ मुख्यमन्त्री गुरुङले भने ।

समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा विकास समिति सभापति दीपक कोइरालाले सेवाग्राहीले वडावडाबाटै काम पाउनुले सिंहदरबार घरघरमै आएको आभास दिलाइरहेको बताए । स्थानीय तह, प्रदेश मिलेर जनताका आवश्यकताअनुसारको विकास निर्माण र सेवा दिने काम भइरहेको उनको भनाइ थियो ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले चुनावताका जनताको घरदैलोमा गरेको बाचा पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए । स्वास्थ्य, शिक्षा, खेलकुद, सेवा हरेक कुरामा रुपा गाउँपालिकाले जनताको आवश्यकता पूरा गरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया