तनहुँका २ स्थानीय तहमा मात्र दमकल

समाधान संवाददाता २०७५ चैत ३ गते ८:०५

राजन उपाध्याय

गर्मी मौसममा आगलागीका घट्ना बढी हुने गरे पनि क्षति हुन नदिन तनहुँमा दमकलको अभाव छ । विद्युतीय सामग्री, हावाहुरी र डढेलोबाट आगलागीका घट्ना हुने गरेको छ । आफू चढ्ने सवारी साधन छिट्टै खरिद गर्न सक्षम जनप्रतिनिधिले यस विषयमा खासै महत्व दिएका छैनन् ।

जिल्लाका ८ स्थानीय तह दमकलविहीन छ । व्यास नगरपालिका र बन्दिपुर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेका छैन । शुक्लागण्डकी, भानु, भीमाद नगरपालिका, घिरिङ, म्याग्दे आबुखैरेनी, ऋषिङ र देवघाट गाउँपालिकामा दमकल छैनन् । बन्दिपुर गाउँपालिकामा अनुदान प्राप्त दमकल भए पनि जनशक्ति नहुँदा थन्किएर बसेको छ । मासिक कम्तिमा ५ जना कर्मचारी आवश्यक पर्ने गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । सञ्चालनका लागि मासिक न्यूनतम १ लाख रुपैयाँ चाहिने उनको भनाई छ ।

Advertisement

एक्लैले खरिद गर्दा ठूलो लगानी गर्नुपर्ने भएकाले २-३ वटा स्थानीय तह मिलेर सञ्चालन गर्नेबारे छलफल भएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लले जानकारी दिए । ‘दमकल किन्न ठूलो कुरा भएन,’ उनले भने, ‘तर सञ्चालन गर्न १०-१२ जना जनशक्ति आवश्यक पदर्छ । त्यसैले मिलेर ल्याउने विषयमा बैठकमा कुरा भएको हो ।’ आबुखैरेनीदेखि कोत्रेसम्म पृथ्वीराजगर्माको ७२ किलोमिटर क्षेत्रमा पायकपर्ने स्थानमा दमकलको खाँचोरहेको आबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए । उनले पनि दमकल सञ्चालन गर्न खर्चिलो भएको उल्लेख गरे ।

शुक्लागण्डकीका विभिन्न क्षेत्रमा शहरीकरण र व्यापारिक केन्द्र बढेसँगै दमकलको आवश्यकता भए पनि सञ्चालनका लागि ठूलो खर्चिलो भएको मेयर किसान गुरुङले उल्लेख गरे । उनले आगलागी भएमा दमकलको वैकल्पिकरुपमा अन्य उपाय अपनाउने दाबी गरे । ‘क्षति हुन नदिन हामीले आगो निभाउने अरु उपायकाबारे सोचेका छौं,’ उनले थपे, ‘प्रभावकारीता हेरेर प्रयोगमा ल्याउनेछौं ।’

Advertisement

सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको भनाई छ । उनले स्थानीयबीच एकआपसमा मिलेर जिल्लाका विभिन्न क्षेत्रमा दमकल राख्न सकिने उल्लेख गरे । शुक्ला र भीमाद मिलेर राख्न सकिन्छ, ऋषिङ्ग र घिरिङले राख्न सक्छ । ‘मन्त्रायलयले पनि स्थानीय तहमा राख्न निर्देशन दिएको छ, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि दमकल राख्नुपर्ने उल्लेख छ’ उनले भने, ‘स्थानीय तहले आवश्यकता महसुस गरे खरिद गरी सञ्चालन गर्न सक्छन् ।’

जिल्लामा गत वर्षको फागुनदेखि १ वर्षमा ८६ स्थानमा आगलागी हुँदा २९ वटा घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । आगलागीमा परेर २ जनाको ज्यान गएको छ । आलागीमा ५ जना घाइते भएका छन् । घटनामा ८६ चौपाया मरे भने १४ घाइते भए । घट्नामा २४ गोठ नष्ट भयो । आगोले करिब १ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको एसपी शाहले बताए ।

स्थानीय बासिन्दाले प्रकोपका लागि पूर्व तयारी अवस्थामा रहनुपर्नेमा जनप्रतिनिधिले बेवास्ता गरेको आरोप लगाउँछन् । अरू सवारी साधन किन्ने बजेटलाई थाती राखेर तत्काल दमकल किन्ने निर्णय गर्न नसक्दा समस्या भएको स्थानीय ऋतु भुवाईको भनाई छ । ‘दमकल कुनै विलासी साधन होइन । यो स्थानीय जनताको जनधन जोगाउने कुरासँग प्रत्यक्ष जोडिन्छ ,’ उनले थपे ।

तपाईको प्रतिक्रिया