जहाज दुर्घटनामा ज्यान गुमाएकी एकताकाे शवबिनै अन्त्याेष्टि

समाधान संवाददाता २०७५ चैत ३ गते १४:०५

समाधान संवाददाता

गत आइतबार इथियोपियामा जहाज दुर्घटनामा परी निधन भएकी गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको शव आउन समय लाग्ने भएपछि परिवारले शवबिनै अन्तिम सस्कार गर्ने तयारी गरेको छ ।

इथियोपियाको आदिस आबाबामा इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज दुर्घटना हुँदा विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारीसहित १५७ जनाको निधन भएको थियो ।एकताको निधन भएको आठ दिन हुँदा पनि शव नआएपछि हिन्दु धर्म संस्कारअनुसार अन्त्येष्टि गर्ने  तयारी गरेको उनका ठूलोबुवा ईश्वर अधिकारीले जानकारी दिए ।

Advertisement

‘शव आउन समय लाग्ने भयो । आज पुरोहितसँग अब कसरी संस्कार गर्न सकिन्छ भन्नेबारे छलफल गर्दैछौं,’ अधिकारीले भने, ‘शव त के बाँकी होला र! तै पनि शव आउँछ कि भनेर कुर्दै छौं।’ हिन्दु संस्कारअनुसार शव फेला पार्न नसकेमा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने चलन छ ।

उनले एकताको शव ल्याउन नेपालस्थित विश्व खाद्य कार्यक्रमको कार्यालयमा भनिरहेको बताए । ‘हामीले अन्त कतै पहल गर्न सक्दैनौं । त्यही कार्यालयले जे गर्छ त्यसैको भर परेका छौं,’ अधिकारीले भने ।

Advertisement

राष्ट्रसंघीय वातावरण सभामा भाग लिन इथियोपियाबाट केन्या जाँदै गरेका एकतासहित जहाजमा रहेका ३३ देशका १४९ यात्रु र चालक दलका ८ जनासहित १५७ जनाका परिवार पनि शव प्राप्त हुने पर्खाइमा छन् ।

जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव पहिचानका लागि फोरेसिक डिएनएको काम सुरू भए पनि कम्तिमा छ महिना लाग्ने भएकोले मृतकका परिवारलाई दुर्घटनास्थलको माटो दिन थालिएको छ । समाचार संस्था एपीका अनुसार दुर्घटनामा परेकाहरूका परिवारलाई दुर्घटनास्थलबाट एक किलोग्राम माटो खोस्रेर र बोरामा प्याक गरी आफन्तलाई दिन थालिएको छ ।

तपाईको प्रतिक्रिया