नेपाली थांका, नेपालमै ‘बेवास्ता’

समाधान संवाददाता २०७५ चैत २ गते ९:४८

विकास रोकामगर

विकिपिडिया लेख्छ- ‘थांका १ प्रकारको चित्र लेखन भए पनि सामान्य चित्र लेखनभन्दा फरक छ । बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट कला हो । विश्वमा जति पनि थांका बिक्री वितरण हुन्छन्, त्यसमध्ये ९५ प्रतिशत नेपाली हुन्छ ।’

नेपाली थांका विश्व बजारमा लोकप्रिय छ । तर, नेपालीले भने यसलाई खालि बेच्नमात्रै बनाइने गरेको थांकासँग सम्बन्धित कलाकार बताउँछन् । नेपाली बजारमा राखिएका थांका चित्रकला नेपालीको भन्दा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दै आएको छ । उनीहरुलाई लाग्छ, ‘थांका तिब्बत हुँदै नेपाल भित्रिएको हो ।’

Advertisement

तर, थांकासँग सम्बन्धित चित्रकार भने यो नेपाली मौलिक चित्रकला भएको ठोकुवा गर्छन् । उनीहरु थांका परम्परागत र मौलिक नेपाली कला शैली भए पनि तिब्बतबाट आएको भनेर ‘दुष्प्रचार’ गरिएको गुनासो गर्छन् । भन्छन्, ‘थांका नेपालीबाट भृकुटी तिब्बत जाने बेला उनीसँगै त्यहाँ गएको हो । तर अहिले उतैबाट यो कला आएको भनिँदैछ । यो गलत हो ।’

आफ्नै मौलिक परम्परागत थांका कलालाई चिन्न नेपालीले नै चिन्न नसक्नु दुखद भएको बताउँछन्, ललित कला प्रज्ञा प्रतिष्ठानका परम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङ । ‘नेपालमा अहिले व्यापारिक हिसाबले मात्रै थांकालाई लिइयो । पर्यटकलाई बेच्नमात्रै यो चित्र कोरिन्छ,’ उनी भन्छन्, ‘यसरी पर्यटक नआए भने थांकाको इतिहास सकिने डर भयो ।’

Advertisement

गुरुङ नेपाली चित्रकलाको सुरुआत नै परम्परागत थांका कला शैलीबाट सुरु भएको दाबी गर्छन् । भन्छन्, ‘यो कला त विशुद्ध नेपाली नै हो । पछि तिब्बतबाट थांका नाम पाएर आएको हो ।’ उनी सबै कलाकार आधुनिक कलाको पछि दौडिँदा परम्परागत कला शैली छाँयामा पर्दै गएको बताउँछन् । ‘थांकामा शास्त्रीय कलाशैली प्रयोग भएको हुन्छ । हामीले हाम्रो परम्परालाई बिर्सनु पनि हुँदैन,’ गुरुङ भन्छन्, ‘आधुनिक कला र परम्परागत कला शैलीलाई बराबर ट्र्याकमा लैजान सकियो भने राम्रो हुन्छ ।’ उनी दुवै कला शैलीलाई संस्थागत शैलीमै बराबर डोर्‍याउनुपर्छ भन्ने मत राख्छन् ।

वरिष्ठ कार्टुनिस्ट तथा सिर्जनशील कलाकार समूहका संयोजक दुर्गा बराल आधुनिक चित्रकला कै ‘बोलबाल’ भएकाले परम्परागत कला शैलीमा ध्यान दिन नसकिएको स्वीकार्छन् । भन्छन्, ‘चित्रकला सिक्दै गर्दा परम्परागत चित्रकलाको महत्व थाहा पाउन सकिएन । त्यसैले आधुनिकतिर नै अग्रसर हुने अवस्था आयो ।’

कलाकार बराल थांका चित्रकला ध्यानस्थ तरिकाले मात्रै बनाउन सकिने तर्क राख्छन् । ‘शरीरमा सरस्वती चढेपछि मात्रै थांका चित्रकला बनाउन सकिन्छ । यो चित्र ध्यानले कोरिन्छ । ध्यान भंग भयो भने थांका चित्र पूरा हुँदैन,’ बराल सुनाउँछन्, ‘यो १ उच्च पवित्र चित्रकला हो ।’

सुरुआती समयमा नेपालको व्यापारिक सम्बन्ध चीन र भारतसँग जोडिएकाले नेपाली चित्रमा दुवै देशका प्रभाव परेको कलाकार बराल बताउँछन् । भन्छन्, ‘हाम्रो परम्परागत कलाशैलीमा तिब्बती र भारतीय लोककला दुवै फ्युजन भएर नयाँ कला शैली निस्किएको छ । उनी हाल नेपाली कला क्षेत्रमा पश्चिमेली शैली हाबी भएको दुखेसो पोख्छन् ।

‘जंगबहादुरको पालादेखि पश्चिमा कला नेपालमा भित्रिएको थियो । अहिले हाबी छ,’ बराल पछिल्लो पुस्ताका कलाकारलाई सम्झाउँछन्, ‘अब हामी परम्परागत कलाशैलीलाई पनि ध्यान दिनु जरुरी छ । त्यसलाई छाड्यौं भने हाम्रो मौलिकता हराउँछ ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागका निवर्तमान प्रमुख रमेश श्रेष्ठ नेपाली बजारमा थांका चित्रकलाको राम्रो बजार भए पनि प्रशिक्षणका कार्यक्रम हुन नसकेको सुनाउँछन् । भन्छन्, ‘परम्परागत चित्रकला प्रशिक्षणका कार्यक्रम भएनन् । यसले आधुनिक कलाले परम्परागत कलाशैलीलाई टाढा पुर्‍यायो ।’

परम्परागत चित्रकलालाई विकास गर्न कलाकार स्वयं एउटै विधामा मात्र लागिरहन आवश्यक नभएको श्रेष्ठको ठम्याइँ छ । उनी भन्छन्, ‘एउटै कलाकार कार्टुन, पानी रङ या आधुनिक कलामै सीमित हुनुपर्छ भन्ने छैन । उनीहरुले परम्परागत चित्रकलालाई पनि सँगसँगै लैजान सक्छन् ।’ उनी नेपाली परम्परागत चित्रकलाले नै नेपाली अनुहार विदेशी भूमिमा चिनाउने तर्क राख्छन् ।

थांका चित्रकला नेपालसहित चीन, जापान, कोरियालगायत देशमा परिचित छ । थांका चित्रकलाका वरिष्ठ कलाकार छेवाङ दोर्जे लामा थांका नामले चिनिए पनि थांकु भएको बताउँछन् । उनका अनुसार थाङको अर्थ सरसामान र कुको अर्थ भगवानको शरीर भन्ने हुन्छ । उनी थांकालाई नेपालमा पौभा नामले पनि चिनिने बताउँछन् । ‘पौभा नेवारी शब्दमा हो । तिब्बती र नेपाली परम्परागत शैली मिलेर नै पौभा बनेको छ,’ उनी भन्छन् ।

थांका÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला हुँदै
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा शुक्रबारदेखि कास्कीको धम्पुसमा ३ दिने प्रशिक्षण कार्यशाला सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले गरे । मेयर जिसीले परम्परागत कलाशैली जगेर्नाका साथै प्रवद्र्धन गर्न महानगर सधैं समन्वय गर्न तयार रहेको उद्घोष गरे । उनले भने, ‘महानगरमा प्रत्येक दिन विदेशी पाहुना आउँछन् । ती पाहुनालाई हामी बाहिरी सामान खरिद गरेर उपहार दिइरहेका छौं । अब आफ्नै कलाकृति उपहार दिने योजना बनाएका छौं ।’

चित्रमा पोखरेली मौलिकपन उतार्न सके पोखरालाई अझै पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सकिने मेयर जिसीको भनाइ थियो । ‘महानगरले चाँडै ग्यालरी बनाउन लागेको छ । त्यसमा पनि परम्परागत चित्रकलालाई विशेष महत्व दिइनेछ,’ उनले भने । परम्परागत चित्रकला लोप हुँदै गएको अवस्थामा थांका÷पौभासम्बन्धी विभागबाट पहिलोपटक प्रशिक्षण गर्न लागिएको विभागका प्रमुख बुद्धिबहादुर गुरुङले जानकारी दिए । ‘आधुनिक कलासम्बन्धी थुप्रै तालिम सञ्चालन हुन्छन् । तर मौलिकपनलाई ध्यान दिएर यसपटक परम्परागत शिल्पकलाबारे तालिम दिन लागेका छौं,’ गुरुङले भने ।

गुरुङले पछिल्लो पुस्ताका कलाकारलाई परम्परागत चित्रकलाको महत्व बुझाउन पनि कार्यशालाले भूमिका खेल्ने दाबी गरे । कार्यशालामा कलाकार पदमबहादुर लामा, छेवाङ दोर्जे लामा र इन्द्रसागर तामाङ (शुक्र लामा) ले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा १२ जना प्रशिक्षार्थी छन् । उनीहरुले धम्पुस पुगेर थांका-पौभा चित्रकला सिक्नुका साथै त्यसबारे जानकारी लिने बुद्धिबहादुर गुरुङले बताए ।

तपाईको प्रतिक्रिया