युवा जति विदेशिएपछि वृद्धवृद्धा विकास निर्माणका काममा

समाधान संवाददाता २०७५ फागुन २९ गते ९:०१

राकेश शर्मा

Advertisement

म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका ७५ वर्षीय चन्द्रमणी छन्त्याल उमेरले पाको भए । हिँड्दा पनि लठ्ठीको सहारामा हिँड्नुपर्छ । आँखाले पनि धुम्मिल चित्र देखाउँछ । तर, कामले भने उनी अझै तन्नेरी छन् ।

गाउँको विकास काममा छन्त्याल खटेर लाग्छन् । करिब १ दशकअघि गाउँमा गाडी पुग्यो । तर, गाडी चढेर कतै पुग्नुपरे उनले निकै हैरानीपूर्ण यात्रा गर्नुपर्छ । कारण थियो, जीर्ण अस्तव्यस्त बाटो । अहिले उनी दिनभर कस्सिएर बाटो मर्मत गर्न लागि परेका छन् ।

Advertisement

छन्त्याल एउटा उदाहरणमात्रै हुन् । भम्किलीमा अहिले युवा जति विदेशिएपछि त्यसरी नै वृद्धवृद्धा विकास निर्माणका काममा जोडिएका छन् । सडक मर्मत लगायत विकासका काममा श्रमदान गर्नेमा सेतै कपाल, दाह्री फुलेका ६० देखि ७५ वर्षसम्मका वृद्धवृद्धा लागिपरेका छन् ।

‘उमेरले डाँडो काट्यो । गाउँमा केटाहरु छैनन्,’ उनीहरु भन्छन्, ‘गाउँको विकास हुने कुरामा किन पछि पर्नु ?’ वृद्धवृद्धाहरु अहिले सिमेन्ट, बालुवा, गिटी र रडसँगै खेल्दै श्रमदानमा जुटेको देख्न पाइन्छ । सदरमुकाम नजिक भएपनि जिल्लाकै जोखिम सडकमा पर्नेे बेनी भकिम्ली सडक ढलान गर्न बेनी नगरपालिकाले विनियोजन गरेको रकमले अपुग भएपछि गाउँलेले चासो दिएका हुन् ।

Advertisement

ट्र्याकमात्रै खोलिएको सडकको घुम्तीमा साँघुरो, भिरालो जमिनले गाडी आउजाउमा सकस भएपछि बाटो चख्ल्याउन नगरपालिकाले ३५ लाख विनियोजन गरेको थियो । तर नगरपालिकाको बजेट बाटो मर्मतमा नपुग्ने देखिएपछि स्थानीयले जनश्रमदानबाटै सडक सल्टाउँदैछन् ।

निर्माण सामग्री ढुवानी, सडक ढलान, तारजाली, खाजाको व्यवस्थापनमा निकै व्यस्त देखिन्थिन्, ६९ वर्षीया रमिता छन्त्याल । उनले अन्य युवासँगै गिटी, बालुवा बोकेर ढलानको काममा समेत सहयोग पु¥याइरहेकी छिन् । भन्छिन्, ‘न गर्मी, न दुख वश गाउँसम्म आउने सडक राम्रो भइदिए मन रमाउँथ्यो ।’

छोराछोरी विदेशिएपछि आफैं अग्रसर भएर श्रमदानमा आएका ७१ वर्षीय डिल्लीराम थापाले आफूमात्रै नभएर अधिकांश गाउँका घरमा युवा छोराछोरी नभएको दुखेसो पोखे । ‘यहाँ हामी बुढाबुढीमात्रै छौं । बुहारीहरु पनि छोरोसँगै कि त विदेश नभए बजार झर्छन्,’ उनले भने, ‘के गर्नु त यस्तै छ ।’

गाउँको विकासमा काम गर्नु रहर नभई बाध्यता भएको बेनी ३ का वडाध्यक्ष पदम पुन बताउँछन् । ‘सरकारी बजेटले पुग्दैन्, घरघरबाटै वृद्धवृद्धा आएर काम गर्नुहुन्छ । उहाँहरुको सक्रियताले नै विकास निर्माणमा ठूलो सहयोग पुगेको छ । यहाँको सबै काम गर्न बजेट पुग्दैन । बजेट नपुगेपछि स्थानीयको सहयोग अनिवार्य हुन्छ,’ उनले भने्, ‘श्रमदान गर्न युवा जति सबै विदेशमा छन् । गाउँमा महिला र वृद्धवृद्धामात्रै छन् । बाध्यताले नै उहाँहरुलाई काममा लगाउनु परेको छ ।’

चालु आर्थिक वर्षमा हल्लेगौडादेखि मुसुङसम्म आवश्यक स्थानमा मर्मत तथा जोखिमपूर्ण घुम्तीमा ढलान गर्न लागिएको छ । उक्त कार्यमा करिब ६ सय जना स्थानीयले श्रमदानमार्फत सहयोग गरिरहेका छन् । जोखिम सडकका कारण दुर्घटना बढ्न थालेपछि सडक स्तरोन्नति गर्न लागेको वडा सदस्य रत्न जिसीले बताए ।

‘जनश्रमदानमा स्थानीयको सक्रियता धेरै छ । सडक केहीदिनमै प्रयोग गर्न मिल्छ,’ जिसीले भने, ‘सडक फराकिलो बनाउने, घुम्ती सुधार, ग्रेड मिलाउने, ढलान गर्ने, ढुंगा संकलनमा मजदुर र जनश्रमदान परिचालन गरिएको छ ।’ उक्त सडकखण्डमा करिब ९० मिटर बाटो ढलान कार्य भइरहेको छ ।

सडक सञ्जालले जोडिएका गाउँबाट प्रति दिन पालैपालो प्रति घरदूरी बराबर १ जनाका दरले श्रमदानमा जुटेका छन् । उक्त सडकको ट्र्याक २०६६ मा खोलिएको थियो । उक्त सडक निर्माणले स्थानीयलाई आउजाउमा मात्रै सहज भएको छैन, त्यही बाटो भएर स्वर्गाआश्रम, बेलढुंगा र छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जाका बासिन्दालाई पनि सहयोग पुगेको छ ।

तपाईको प्रतिक्रिया