फुटबल विकासको रफ्तारमा छोडिएका रेफ्री

समाधान संवाददाता २०७५ फागुन ३० गते ८:१६

सुरज श्रेष्ठ

विसं १९२१ मा राष्ट्रिय खेलको मान्यता पाएको नेपालको फुटबलको इतिहासमा सधैंजसो पोखरेली खेलाडीको सम्मानजनक सहभागिता पाइन्छ । तर त्यही तुलनामा रेफ्रीको उपस्थिति भने शून्यप्राय छ । पोखरामा हुने ठूला फुटबल प्रतियोगितामा अन्य स्थानको रेफ्रीको भर पर्नपर्ने बाध्यता आम पोखरेलीको छ । पोखरामा खेलमार्फत पर्यटक भित्राउन सक्ने प्रशस्तै संभावना छन् । हिमालको नजिक व्यवस्थित सहर पोखरा संसार कै नमुना सहर हो ।

विश्वमा धेरैले मन पराएको फुटबल खेल पोखरेलीको पनि मन पस्नद खेल हो । यहाँ चल्ने साना राशीको स्थानीय फुटबल प्रतियोगिताबाट यहाँका स्थानीय फुटबल रेफ्रीले राम्रै आम्दानी गरेका छन् । तर उनीहरुको स्तर भने बढ्न सकेन । गर्वे गुरुङ, रञ्जित गुरुङ, प्रेमबहादुर श्रेष्ठ, सुदर्शन रञ्जित लगायत पोखराका पुराना रेफ्री हुन् । उनीहरु पछि राम नेपाली, विश्व तण्डुकार लगायत रेफ्रीको भूमिकामा देखिए ।

Advertisement

पोखरामा फुटबल खेलको इतिहास लगभग नेपालकै फुटबल इतिहास जति नै छ । यो खेलकुदको उर्वर भूमि हो । यहाँ खेलकुदका धेरै पूर्वधारको विकास गर्न सकिन्छ । पोखराको फुटबल विकासमा यहाँका संघसंस्थाले खासै महत्व दिएको पाइंदैन । साच्चै भन्ने हो भने पोखरामा फुटबल व्यावसायिक हुन सकेकै छैन् । यहाँ अहिले हँुदै आएका प्रतियोगिता फुटबल विकासका गर्ने उद्देश्य कम र अन्यमा बढी फोकस भएको छ । समग्र फुटबल खेल नै व्यावसायिक तवरले गर्न नसकेको पोखराले व्यावसायिक रेफ्री उत्पादन गर्ने कुरै भएन । यहाँको फुटबल विकास गर्ने हो भने व्यावसायिक रेफ्री उत्पादनमा पनि जोड दिनै पर्छ ।

यहाँका रेफ्रीहरुमा रिटयर्ड भइसकेका बुद्धिबहादुर गुरुङले मात्र फिफाको मान्यता पाए । उनले पोखरामा खासै खेल खेलाएन्न । उनी केन्द्र तिरै भासिए । उनी भासिए पनि उनलाई पोखरामै राख्न कुनै फुटबल संघसंस्थाले पहल गरेनन् ।

Advertisement

हुन त ०५० सालमा पोखराका अग्रज रेफ्री राम नेपालीको नेतृत्वमा विश्व ताण्डुकार उपाध्यक्ष, नरबहादुर गुरुङ, गोपाल थापा, पुष्प पाठक, सीता गुरुङ सदस्य रहनेगरी रेफ्री संघ बनेको थियो । पहिलो कार्यसमितिले जेनतेन १ कार्यकाल सक्यो । त्यसपछि भने उठ्नै नस्कने गरी कोमामा गयो रेफ्री संघ । त्यो केही महिना अघिसम्म ब्युतिन सकेको थिएन ।

कुनै पनि पेसा वा व्यवसाय सु–संगठित र मर्यादित बनाउन संघको आवश्यकता पर्छ । संघमार्फत चलेकालाई संस्थागत मान्यता पनि प्रदान गरिन्छ । पोखराका रेफ्रीको कुरा गर्ने हो भने उनीहरु संस्थागत देखिँदैनन् । व्यवस्थित र संगठित नभएकै कारणले होला, यहाँका रेफ्रीबीच आपसी तालमेल छैन । त्यसो त रेफ्री आफंैमा ठूलो समूह हुँदैन । कहिले गुट, कहिले फुटको स्थितिमा यहाँका रेफ्री चलेका छन् ।

फुटबलको नीति–नियम निर्माण गर्ने आधिकारीक अन्तर्राष्ट्रिय संस्थाले फुटबलका नियम हेरफेर गर्छन् । त्यही अनुसारको रेफसेन्स तालिमको आवश्यकता हुुन्छ । यदि त्यस्ता तालिम गरेर परीक्षामा पास भएन भने उनीहरुको प्रमाणपत्र नै अवैध हुन्छ । यहाँका रेफ्रीमा त्यो नियम लागु हुने हो भने भएका थोरै रेफ्री पनि अवैध हुन्छन् । पोखरामा अहिले मुस्किलले आधा दर्जन रेफ्रीमात्र सक्रिय छन् । हातको औलामा गन्न सकिने यहाँका रेफ्रीले यहाँ हुने फुटबल प्रतियोगितालाई थेग्न सक्दैन ।
पोखरामा ०६३÷६४ मा एन्फाले राष्ट्रिय रेफ्री कोर्ष तालिमको आयोजना गर्‍यो । त्यसपछि भने आजसम्म न त उनीहरुलाई रेफरेन्स तालिम दिएको छ न त नयाँ रेफ्री उत्पादनमा तदारुकता देखाएको छ ।

पोखरेली दर्शकले फुटबललाई जस्तोसुकै अप्ठयारो परिस्थितिमा पनि साथ दिइरहेका छन् । अब भने रंगशालामा बसेर फुटबल हेर्न पाउने आशा जागेको छ । यो सँगै पोखरामा फुटबलको स्तर बढ्ने अनुमान धेरै फुटबलपे्रमीले गरेका छन् । यहाँ फुटबल विकास गर्ने हो भने स्तरीय रेफ्री उत्पादनमा ध्यान दिन जरुरी छ । रेफ्री हुन सोचे जस्तो सहज छैन । खेलमा हार–जीत अवश्य हुन्छ । जित्नेको नजरमा राम्रो भए पनि हार्नेको नजरमा रेफ्रीको पेसा कहीं न कहीं असुरक्षित मानिन्छ । अब साच्चै पोखराको फुटबल विकास गर्ने हो भने रेफ्रीको उत्पादन र गुणस्तरीयतामा ध्यान दिनु आवश्यक छ ।

पछिल्लो समय युरोपका केही लिगमा महिला रेफ्रीको सहभागिता धेरै देखिन्छ । तर नेपालमा पुरुष रेफ्री कै कमी छ । झन् महिला रेफ्रीको उपस्थिति त कल्पना गर्ने कुरै भएन । पोखराका सीता गुरुङ ५० साल तिरै महिला रेफ्रीको भूमिकामा आफूलाई स्थापित गर्न खोजेकी थिइन् तर उनी सही वातावरण नपाएकै कारणले सक्रिय हुन सकिनन् । व्यवस्थित र संगठित नभएकै कारणले थोरै संख्यामा भएका रेफ्रीबीचको मनमुटावले गर्दा पोखराले स्तरीय रेफ्री पाउन सकेन ।

यहाँका अग्रज रेफ्रीद्वय राम नेपाली र विश्व ताण्डुकार रेफ्रीको अवस्था र अवसरको बारेमा भावुक भएर भन्दै हुनुहुन्थ्यो, केही नभए पनि सञ्चार माध्यमबाट राम्रो कार्य गरेको छ भनेर चिनिन पाए पनि सन्तुष्टि त मिल्थ्यो । पहिलो पटक मिडियाले हामीलाई सम्झयो । हाम्रो पालामा रेफ्री पेसा गरेर आफ्नो सोख पूरा गर्नु र सन्तुष्ट हुन बाहेक केही थिएन । रेफ्री पेसा अपजसी पेसा हो ।

०२८ सालदेखि नै फुटबलमा लागेका राम नेपालीले भने पहिला रहरले यता लागेको बताए । तरपछि नसा जस्तै भयो पेसा, चाहेर पनि छाड्न सकेनन् । त्यस्तै ०४४ सालबाट रेफ्री पेसा अंगालेका अर्का रेफ्री विश्व ताण्डुकारले पैसा कमाउन कै लागि यो पेसा अंगालेका भने होइनन् । ताण्डुकारका अनुसार रेफ्री पेसा व्यावसायिक हुन जरुरी छ । खेलकुदमा जबसम्म राजनीति हट्दैन तबसम्म राम्रा परिणामको अपेक्षा गर्नु वेकार हुन्छ । राजनीतिक हस्तक्षेप कै कारण नेपालमा खेलकुदको विकास हुन नसकेकोमा फुटबल विज्ञहरु चिन्तित छन् । नयाँ पिँडीका युवा रेफ्रीको अहमता कै कारण रेफ्रीको विकास हुन नसकेको उहाँहरुको गुनासो छ ।
अहिले सक्रिय रहेका रेफ्रीमा सुशील केसी, सन्तोष गुरुङ, सौरव गुरुङ, दिप्रेन्द्र तामाङ, भक्त गुरुङ छन् । कविरमान गुरुङ, अरुण केसी, नारायण केसी लागायतका नयाँ पुस्ता पनि रेफ्री पेसा अंगाल्ने लयमा देखिन्छन् ।

केही समय अघिसम्म समाजमा खेलकुदले मानिसलाई बिगार्छ भन्ने हुईया थियो । आजकल अभिभावकले नै खेलकुदमा लाग्न प्रोत्सान गरेको पाइन्छ । तर अझै पनि कति अभिभावक खेलकुदमा हुने गरेको राजनीति र राज्यले उचित सम्मान नदिएका कारण खेलकुदलाई अन्योलमा देख्छन् ।

यहाँ ४ सय रोपनीमा फैलिएको रंगशाला भए पनि विडम्बना के छ भने हामीले न त राम्रो खेलाडी उत्पादन गर्न सफल भयो न त रेफ्री नै । बाहिरको रेफ्रीको भरपर्दा पोखरामा आयोजना हुने ठूला प्रतियोगिता रोकिएको इतिहास हामी माझ ताजै छन् । त्यसैले स्थानीय स्तरमा नै रेफ्रीको उत्पादन गर्ने हो भने त्यस्ता समस्या जुझिरहनुपर्ने थिएन ।

सन् १९५१ मा एन्फाको स्थापना भए सँगै नेपाली राष्ट्रिय फुटबल टीमको जन्म भयोे । नेपालले ०७० सालमा नै फिफाको सदस्यता लिएको थियो । फिफाको सदस्यता लिएको २ वर्षमा नै एएफसीको सदस्यता प्राप्त गर्‍यो । यति लामो इतिहास बोकेको नेपाली फुटबलमा राजनीतिकरण नहुने र अगुवाको इच्छाशक्ति हुने हो भने नेपालमै स्तरीय खेलाडी र अफिसियल खेलाडी उत्पादन गर्न सकिन्थ्यो । मेसी र रोनाल्डो कै कारण आज अर्जेन्टिना र पोर्चुगलमा टेक्न मरिहत्ते गर्नेहरुको कमी छैन् । के अब पोखराले पनि भावी दिनहरुमा देश कै नाम उच्च राख्ने खेलाडी उत्पादन गर्न सक्छ त ?
जय फुटबल

तपाईको प्रतिक्रिया