सुखी नेपाली समृद्ध नेपालका लागि सहकार्य आवश्यक

समाधान संवाददाता २०७५ फागुन २९ गते ९:१३

कृष्ण न्यौपाने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ३ वटै तहका सरकारको सहकार्यले मात्रै सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान सफल हुने बताएका छन् । मुख्यमन्त्री गुरुङले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेको उल्लेख गर्दै त्यसतर्फ अघि बढ्न लागि सबै तहका सरकारबीच हातेमालो हुन आवश्यक रहेको बताए ।

एक्लाएक्लै हिँडेर लक्ष्य प्राप्ति हुन नसक्ने भन्दै मुख्यमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहले गर्ने काममा सहकार्य र सहमतिको आवश्यकता औंल्याए ।

Advertisement

उनले भने, ‘सबैको लक्ष्य नेपाललाई समृद्ध बनाउनु हो । ३ तहका सरकार आआफ्नै ढंगले अगाडि बढे लक्ष्य प्राप्तिमा पुग्न सकिँदैन ।’

प्रधानमन्त्री केपी ओलीले अघि बढाएको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न सबै सरकार एकजुट भएर लाग्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए । उनले भने, ७ प्रदेश र ७ सय ५३ स्थानीय तहका सरकारसँग सहकार्य भएमात्रै प्रधानमन्त्रीको लक्ष्य र योजना पूरा हुन्छ ।’

Advertisement

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशलाई समृद्ध र अब्बल प्रदेश बनाउने सरकारको मुख्य प्राथमिकता रहेको भन्दै पर्यटनबाट त्यो सम्भव रहेको बताए । उनले प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा घोषणा गरिसकेकाले त्यसलाई सफल बनाउनु सबै स्थानीय सरकारको समेत कर्तव्य भएको बताए । उनले गरिबी निवारण र रोजगारी सिर्जनामार्फत् प्रदेशलाई समृद्ध प्रदेश बनाउने सरकारको लक्ष्य रहेको धारणा राखे ।

मुख्यमन्त्री गुरुङले गरिबीमुक्त प्रदेश बनाउने सरकारको योजना सुनाउँदै त्यसका लागि आवश्यक योजना निर्माणमा सरकार जुटेको बताए । उनले भने, ‘गरिब नभएको प्रदेश बनाउने हाम्रो लक्ष्य हो, त्यसका लागि आवश्यक योजना निर्माणमा जुटिरहेका छाैं ।’ उनले पर्यटन विकासका लागि पूर्वाधार पहिलो प्राथमिकता रहेकोले निजी क्षेत्रले यसमा सहयोग गर्नुपर्ने बताए । निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन सरकारले आवश्यक कानुन निर्माण गर्ने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता जनाए ।

उनले स्थानीय तह बलियो भएमात्र संघीयता बलियो हुने भएकोले स्थानीय तहलाई अधिकार दिनका लागि आफू सधैं क्रियाशील भइरहेको बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन विकासका लागि निजी क्षेत्रले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताए । निजी क्षेत्रलाई आकर्षित गर्न प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत उनको भनाइ थियो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनी प्रदेशको प्रवेशद्वार भएकाले यस क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । संघ र प्रदेश सरकारले बजेट विनियोजन गर्दा आँबुखैरेनीलाई उपेक्षा गरेको महसुस भएको उनले बताए ।

तपाईको प्रतिक्रिया