सालिक भत्काउने राष्ट्रभक्ति हुन सक्दैन- बाबुराम कुँवर

समाधान संवाददाता २०७५ चैत ३ गते ८:२६

समाधान संवाददाता

क्षत्री समाज नेपालका ४ केन्द्रीय भातृ संस्थाको संयुक्त महाधिवेशन शनिबार भएको छ । क्षत्री समाज नेपालको आसन्न केन्द्रीय महाधिवेशनको पूर्व सन्ध्यामा केन्द्रीय भातृ समाजहरु महिला, भूतपूर्व सैनिक तथा प्रहरी, बुद्धिजीवी र कलाकारको संयुक्त महाधिवेशन भएको हो ।

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले महाधिवेशन उद्घाटन गर्दै राष्ट्रको रक्षा र सुरक्षाका लागि क्षत्रीहरुले वलिदान दिएको बताए । उनले क्षत्रीहरुले पहिचान र सन्देश दिनभन्दा पनि सहअस्तित्व र आत्मसम्मानको सवाल उठाएको तर्क गरे । ‘क्षत्रीले समाज, देश र प्रदेशलाई समेत आवश्यकता पर्दा जिउ, ज्यानको वलिदान दिएका छन्,’ प्रदेश प्रमुख कुँवरले भने, ‘मातृभूमिको रक्षा, शिक्षा र सुरक्षाको जिम्मेवारी क्षत्रीले लिएको इतिहासले बताउँछ ।’

Advertisement

सत्य युगदेखि अहिलेसम्मको कालखण्डमा मुलकका निम्ति क्षत्रीको योगदान रहेको दावी गर्दै प्रदेश प्रमुख कँुवरले सिमानाको सुरक्षा र सार्वभौम सत्ताको रक्षामा क्षत्रीको भूमिका रहेको बताए । प्रदेश प्रमुख कँुवरले पृथ्वीनारायण शाहको नाम त लिएनन् तर पोखराका पृथ्वीचोकबाट उनका सालिक फालेकोमा असहमति प्रकट गरे । ‘पुज्य महापुरुषको सालिक फ्याँक्नु न्यायपूर्ण हो कि इतिहासमाथिको प्रहार हो ?,’ प्रदेश प्रमुख कँुवरले भने, ‘सालिक भत्काउनु वीरता, बहादुरी र राष्ट्रभक्ति हुन सक्दैन ।’

पराक्रम, बहादुरी र वीरता प्रर्दशन गर्ने क्रममा कहिलेकाँही बुद्धिले मात्र काम गर्न नसक्ने उल्लेख गर्दै उनले जातले मात्र नभएर कर्मले क्षत्री बन्न सुझाव दिए । उनले जात जातिमा भेदभाव नभएर समानता र सद्भाव कायम गर्न सकेमात्र सबैलाई न्याय हुने बताए । संविधानले सबै जात जातिलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै उनले संविधान र कानुन कार्यान्वयनमा लाग्न क्षत्रीहरुलाई सुझाव दिए ।

Advertisement

क्षत्री समाज नेपालका अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले राष्ट्रिय अखण्डता र स्वाभिमान रक्षाका लागि समाजले ध्यान दिएको बताए । गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले संघीयता, संविधान कार्यान्वयन र दिगो विकास र समृद्धिका लागि समाज लाग्नुपर्ने बताइन् । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्यहरु कृष्ण थापा, कुमार खड्का र विन्दुकुमार थापाले राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम गर्नका लागि समाज खोलिएको उल्लेख गरे ।

कार्यक्रममा क्षत्री समाज नेपालका महासचिव रोमबहादुर कार्की, क्षत्री महिला समाजका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य पुष्पा केसी भण्डारी, महिला उपाध्यक्ष उर्मिला खड्का, क्षेत्रीय समाज नेपालका केन्द्रीय सचिव कृष्ण थापा, क्षत्री समाज गण्डकी प्रदेशका अध्यक्ष वेनीबहादुर बस्नेत, क्षत्री समाज कास्की जिल्ला सदस्य गोमा रायमाझी, क्षत्री बुद्धिजीवी समाजका अध्यक्ष प्राडा देवेन्द्रबहादुर लामिछाने, क्षत्री भूतपूर्व सैनिक तथा प्रहरी समाजका अध्यक्ष अनिरुद्र थापा, क्षत्री कलाकार समाजका उपाध्यक्ष तेजबहादुर केसी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया