गण्डकी मेडिकल कलेज विवाद: प्रश्न राख्दा कड्किए देउवा

समाधान संवाददाता २०७५ फागुन २९ गते ८:५८

अमृत सुवेदी

चिकित्सा स्वास्थ्य विधेयक र डा. गोविन्द केसीको मागलाई लिएर नेपाली कांग्रेसले देशभर आन्दोलन ग¥यो । पोखराको गण्डकी मेडिकल कलेजका ५ सयभन्दा बढी विद्यार्थी बिना भरपाइ अतिरिक्त शुल्कका नाममा लाखौं रुपैयाँ असुलेको भन्दै डेढ महिनादेखि आन्दोलनमा छन् । डा. केसीले विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सञ्चालक खुमा अर्यालमाथि कारबाहीको मागसमेत गरेका छन् तर प्रतिपक्ष नेपाली कांग्रेस भने मौन छ ।

नेपाली कांग्रेस मौन रहनुका पछाडि मेडिकल सञ्चालक अर्यालको राजनीतिक शक्ति र देउवासँगको सम्बन्धलाई पनि जोडेर हेर्ने गरिएको छ । गण्डकी मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनमा नेपाली कांग्रेसलाई जानकारी नै छैन वा मौन छ ? यसबारे प्रश्न राख्दा कांग्रेस सभापति शेरबहादुर देउवा पोखरामा भएको १ कार्यक्रममा कड्किए ।

Advertisement

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवा विद्यार्थीको समस्या बुझ्छौं, भन्नेतिरभन्दा पनि ‘म किन बोल्ने ?’ भन्दै झोक्किए । कलेजका सञ्चालक खुमा अर्यालसँग कांग्रेस र देउवालाई जोडेर चर्चा हुन थालेको प्रश्नपछि देउवाले भने, ‘के बोल्नु पर्ने मैले ?’

देउवाले आफूलाई थाहै नभएको बताए । जिल्लादेखि केन्द्र तहका नेतासम्मले थपे, ‘उहाँलाई यो कुरा थाहा छैन ।’ देउवाले मेडिकलका विद्यार्थी आन्दोलनप्रति चासो नै नदिएर उल्टो थपे, ‘मैले भनिसकें सुन्नुहुन्न तपाईँले ?’ चिकित्सा विधेयक अनुसार हुनुपर्छ भनिसकें त भन्दै जंगिइरहे, देउवा ।

Advertisement

यहीबीचमा कांग्रेसले गर्ने भनेको आन्दोलनको विषयमा चासो राखे तर देउवाले फेरि पुरानै कुरालाई जोडे । ‘अदालतले कारबाही गर भन्यो, सकियो । एमालेको बोर्ड अफ डाइरेक्टरलाई किन भएन कारबाही ? सबैलाई हुनुपर्‍यो नि,’ देउवाले थपे ।

गण्डकी मेडिकल कलेजको अहिलेको विद्यार्थी आन्दोलनलाई लिएर अदालतले कुनै कारबाही गर्न भनेको छैन । कांग्रेसका जिल्ला तहका नेताले पनि गण्डकी मेडिकल कलेजको विवादका विषयलाई पन्छाउन खाजे ।

देउवाले चिकित्सा विधेयक नै आफूले ल्याएको बताउँदै थाहा पाइपाई पनि कुरा गर्नुहुन्छ भनेर झोक्किएका थिए । तर, देउवाले चिकित्सा विधेयकमा मात्र जोड दिए ।

चिकित्सा विधेयक नै आफूले ल्याएको तर त्यसलाई खत्तम गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको देउवाले बताए । देउवा गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा र विद्यार्थी आन्दोलनको विषय उठ्ने बित्तिकै किन जंगिए ? चासोको विषय बन्यो ।

देउवा र मेडिकल कलेज सञ्चालकबीच सम्बन्ध जोडिनुको पछाडि अर्को कारण पनि छ । युनिभर्सल मेडिकल कलेजका समेत सञ्चालक खुमा अर्यालले प्रधानमन्त्री शेरबहादुर देउवाकैै प्रस्तावमा दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद्को सूचीमा पनि परेका थिए । स्याङ्जाबाट समानुपातिक सूचीमा परेपछि पद किनबेच भएको भन्दै विरोध भयो र खुमा सांसद बन्न पाएका थिएनन् । सञ्चालक अर्यालले पूर्वप्र्रधानमन्त्री देउवाकै संरक्षणमा मेडिकल कलेजको साम्राज्य विस्तार गर्दै लगेको दाबी सम्बन्धित क्षेत्रका व्यक्तिले गरेका छन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा समेत सेयर छ  । बीचमा उनले ओपी पाण्डेको लगानी रहेको जानकी मेडिकल कलेजको सेयर लिनसमेत निकै जोडबल गरेका थिए ।

गण्डकी मेडिकल कलेजको विवादको सम्बन्धनमा देउवालाई जानकारी नभएको पनि हुन सक्छ । तर, देशभर चर्चा भइरहेको विषयमा देशको प्रमुख प्रतिपक्षी दल नै अनभिज्ञ कसरी हुन सक्छ ? सार्वजनिक चासोको विषयमा के कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका नेतालाई जानकारी नै छैन त ? कांग्रेसकै १ नेताले भने, ‘मेडिकल सञ्चालक खुमा अर्याल देउवा निकट मानिन्छन् । हाल कि देउवालाई कलेजको आन्दोलनबारे जानकारी नहुन पनि सक्छ । तर, सार्वजनिक चासोका विषयमा यति अपडेट नै हुँदैनन् भने उनीबाट के अपेक्षा गर्नु ।’

राजनीतिक शक्ति र शेरबहादुरको धापका कारण खुमाले विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप निकटस्थ स्रोत बताउँछ ।
गण्डकी मेडिकल कलेजका विद्यार्थी न्यायका लागि जिल्ला प्रशासनदेखि मेडिकल काउन्सिल, सिंहदरबारसम्म गुहार माग्दै पुगेका थिए । त्यति हुँदा पनि विद्यार्थीको आन्दोलनप्रति सम्बोधन नभएपछि जिल्ला प्रहरी र सम्पत्ति शुद्धीकरणको कार्यालयमा मेडिकल सञ्चालक अर्यालसहित १० जनालाई किटानी जाहेरी दिएका थिए । प्रहरीले पक्राउ पुर्जी जारी गर्दै मेडिकलका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र कलेजका कर्मचारी लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको छ । सञ्चालक अर्यालसहित ८ जना फरार नै छन् । गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्यालले २३ गते निषेधाज्ञा माग्दै उच्च अदालत पोखरामा रिट दर्ता गरेका छन् । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले आइतबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

सरकारले काठमाडौंबाहिर ४२ लाख ४५ हजार र भित्र ३८ लाख ५० हजार शुल्क तोके पनि कलेजले १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको विद्यार्थीको दाबी गर्दै डेढ महिनादेखि आन्दोलन गरिरहेका छन् ।

विद्यार्थीले चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबिबिएस तेस्रो वर्षको परीक्षासमेत नदिएर आन्दोलन जारी राखे । गण्डकी मेडिकल कलेजका सन् २०१५ ब्याचका ८३ र सन् २०१४ ब्याचको पूरक परीक्षामा सहभागी हुनुपर्ने ३ विद्यार्थी गरी ८६ जनाले परीक्षा नै हापेर रिले अनसन जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया