करिडोरले नजोडेको गाउँलाई जोडेको मेला

समाधान संवाददाता २०७५ चैत ४ गते ८:०८

अमृत सुवेदी

रुखको फेदमुनि तान खिप्दै ७५ वर्षीया टुरीमाया मगर ऊनको पछ्यौरा बुनिरहेकी छन् । अर्को रुखको छेलमुन्तिर वन गिठाको परिकार बिक्रीमा राखिएको छ । छेवैमा चितकुमारी गुरुङ कोदाको सेलरोटी पकाउँदै छिन् । आँखैअगाडि झ्वाइँ पारेर निकालिएको कोदोको तातो सेलरोटी मुख मिठ्याउँदै खाइरहेका छन्, तन्नेरीहरु ।

अर्को १ कुनामा हिरा गुरुङ तरुल उसिनिरहेकी छन् । त्यहीँ नजिकै पाकिरहेको छ, मासको बटुक । अर्को छेउमा केशु गुरुङ, कृस्ती मगरहरुले बाँढिरहेका छन्, भट्माससँग स्थानीय परिकार । सँगै पाकिरहेको लोकल कुखुरा पाहुनाले मिठो मानेर खाइरहेका छन् । केटाकेटी, युवायुवती र पाका पाहुनासम्मले गुन्द्रुक र लोकल गोलभेडाको चट्नीसँग चाख मानेर मन परेका गाउँले परिकारमा रमाए ।

Advertisement

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ र २ को सिमाना छरछरे झरनासँगै देखिएको दृश्य हो, यो । बञ्चरे भीरमुन्तिर गाउँकै अर्गानिक परिकार पस्किएर कालीगण्डकीतिरमा शुक्रबार र शनिबार मेला लाग्यो । मोटर बाटोले देवघाटका यी २ वडा मोटरबाटोले अझै जोडिसकेको छैन । तर, छरछरे पर्यटन महोत्सव नाम दिएर भएको मेलाले गाउँलेलाई जोडेको छ ।

२ वडालाई मात्रै होइन देवघाट धामदेखि मुक्तिनाथसम्मै जोड्ने गरी शालिग्राम करिडोर निर्माण भइरहेको छ । त्यही करिडोरमा पर्ने छरछरे छहरानेर गाउँलेहरु जम्मा भए र पस्किए गाउँको अर्गानिक स्वाद । २ वडाको बीचमा ठूलो बञ्चरे भीर छ, जसका कारण सडकमार्गले अझै जोडिन पाएको छैन । तर सरकारले छुट्याएको बजेटले बञ्चरे भीरलाई फालेर छिटै दुवै वडा जोडिने आशामा गाउँलेले उत्सव मनाए । नाचे, गाए, रमाए । आफ्नै घर आँगनमा पाक्ने अर्गानिक परिकार खाए र खुसी मनाए ।

Advertisement

शालिग्राम करिडोरलाई प्रदेश सरकारले १ करोड र देवघाट गाउँपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ । ठूलो चट्टानसहितको बञ्चरे भीरको अवरोधका कारण अब करिडोर जोडिन जम्मा डेढ किलोमिटरमात्रै बाँकी छ ।

धेरै वर्षअघिदेखि मुगलिन चितवन सडकमा आँखै अगाडि गाडी हुइँकिएको देवघाटको यो क्षेत्रले देख्यो । तर, गाडी चड्ने सुविधा उनीहरुको सपनाको बाधक थियो, त्रिशुली नदी । केही समयअघिमात्र देवघाट र दासढुंगा जोड्ने पुलबनेपछि अहिले वडा नम्बर १ सम्म गाडी गडेको छ तर २ मा त्यही बाटो अझै पुगेको छैन ।

अहिले गाउँलेहरु जुटेर छरछरे पर्यटन विकास समिति गठन गरेका छन् । त्यही समितिले छरछरे पर्यटन महोत्सव नाम दिएर गाउँको अर्गानिक स्वाद पस्किएको हो । ट्वाक्क अमिलो, पिरो चट्नीसहितको स्थानीय परिकार देख्दा मुख नरसाउने सायदै थिए । सहरका सबैजसो मेला, महोत्सव एकै खालको र दिक्क लाग्दो बन्दै गइरहेका बेला छरछरे महोत्सवले अर्गानिक स्वादमात्रै पस्किएन । गाउँमा पर्यटक लोभ्याउने आशासहित छरछरे छहरामा क्यानोनिङको सफल परीक्षण पनि भएको छ ।

क्यानोनिङ सफल भएपछि गाउँमा पञ्चेबाजा घन्कियो, तन्नेरीहरु जातीय पोसाकमा छमछमी नाचे । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आफैंले क्यानोनिङ परीक्षण गराउने समूह लिएर पुगेका थिए । अर्थमन्त्री गुरुङ, गाउँपालिका अध्यक्ष दुर्गा थापा, पर्यटन विकास समिति अध्यक्ष थमबहादुर मगर, क्यानोनिङ परीक्षण टोलीलाई स्थानीयले बाजा बजाएर स्वागत गरे ।

अर्थमन्त्रीसामु आफ्ना अप्ठेरा र समस्याका कुरा राखे । अर्थमन्त्री गुरुङले शालिग्राम करिडोरको निरीक्षण गदै यो वर्षभित्रै सडक छिचोलिने बताए । यो वर्षभित्रै सडकको समस्या हट्ने बताउँदै अर्थमन्त्री गुरुङले बरु सांस्कृतिक सभ्यता, मौलिकता र ऐतिहासिकता जोगाइराख्न आग्रह गरे ।

अरुको देखासिकी नगरेर आफ्नो इतिहास परम्परालाई जोगाउन सके गाउँ समृद्ध बन्ने अर्थमन्त्री गुरुङको भनाइ थयो । देवघाट क्षेत्रमा नयाँ मठमन्दिर बनाउने नाममा पुरानो एतिहासिक महत्वलाई बिर्सने र मास्ने काम भएको बताए । देवघाटलाई मौलिक राख्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।


तपाईको प्रतिक्रिया