सुन भन्दै ठगी गर्ने राधा पक्राउ

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:४८

कृष्ण न्यौपाने

सुन जस्तो पहेंलो धातु देखाई ठगी गर्ने गोरखा जिल्ला पालुङटार ५ भण्डारीथोककी ४९ वर्षीया राधा थापालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १० इन्द्रचोकमा अस्थायी बसोबास गर्ने उनलाई तनहुँ प्रहरीले आइतबार पक्राउ गरेको हो ।

गत फागुन १२ गते दिउँसो व्यास २ गणेशमानचोकमा स्थानीय विमला थापालाई प्रलोभनमा पारी उनले लगाएको सिक्री र औंठी ठगी गरी फरार उनलाई पालुङटारस्थित घरबाटै पक्रिएको तनहुँ प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

Advertisement

विमलाले लगाएको १ तोलाको सुनको सिक्री र आधा तोलाको सुनको औंठी गरी ९१ हजार ४ सय बराबरको धनमाल ठगी गरेको आरोपमा पक्राउ परेकी उनीविरुद्ध सोमबार तनहुँ जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पीडितको सूचनाका आधारमा तत्काल प्रहरी परिचालन गरी बजारमा जडित सिसि क्यामरा फुटेज तथा हुलियाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले राधाको साथबाट सुन जस्तो देखिने धातुका नक्कली गहना सिक्री १ थान, टप १ जोर, औंठी २ थान, जुली ३ जोरसमेत बरामद गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया