प्रतिनिधिसभा सदस्यविहीन, वर्षा नलाग्दै उपचुनाव

समाधान संवाददाता २०७५ चैत २ गते ८:४५

समाधान संवाददाता

फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ प्रतिनिधिसभा सदस्यविहीन भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरेर देशभरि ९ सय ४३ पद खाली छन् ।

जननिर्वाचित रिक्त पद पूर्ति गर्ने एकमात्र उपाय भनेको उपनिर्वाचन हो । ५ महिना कार्यकाल बाँकी हुँदै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । स्थानीय तहमा भने १ वर्षभन्दा कम अवधि बाँकी छ भने उपनिर्वाचन हुँदैन ।

Advertisement

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ सरकारले रिक्त रहेको पद र निर्वाचनको मिति दिए आयोगले तत्कालै निर्वाचन गराउन सक्ने बताउँछन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले आगामी मनसुन सुरु हुनुअघि नै उपनिर्वाचन गर्न सुझाव दिएका छन् । आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती आगामी वर्षायाम सुरु हुनुअघि नै निर्वाचन गर्न सुझाव दिन्छन् । उनी भन्छन्, ‘मनसुन अगावै उपनिर्वाचन गर्नुपर्छ र यो सम्भव पनि देख्छु ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रतिनिधिसभामा १, प्रदेशसभामा ३ र स्थानीय तहमा ९ सय ३९ पद रिक्त छन् । सबै गरी ९ सय ४३ स्थानमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । सबैभन्दा बढी अर्थात ६ सय ९३ स्थान जिल्ला समन्वय समिति (जिसस) गठन भएपछि रिक्त भएका हुन् । जिसस गठन भएसँगै हरेक जिल्लामा ९ स्थान जनप्रतिनिधिविहीन भएका छन् । धेरै स्थानीय तहमा राजीनामा, मृत्यु लगायतका कारणले पद रिक्त भएका हुन् ।

Advertisement

प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओली कार दुर्घटनामा परेका थिए । दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित ओलीको उपचारका क्रममा निधन भएको हो । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको गत मंसिरमा नयाँ दिल्लीमा निधन भएको थियो । घर्ती बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित हुन् ।

भक्तपुर १ ‘ख’ बाट निर्वाचित सांसद हरिहरण लामिछानेको निधनपछि ३ नम्बर प्रदेशसभामा पनि १ स्थान रिक्त छ । ५१ वर्षीय सांसद लामिछानेको मस्तिष्कघातका कारण निधन भएको हो । १ मेयर र २ गाउँपालिका अध्यक्षको निधन भइसकेको छ । धरान उपमहानगर पालिकाका मेयर तारा सुब्बाको गत साउनमा निमोनियाबाट निधन भएको हो । भाषण गर्दागर्दै बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको होस त्यसपछि खुलेन । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको सडक दुर्घटनामा परेर निधन भयो ।

तपाईको प्रतिक्रिया