महोत्सवलाई आमा समूह र युवाको साथ

समाधान संवाददाता
चैत २२ गतेदेखि वैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूह तथा युवाले सघाउने भएका छन् । मूल आयोजक समितिले शनिबार राखेको आमा समूह तथा युवाको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्घता जनाएका हुन् ।
नमूना आमा समूहकी लक्ष्मी बास्तोलाले महोत्सवलाई पूर्ण साथ दिने प्रतिबद्घता जनाउँदै यो हेमजाको चाड भएको भनाइ राखिन् । त्यस अवसरमा नवजागरण महिला समूहकी सरस्वती तिम्सिना, नहरचोक आमा समूहकी मनु तिम्सिना, जनकल्याण आमा समूहकी धना तिम्सिना हेमजा आमा समूहकी उमा आचार्य त्रिपाठी, जनजागृति आमा समूहकी मुरली तिम्सिना लगायतले महोत्सवमा सघाउने बताएका थिए ।
युवाले पनि महोत्सवलाई सफल बनाउने दायित्व आफूहरुको पनि भएको भनाइ राखेका छन् । कार्यक्रममा दिव्यदृष्टि युवा क्लबका मनोज कार्की, पूर्व खेलाडी सुधीरजंग थापा, विष्णुपादुका क्लबका टिम क्याटेन रोशन केसी, हेमजा युवा सञ्जाल तथा हेमजा युनाइटेडका प्रतिनिधिले भनाइ राखेका थिए । भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ ।
कार्यक्रममा मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्का ,महासचिव वसन्तकुमार श्रेष्ठ, आर्थिक संयोजक मदन थापा, झाँकी व्यवस्थापन समितिका जयराम तिमिल्सिना, आमा समूह परिचालन समितिकी सिर्जना सापकोटा, सल्लाहकार दानबहादुर थापा, रामचन्द्र त्रिपाठी लगायतले सहजीकरण गरेका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव हुने गरेको छ । महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेश स्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत छन् ।
तपाईको प्रतिक्रिया