पशुपति, मलाई माफ गर !

समाधान संवाददाता २०७५ चैत २ गते ९:५९

किशोरदत्त बराल

कुनै राजनीतिक पार्टीको कार्यकर्ता । यसो हुन सकेकोमा म आफैसँग धेरै गर्व पनि गर्दथें । तर जीवनको लामो समयदेखि कुनै राजनीतिक पार्टीको कार्यकर्ता भएकोमा गर्व गर्दै आएको मेरो राजनीतिक र सामाजिक स्वाभिमान त्यति बेला गल्र्यामगुर्लुम्म ढलेको अनुभूति भयो, जब मैले पशुपति शर्माको लुट्न सके लुट कान्छा, लुट्न सके लुट भन्ने गीत सुनें । यो गीतले साच्चिकै मलाई धेरै गम्भीर बनायो । गीतको एउटा अन्तरा ठूलै नेता भ्रष्टाचारी न डराउँछन्, लुक्छन्, कार्यकर्ता केही बोल्दैनन् कुकुर जस्तै भुक्छन् ले त मलाई सियोले जस्तै घोच्यो । रक्ताम्म बनायो । उनले मलाई कुकुर बनाए । म लज्जित भएँ । म जस्तै कतिपय कार्यकर्ताले त उनलाई कुकुर भनेकोमा गाली गरे, ज्यान मार्ने सम्मको धम्की दिए ।

कतिपयले त आफूलाई कुकुर भनेको कुरालाई स्वीकार गर्दै सहरका चोक चोकमा नाच गान गरेर उत्सव मनाए । म साच्चिकै कति कमजोर भएँ कुन्नि न त गाली गर्न सकें, न त उत्सव मनाउन । आफूलाई कुकुर भनेकोमा स्वीकार गर्न कठिन भएका कारण गाली गर्नेहरु र कुकुरको पदवीलाई स्वीकार गरेर उत्सव मनाउनेहरुमा कसले जित्यो यसको समीक्षा भोलि समयले नै गर्ला । यो लेख अरु कसैलाई हराउने वा जिताउने विषयसँग कुनै पनि कारणले सरोकार राख्दैन । यसमा त मैले पशुपति शर्माले मलाई कुकुर किन भने यसको कारण खोजिरहेको छु । पशुपतिले मलाई कुकुर भन्ने हिम्मत किन गरे ? उनले म जस्तो कार्यकर्तालाई कुकुर भन्ने दुस्साहस कहाँबाट बटुले ? के म साच्चिकै नेताहरुले जे गरे पनि नेताहरुको तलुवा चाट्ने कुकुर नै हुँ त ? के म आफ्नो पार्टीका नेताहरुले जति भ्रष्टाचार गरे पनि या जस्तो सुकै अपराध गरे पनि केही बोल्दिन ? के म विवेक शून्य भई सकें ?

Advertisement

मलाई यस्तो पशुपतिले मात्रै भनेका हुन् कि आम जनताले पनि भनिरहेका छन् ? अझै महत्वपूर्ण कुरा मेरो विवेक वा दिलले के भनिरहेको छ ? यी प्रश्नको उत्तर खोज्न मन लाग्यो । मलाई कसैले कुकुर भन्न नपाउँदै मैले मानिस हुनुको प्रमाण दिन सकेको भए कति राम्रो हुने थियो । मैले त्यसो गर्न सकिनँ । त्यसैले मलाई पशुपति शर्माप्रति घृणा होइन, आफैंलाई घृणा गर्न मन लाग्यो, आफैलाई गाली गर्न र धिक्कार्न मन लाग्यो । आफैले आफैलाई धेरै धिक्कारें र गाली गरें पनि । अहँ कत्ति पनि चित्त बुझेन । कोठाभित्र बसेर रुनु, चिच्याउनु र कराउनुले मलाई शान्ति दिएन । अरुसँग दुख पोख्यो भने चित्त शान्त हुन्छ भन्छन् भन्ने कुराको स्मरण आयो र यो लेखमार्फत् कुनै राजनीतिक पार्टीको कार्यकर्ता हुनुको लज्जा र हीनताबोध लेखका शब्दमार्फत पोख्दै चित्त शान्त बनाउने कोशिस गरिरहेको छु । कुकुर भनेकोमा गाली गर्ने या उत्सव मनाउनेहरुको हुलभित्र यदि तपार्इँ हुनुहुन्न भने पशुपतिले कुकुर किन भने होलान् यसको कारणको खोजी गरी मानिस हुने अभियानमा जुट्न सकियो भने यो लेखमाथि अलिकति भए पनि न्याय हुने थियो ।

१ दिनको कुरा हो, राजनीतिक पार्टीका केही नेताको नाम लिएर १ सज्जनले मलाई उनीहरु भ्रष्टाचारी भएको आरोप लगाए । उनले नाम लिएका नेतामध्ये केही व्यक्ति म आवद्ध पार्टीका नेता पनि थिए । अन्य पार्टीका नेताको नाम लिएका भए त उत्सव मनाउन हुन्थ्यो तर उनले त मेरो पार्टीका नेताको पनि नाम लिए । उनले नेताहरुबाट भएका भ्रष्टाचार र आपराधिक क्रियाकलापका बर्गेल्ती उदाहरण दिए । मलाई धेरै रिस उठ्यो । मैले आफ्ना नेताहरुको पक्षपोषण गरें । उनी मेरा तर्कसँग कत्ति पनि सहमत भएनन् । उल्टै उनले त मलाई तिमी जस्ता कार्यकर्तालाई कुकुर भनेर ठीकै भने पशुपतिले भन्दै झपारे ।

Advertisement

तिम्रा नेताहरु भ्रष्टाचारी होइनन् र तिमी नेताहरुको भ्रष्टाचारका विरुद्ध नबोलेर उनीहरुका पक्षमा भुक्ने कुकुर होइनौ भने मेरा प्रश्नको जवाफ देऊ म तिमीलाई भगवान मानूँला । उनी कस्सिएर बोले । मलाई उनका कुराहरुबाट धेरै असजिलो भइसकेको थियो । मैले त्यहाँबाट छुट्कारा लिनका लागि तपार्इँका सबै प्रश्नको जवाफ दिन अहिले मसँग समय छैन, बाँकीपछि छलफल गरौंला तर अहिलेलाई एकाध प्रश्न सोध्नुहोस्, म तपाईलाई चित्त बुझाउने कोसिस गर्दछु भन्दै उनीबाट छिटो उम्कने उपाय रचें । उनी पनि मेरो प्रस्तावमा राजी भए । केही राहत मिलेको अनुभूति भयो । लामो सास फेरेर केही राहत महसुस गर्न पाउँदा नपाउँदै केही नेताको नाम लिएर उनले सोधिहाले, ‘तिम्रा यी नेताको आम्दानीको स्रोत के हो ? २०४६ को जनआन्दोलन भन्दा अगाडि यिनीहरुको आर्थिक अवस्था कस्तो थियो ? उनीहरुले आफ्नो दैनिकी कसरी सञ्चालन गरिरहेका छन् ? यति छोटो समयमा तिम्रा नेताहरुले यत्रा ठूला ठूला भवन र अन्य वैभव जम्मा गर्ने हैसियत कसरी बनाए ? के तिम्रा नेताहरु कुनै व्यापार, व्यवसाय वा अन्य कुनै आय आर्जनका क्षेत्रमा संलग्न छन् ? के तिमीले कहिल्यै यसको बारेमा सोच्यौ र आफ्ना नेतालाई यस सम्बन्धमा सोध्ने इमान्दारिता देखाउन सक्यौ ? अन्य देशमा उद्योगी व्यापारी सबैभन्दा धेरै धनी हुन्छन् तर हाम्रो देशमा सबैभन्दा धेरै धनी नेताहरु छन् किन ? के राजनीति पैसा कमाउने व्यवसाय हो ?

थोरै प्रश्न सोध्ने सहमति हँुदा हँुदै उनले छोटै समयमा धेरै प्रश्न सोधिहाले । उनका प्रश्न सुन्ने बित्तिकै म पसिना पसिना भइसकेको थिएँ । यसले मलाई नेताहरुले हिजो देखि आजसम्म सबै तहका निर्वाचनमा निर्वाचन लड्नका लागि आवश्यकता भन्दा धेरै चन्दा उठाउने र निर्वाचनमा थोरै खर्च गरी धेरै आफैंले लुकाएर राख्ने गरेका व्यवहार, निर्वाचनमा पार्टीका तर्फवाट टिकट वितरण गर्दा लाखौं, करौडौं लिइएका कुरा लगायत कर्मचारी सरुवा, वढुवा र ठेक्का पट्टामा गरेका चलखेल आदि घटनाको झल्झली स्मरण आयो । यसैले मलाई लागिसकेको थियो उनका सबै प्रश्नको एकै शब्दमा छोटो उत्तर दिऊँ । भनिदिऊँ तपाईले सोधेका सबै प्रश्न अत्यन्त जायज छन् र हाम्रा नेताहरु भ्रष्टचारी छन्, गलत छन् । तर त्यसो भन्न मलाई त्यति सजिलो थिएन ।

मेरो पनि व्यापार, व्यवसाय वा आम्दानीको स्रोत केही थिएन, कुनै व्यवसायिक सीप र क्षमता थिएन । मलाई मेरो सामान्य दैनिकी चलाउनका लागि पनि नेताहरुसँग पैसा माग्नु पर्दथ्यो या त तिनै नेताको साथ लिएर कसैको सरुवा, बढुवा वा ठेक्का पट्टाको जिम्मा लिदै कमिसन खानु पर्दथ्यो । ठूला ठूला गफ र गालीगलौज गर्नु र कसैको विवाह, व्रतवन्ध, मलामी र बिरामी भएको बेलामा मात्रै आफ्नो सक्रिय संलग्नता देखाएर राजनीति गरेको नाटक गर्ने क्षमताभन्दा बढी केही नभएको मलाई भोलि नेताहरु जस्तै कमाउनका लागि उनीहरुको साथ सहयोग चाहिन्थ्यो । मैले बोलेको कुरा कुनै माध्यमबाट नेताहरुले थाहा पाइहाले भने मलाई पार्टीको अधिवेशनमा सहयोग मिल्दैनथ्यो वा स्थानीय, प्रादेशिक वा संघीय कुनै पनि निर्वाचनमा मलाई टिकट मिल्दैनथ्यो ।

मसँग व्यापार, व्यवसाय, जागीर वा अन्य आयमूलक काम गर्ने क्षमता, सिर्जनशीलता र उद्यमशीलता नभएका कारण म कमाउनका लागि राजनीतिमा लागेको हुँ भन्ने कुरा अरु कसैेलाई थाहा भएको विषय होइन । केवल मेरो दिल वा हृदयलाई मात्रै थाहा थियो । त्यसैले हृदयले मलाई तत्कालै भनी हाल्यो धेरै इमान्दार भएर सबै सत्य कुरा नभन् फेरि भोलि दुख पाउलास् । मले कुनै पनि प्रश्नहरुको जवाफ नदिई हिँड्ने कोशिस गरें । उनले मेरो हाउ भाउ देखेर भेउ पाइहाले र अघिको भन्दा अलि चर्केा स्वरमा कड्किएर भने, ‘तिमी कार्यकर्ताहरुसँग भुक्नेभन्दा बढी क्षमता केही पनि छैन र त्यसले तिमीहरु कुकुर हौ, कुकुर हौ, कुकुर हौ ।’ उनको यो आवाज नसुने जस्तो गरी घरतर्फ लागें ।

घर पुग्दा रातको करिब ९ भइसकेको रहेछ । तिमीहरु कुकुर हौ, कुकुर हौ, कुकुर हौ भनेको आवाज कानमा गुञ्जिरहेको थियो । १ गिलास चिसो पानी पिएर विस्तारामा पल्टिएँ । निन्द्रा कत्ति पनि लागेन । अप्राकृतिक कर्मले धेरै तनाव पैदा गर्दछ भन्ने कुरा श्रीमद्भागवत गीतामा पढेको सम्झिएँ । हिजोसम्म त मेरो क्षमतामा कसैले प्रश्न उठाएको थिएन । ठीकै थियो । अब यसरी हुँदैन, हृदयले दृढताका साथ भन्न थाल्यो । मलाई लाग्यो मानिस पैसाका अभावका कारण मात्र गरिब हुने होइन, संस्कारका अभावमा पनि गरिब हँुदोरहेछ । सास नभएको मानिस मात्रै मुर्दा हुँदैन, जसमा विवेक वा मानवता छैन, ऊ सास भएर पनि मुर्दा हुन्छ भन्ने कुरा कहीँ पढेको थिएँ । त्यो पनि याद आउन थाल्यो । खै कति खेर निदाएछु, थाहै भएन । तर बिहान उठ्ने बेला मान्छ् बन्ने दृढता र प्रतिवद्धताका साथ ब्युँझिएछु । धेरै हलुका महसुस भयो ।
त्यसको केही दिनपछि ती सज्जनले नाम लिएका नेतामध्ये १ जनासँग भेट भयो । त्यति बेलासम्म मेरो स्वार्थ सिथिल भएर विवेक जागृत भइसकेको थियो । म अब आफ्नै विचार र भावप्रति जागरुक भइसकेको थिएँ । जब हामी आफ्ना अनुभूतिलाई जस्ताको तस्तै हेर्दछौं, तब विवेक जागृत हुन्छ भन्ने जे. कृष्णमूर्तिको भनाइ मेरो आफ्नै जीवनमा मैले अनुभव गर्न सकें । विवेक जागृत भए पछि लोभ र त्रास भाग्दो रहेछ र मान्छे स्वतन्त्र बन्दो रहेछ । स्वतन्त्रताले दृढताको निर्माण गर्दो रहेछ । त्यही विवेक र स्वतन्त्रताको जगमा उभिएर मैले नेतालाई माथिका प्रश्न उही मित्रको शैलीमा धारावाहिक रुपमा सोर्धे । नेताज्यू झस्किनुभयो । उहाँले भन्नुभयो, ‘तिमीलाई आज के भएको ?’

मैले भनें, ‘तपाईँको कार्यकर्ता कुकुरबाट मानिस बन्ने प्रयासमा छ । विवेकशील मानिस ।’ यो त एउटा रिहर्सलमात्रै हो । उहाँले जवाफ दिन त्यति रुचि राख्नुभएन । उहाँले जाँदा जाँदै केही रुखो तरिकाले भन्नुभयो, ‘आफूले केही गर्ने क्षमता राख्दैन अर्काको प्रगतिमा डाह गर्छ । यसै भएर हाम्रो संगठन बिग्रिएको हो ।’ मैले संयम भएर उहाँलाई अनुरोध गरें, ‘केही त भन्नुहोस् ।’ यहाँले अलिकति आवेशमा आएर भन्नु भयो, ‘राज्यले दिएको तलब र राज्यको तर्फबाट वैदेशिक भ्रमण गर्दा दिएको पैसा दुख गरेर केही जोगाउन सकिन्छ । विदेशमा जाँदा इष्ट मित्र र साथीभाइहरुको घरमा बसेर र कहिलेकाही सस्ता होटेलमा बसी पाउरोटीमात्रै खाएर जोगाएको पैसाले बनाएको घर र जम्मा गरेको सम्पत्ति हो । पार्टीका कार्यकर्ताले पनि यदाकदा सहयोग गर्दछन् । कहिलेकाहीँ छोराछोरीले पनि केही सहयोग गर्दछन् हिजोआज । कसलाई भन्नुपर्ने हो यसै भनिदेऊ ।’ आफ्नो गलत व्यवहार र भ्रष्टाचारबाट उन्मुक्तिको यो रेडिमेट जवाफ दिएर नेताजी कोट टक्टकाउदै हिँड्नुभयो । मैले केही बेर हेरिरहें ।

म झस्किएँ । कत्रो ठूलो भ्रष्टाचार र बेइमानी । उनका छोराछोरीहरु कहिले विदेश गएका हुन् र ? उनको सम्पत्तिको वैभव छोराछोरी विदेश जानुभन्दा कति अगाडि हो र उनका छोराछोरीको वर्तमान आर्थिक अवस्था के छ भन्ने हेक्का धेरै मानिसले राखेका छन् भन्ने कुरामा सामान्य अनुमान पनि गर्न सक्नु भएन नेताजीले । यतिसम्म त घरभित्रकै कुरा भयो । यसबाट चित्त नबुझे पनि जबर्जस्त सहन सकिएला तर नेपाल र नेपालीको इज्जतलाई अन्तर्राष्ट्रिय बजारमा लिलाम गर्ने गरी गरिएका नेताजीको व्यवहारले साच्चिकै धेरै दुखायो । अन्तर्राष्ट्रिय रुपमा राष्ट्रको बेइज्जत भयो । राज्यले वैदेशिक भ्रमणमा बेला दिएको पैसा नेताजीलाई घर बनाउनका लागि होइन र नेपाल र नेपालीको इज्जतलाई कसैको घर पटाहामा बास बसेर पसारो पार्नका लागि पनि होइन । राज्यले वैदेशिक भ्रमणका समयमा राज्य स्तरबाट दिने पैसा वा भत्ताको मर्मले यसो भन्दैन । राज्यले राज्य स्तरबाट जो कोहीलाई पनि दिने भत्ता वा सहयोग नेपाल र नेपालीको मान, मर्यादा र शान अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि हो । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि हो । कुनै वैदेशिक कार्यक्रममा जाँदा अन्य देशवाट आउने प्रतिनिधिको बराबरी हैसियतमा रहोस्, बसोस् र व्यवहार गरोस् भन्नका लागि हो । कार्यक्रमको औपचारिकता पछि पनि होटेल वा रेस्टुरेन्टमा हुने अनौपचारिक बसाइमा होस् वा अन्य घुमघामका समयमा पनि अन्य विदेशी प्रतिनिधि सँगसँगै रहोस्, बसोस् र देश र देशबासीका बारेमा चर्चा गरोस्, सिकोस् र केही ज्ञान, सीप र क्षमता बोकेर स्वदेश फर्कियोस् । त्यो सीप देशकोे हितमा प्रयोग गर्ने इमान्दारिता र क्षमता देखाउन सकोस् भन्नका लागि हो ।

तर हाम्रा नेताहरु भने राज्यले दिएको पैसालाई जोगाएर आफ्नो घर बनाउनका लागि प्रयोग गरें भनेर निर्जल्लताका साथ भनिदिन्छन् । राज्यको स्वाभिमान लुटेकोमा गर्व गर्दछन् । सायद उहाँलाई लाग्यो होला यो नै गैरकानुनी सम्पत्ति लुकाउने बलियो हतियार हो । विदेशबाट स्वदेश फर्किदा श्रीमतीका लागि आवश्यक साडी, चोलो वा लाली पाउडर अरुलाई किन्न लगाएर ल्याएको भए पनि वा अन्य जतिसुकै राष्ट्रिय बेइमानी गरेर जोगाएको पैसा भए पनि के यदाकदा गरिने वैदेशिक भ्रमणबाट बचाइने पैसाले यत्रो वैभव जम्मा गर्न सकिन्छ ? कति झूट । नेताहरुको यस्तो झूट र बेइमानीलाई समयमै चिन्न नसक्ने म कति कमजोर र लाचार ? पशुपति तिमीले जे भन्यौ ठीकै भन्यो । ढिलै भए पनि आँखा उघारिदियौं, ब्यँुझाइदियौं । विवेक जाग्रृत गराइदियौ । हुलले के भन्दछ यसको प्रवाह नगर । तिम्रो आत्माले जे भन्छ, त्यही गर । सत्य कुरामा एक्लै भए पनि उम्भिइराख । आज तिमीलाई गाली गर्नेहरु भोलि तिमीलाई ताली हान्नेछन् र तिम्रो समर्थनमा सडकमा गीत गाउने र नाच्नेहरु भोलि बिहानै तिम्रो विरुद्धमा हुनेछन् । ताली हान्नेहरुले हानी राख्छन्, गाली गर्नेहरुले गरी राख्छन् । निरन्तर आफ्नै गतिमा बगिराख । तिमी मेरो धन्यवादका पात्र छौ, सधैं भइरहने छौ । पशुपति मलाई माफ गर !

मैले उल्लिखित कुरा भनिराख्दा तपाईंले यी नेताहरुकोे नाम पनि राखिदिएको भए कति राम्रो हुने थियो भनेर सोचिरहनु भएको हुन सक्छ । वा मैले यति भनिराख्दा पनि नेताहरुको नाम उल्लेख नगरेकोमा मलाई लाचार र कमजोर मानिरहनु भएको पनि हुन सक्छ । म यसतर्फ अत्यन्त सचेत छु । तर अनौपचारिक भेटघाटमा भएको छलफलको विषयलाई लिएर कुनै व्यक्ति वा नेता विशेषको नाम समावेश गर्नुलाई मैले त्यति राम्रो मान्न सकिनँ । मलाई यसका बारेमा आधिकारिक प्रमाणको खाँचो छ । यसैले म पहिलो चरणमा गण्डकी प्रदेश अन्तर्गतका प्रमुख राजनीतितक पार्टी र तिनका नेताहरुको आर्थिक र राजनीतिक गतिविधिका बारेमा केस स्टडि गर्दै छु । किन नेपाली नेताहरु भ्रष्टाचारी छन् ? उनीहरु आर्यआर्जनको कुन कुन क्षेत्रमा संलग्न छन् ? र उनीहरु किन धेरै लामो समयसम्म पदमा नै बसिरहने चाहना राख्छन् भन्ने प्रश्नको जवाफ म आधिकारिक रुपमा मेरो केस स्टडिमार्फत खोज्दै छु । केस स्टडीको निष्कर्षलाई लिएर नेताहरुको नामसहित व्यापक छलफल र विचार विमर्श गरौँला । यस कार्यलाई निश्कर्षमा पुर्‍याउनका लागि तपाईंले जाने बुझेका आवश्यक सूचना मेरो तलको इमेलमा पठाई सहयोग गरिदिनुहुन यसै लेखमार्फत हार्दिक अनुरोध गर्दछु ।
पष्कजयचदबचबज्ञिठ२नmबष्।िअयm

तपाईको प्रतिक्रिया