भवन अभावमा एउटै कोठामा ३ वटा कक्षा

समाधान संवाददाता २०७५ फागुन २८ गते ९:०७

सांकेतिक तस्विर

कृष्ण न्यौपाने

तनहुँको घिरिङ गाउँपालिका ४ साभुङस्थित राजपुर प्राथमिक विद्यालयमा एउटै कोठामा ३ वटा कक्षा सञ्चालन गरिएको छ । विसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त बनाएपछि भवनको अभावमा एउटै कोठामा ३ वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको हो ।

Advertisement

विद्यालयका प्रधानाध्यापक डम्बरसिं थापाले कोठाको अभावमा कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेको बताए । उनका अनुसार कक्षा ४ र ५ का विद्यार्थीलाई समेत अर्को एउटा कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । उनले भने, ‘भूकम्पले भवन क्षतिग्रस्त बनायो, नयाँ भवन बनिरहेको छ । भवन सम्पन्न नभएसम्म वैकल्पिक व्यवस्थाको रुपमा एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिरहेका छाैं ।’

४ वटा मात्र कोठा रहेको उक्त विद्यालयको भवनको एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने अर्को कोठामा बालविकास केन्द्र सञ्चालन भइरहेको छ । बाँकी २ वटा कोठामा बहुकक्षा शिक्षण पद्धतिको प्रयोग गर्दै ३ वटासम्म कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षिका सावित्री विकले जानकारी दिइन् । एउटै कोठामा धेरै कक्षाको विद्यार्थी राखेर पढाउनुपर्दा विद्यार्थीमा शिक्षण सिकाई उपलब्धी नहुने हो की भन्ने चिन्ता लागेको उनले बताइन् । उनले भनिन्, ‘एउटा कक्षालाई पढाइरहँदा अर्काे कक्षाको विद्यार्थीले सोध्छन्, अनि अर्काे कक्षाकोले जवाफ दिन्छन् । हामीलाई पनि पढाउन समस्या भइरहेको छ ।’ उनका अनुसार यस्तो अवस्थामा पाठ्य पुस्तक भन्दा पनि विषय मिल्ने पाठ्यक्रमलाई जोड दिएर पढाउने गरिएको छ ।

Advertisement

३ जना शिक्षक रहेको उक्त विद्यालयमा कक्षा ४ र ५ को लागि १ जना शिक्षकले पढाउँछन् भने कक्षा १, २ र ३ को लागि भने २ जना शिक्षक÷शिक्षिका नै जानुपर्ने बाध्यता रहेको शिक्षिका मनकुमारी श्रेष्ठले बताइन् । कक्षा १ र ३ को पाठ्यक्रममा केही भिन्नता भएको कारण २ जना शिक्षक नै चाहिने उनको भनाई छ । कक्षा ५ मा अध्ययनरत छात्रा मनिषा थापाले एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थीहरु बसेर अध्ययन गर्दा अध्ययन प्रभावकारी नभएको बताइन् । १ जना शिक्षकले २ वटा कक्षाका विद्यार्थीलाई एकैचोटी पढाउँदा पढाएको बुझ्नसमेत समस्या भएको उनको भनाई छ । कक्षा ४ मा अध्ययनरत लक्ष्मी परियारले २ वटा कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउँदा रमाइलो भए पनि पढाईमा उपलब्धी हुन नसकेको बताइन् । विद्यालयमा २१ जना विद्यार्थी अध्ययनरत छन् ।

भूकम्पले विद्यालय भवन क्षति भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को सहयोगमा विद्यालय भवन पुनर्निर्माण भइरहेको इकाई प्रमुख सूर्य क्षेत्रीले जानकारी दिए । २ कोठाको निर्माणाधीन भवनको काम आगामी शैक्षिक सत्रको सुरुआतसम्म सकिने क्षेत्रीले बताए । उनले भने, ‘भवन निर्माण भए पछि एउटै कोठामा धेरै कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने समस्या केही भए पनि हल हुन्छ ।’

तपाईको प्रतिक्रिया