राजनीतिक एजेन्डाका लागि बम किन: मुख्यमन्त्री

मोहसिन अलि मियाँ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक एजेन्डाका लागि हतियार उठाउन जरुरी नरहेको बताएका छन् । गोरखामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले विप्लव समूहलाई संकेत गर्दै हतियारको राजनीति त्याग्न आग्रह गरे । ‘पार्टीहरुले राजनैतिक अधिकारका लागि लडाईं गर्न पाउनु स्वभाविक हो, तर लडाईं केका लागि गर्ने, किन युद्ध गर्ने, किन आन्दोलन गर्ने ?’, प्रतिप्रश्न गर्दै उनले भने, ‘नेपालले सबै उपलब्धि प्राप्त गरिसकेको छ, अब पनि परिवर्तनका लागि भन्दै आन्दोलन गर्नु असान्दर्भिक हुन्छ ।’
देशले गणतन्त्रदेखि सारा उपलब्धि पाइसकेको दाबी गर्दै मुख्यमन्त्री गुरुङले राज्यको मुलधारबाट बाहिरिएर बस्न खोज्ने जुनसुकै समूहलाई पनि सरकारले मुलधारमा ल्याउन प्रयत्न गर्नुपर्ने बताए । ‘राज्यले गणतन्त्र खोजेको थियो, त्यो पनि आइसक्यो, संघीता पाइसक्यौ, धर्म निरपेक्षता आइसक्यो, समावेशी लोकतन्त्र खोजेको त्यो पनि आयसक्यो’, उनले भने, ‘नेपालमा यस बाहेक अरु ल्याउनुपर्ने राजनीतिक एजेन्डा नै छैनन्, ल्याउन जरुरी पनि छैन भने किन लडाईं झगडा गर्ने, त्यसको के औचत्य ?’
सरकारले वार्तामा बोलाउदासमेत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चासो नदेखाएको भन्दै उनले जनता धम्क्याउने, चन्दा असुली गर्ने, उच्च नेतासम्मको ज्यान मार्ने लिस्ट बनाउने विरुद्ध सरकारले कडा कदम चाल्ने बताए । उनीहरुका अपराधिक गतिविधिलाई राज्यले कानमा तेल हालेर नबस्ने चेतावनी दिदै मुख्यमन्त्री गुरुङले त्यस्ता अवाञ्छित गतिविधिलाई पूर्ण प्रतिवन्ध लगाइने प्रष्ट पारे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङ पार्टीको जिल्ला संयन्त्र बैठकका लागि गोरखा आएका हुन् । फागुन २४ गते बसेको पार्टी बैठकको निर्णय अनुसार ११ वटै जिल्लाको संयन्त्र बैठक बस्ने निर्णय भए अनुसार पहिलो बैठक गोरखामा आयोजना गरिएको गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले बताए । पार्टीको तल्लो तहसम्मको संगठन एकीकरणको गृहकार्यसमेत सुरु भएको उनले बताए । ‘सबै जिल्लाको संयन्त्र बैठक बोलाउने, पार्टी एकता, संगठन बिस्तार र व्यवस्थापनका कुरालाई अघि बढाउने भनेर हामी अघिल्लो महिना नै निर्णय गरेका थियौं,’ पाण्डेले भने, ‘अब जिल्लादेखि स्थानीय तह र गाउँ गाउँसम्मको कमिटी बनाउने चरणमा हामी प्रवेश गरेका छौं ।’
गोरखा जिल्लामा भएको संयन्त्र बैठकले गापा, नपामा कमिटी निर्माणका लागि सिफारिस गर्न आगामी ४ गते पुन संयन्त्र बैठक बोलाउने निर्णय गरेको छ । आगामी १४ गते नेकपाबाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एकै ठाउँमा राखी प्रशिक्षणमूलक कार्यक्रम गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकले अब केही दिनमा आन्तरिक संगठन विस्तार, लेबी व्यवस्थापन, सदस्यता वितरण तथा व्यवस्थापन, बैंक खाता, दुवै पार्टीसँग रहेको सम्पत्ति संकलन एवं व्यवस्थापन अभियान सुरु गर्ने निर्णयसमेत गरेको प्रदेश अध्यक्ष पाण्डेले बताए । संयन्त्रको बैठकले हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेता रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको शोक प्रस्ताव समेत पारित गरेको छ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया