‘सीप सिके जागिर खोज्न पर्दैन’

समाधान संवाददाता २०७५ चैत ३ गते ८:५३

रामकृष्ण लामिछाने

कुश्मा ४ की सविना परियारलाई ‘सीप सिके रित्तो हात बस्नुपर्दैन’ भन्ने आत्माविश्वास बढेको छ । कुश्मा नगरपालिका ४ नम्बर वडा कार्यालयले १० दिने उद्यमशीलता विकास तालिम दिएपछि उनमा यस्तो विश्वास पलाएको हो । उनी तालिममा सहभागी भएर बिहीबार प्रमाणपत्र पाउँदा खुसी मुद्रामा थिइन् ।

परियार जस्तै भिजनी नेपालीको मुहारमा पनि त्यस्तै खुसी थियो । ‘तालिम नलिँदै मलाई व्यवसायका बारेमा कुनै जानकारी नै थिएन,’ उनले भनिन्, ‘अहिले आत्माविश्वास बढेको छ । सीप सिकेर सानो व्यवसाय चलाउन सक्छु भन्ने आँट आएको छ ।’ तालिम लिएका १० जना दलित किशोरीहरु उद्यमशिलताबारे जानकार भएका छन् । उनीहरु तालिम लिएपछि आँट र साहस बटुलेर फर्र्किएका छन् ।

Advertisement

कुश्मा नगरपालिका वडा नम्बर ४ को संयोजन र घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा तालिम दिइएको हो । १० दिने तालिम समापन गरिएको छ । तालिम समापन गर्दै वडाध्यक्ष मीना कमाचार्यले सिकेको सीपलाई थन्काएर नराख्न सहभागीलाई अनुरोध गरिन् । उनले तालिम लिएपछि किशोरीहरुले भविष्यमा व्यवसाय गर्न सहयोग होस भन्ने आफूहरुको चाहना रहेको बताइन् । ‘तालिम लिएको प्रमाणपत्र दराजमा नथन्काउनुस्,’ उनले भनिन्,’ दराजमा गहना थन्काउने जस्तो सीप थन्काउनुभयो भने अगाडि बढ्न सक्नुहुन्न ।’ कर्माचार्यले यो तालिमपछि वडाले फेरि अरु व्यवसायिक तालिम दिने तयारी गरेको बताइन् ।

तालिम सिकेपछि जहाँ गए पनि कामको अभाव नहुने र अर्थोपार्जन गर्न सहज हुने कर्माचार्यले बताइन् । सहभागीले आफूहरुलाई क्रिस्टलको चुरा बनाउने तालिम र ब्युटीपार्लर तालिम दिलाउन पनि माग गरे । प्रशिक्षार्थीले आपूmहरुलाई तालिमसँगै राज्यले व्यवसाय सञ्चालन गर्ने पुँजीसमेत दिन माग गरेका छन् । व्यवसाय सुरु गर्दा हुने जोखिम, व्यवसाय बढाउन अपनाउने तरिका, बजार माग र आत्माविश्वास बढाउन उद्यमशीलता विकास तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समितिका लेखा अधिकृत टेकनाथ पराजुलीले बताए ।

Advertisement

उनले कार्यालयले विगतमा पनि यस्ता तालिम दिने गरेको र ती तालिम सिकेर अधिकांशले राम्रो व्यवसाय सञ्चालन गरी कमाएको अनुभव सुनाए । कार्यक्रममा वडा सदस्य टेकनारायण श्रेष्ठ, हिना परियार, वडा सचिव जगत जोशी, घरेलु तथा साना उद्योग विकास समितिका सहजकर्ता पूजा राना, कालिगण्डकी सावुन उद्योगका सञ्चालक योगराज अधिकारीको पनि सहभागिता थियो । उनीहरुले पनि सानो लगानीमा धेरै आम्दानी गर्ने उपायहरुको बारेमा सहभागीहरुलाई विभिन्न सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया