दर्ता, नवीकरण भएनन् प्याराग्लाइडिङ कम्पनी

समाधान संवाददाता २०७५ फागुन २९ गते ८:३६

समाधान संवाददाता

Advertisement

पोखरा महानगरले दर्ता, नवीकरण गर्न प्याराग्लाइडिङ प्रादायक कम्पनीलाई दिएको समयमावधिमा पनि अधिकांश उपस्थित भएका छैनन् । अघिल्लो हप्ता महानगरले महानगरभित्र सञ्चालित सबै प्याराग्लाइडिङ कम्पनीलाई दर्ता नवीकरण गर्न १ हप्ता समय दिएको थियो ।

महानगरले मंगलबारसम्ममा जम्मा १० कम्पनीलेमात्रै दर्ता तथा नवीकरण गरेको बताएको छ । ‘अधिकांशले महानगरमा उपस्थित भएका छैनन,’ महानगर राजश्व विभागका अधिकृत रोमनाथ उपाध्यायले भने, ‘कुनै त सम्पर्कमै आएका छैनन् । कुनै सम्पर्कमै हुनुहुन्छ, तिर्छौं भन्नुभएको छ ।’ अधिकांश कम्पनीले २०७२ सालदेखि महानगरमा स्वीकृतिबिना प्याराग्लाइडिङ उडाइरहेका छन् ।

उापध्यायले समयवधि थप्ने या कारबाही पक्रिया अघि लैजाने भन्नेबारे बुधबारमात्रै महानगरले निर्णय गर्ने बताए । उनले भने, ‘आजै निर्णय हुनुपर्ने हो । तर, मेयरसाब अहिले बाहिर जानुभएको छ । उहाँ आएपछिमात्रै निर्णय हुन्छ ।’ उनले दर्ता बिना चल्ने प्याराग्लाइडिङ कम्पनीलाई भने बन्द गर्ने बताए ।

महानगरले दिएको १ हप्ते समयवधिमा दर्ता तथा नवीकरण गर्न आउने कम्पनीमा मुनाल प्याराग्लाइडिङ, माउन्ट भ्यू प्याराग्लाइडिङ, ब्लु स्काई प्याराग्लाइडिङ, फिनिक्स प्याराग्लाइडिङ एन्ड एड्भेन्चर, हिमालय मिसन टु हिमालय, पिस हिमालय, न्यु प्यारा प्रालि, टिम फाइभ नेपाल, अल्ट्रालाइट प्याराग्लाइडिङ र फ्लाई निर्वाणा प्याराग्लाइडिङ कम्पनी छन् ।

Advertisement

महानगरले प्याराग्लाइडिङ कम्पनीलाई दर्ता, नवीकरण गर्न गत बुधबारसम्म समय दिएको थियो । तर, उनीहरुले पुन एक हप्ताको समय माग गरेपछि महानगरले स्वीकृति दिएको थियो । पोखरा महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटा कम्पनीमात्रै सक्रिय छन् । २ कम्पनीले पहिले नै दर्ता, नवीकरण गरिसकेका थिए ।

प्याराग्लाइडिङ कम्पनीहरुबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार महानगरलाई र प्रदेश सरकारको १ लाख रुपैयाँ पर्यटन शुल्क उठाउन बाँकी छ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनी वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।

महानगरले पहिलेदेखि नै २५ हजार रुपैयाँ उठाउँदै आए पनि ०७५ मा ५० हजार कर तोकेको थियो । ‘त्यसवर्ष हामीले ५० हजार तोक्यौं । पछि प्रदेशले पनि उठाउन थालेपछि फेरि २५ मा झारेका हौं,’ प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले भने । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र ढिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।

तपाईको प्रतिक्रिया