विकासले ‘छेक्यो’ जाेमसाेमकाे परिचय

समाधान संवाददाता २०७५ चैत ४ गते ९:०५

सुन्दरकुमार थकाली

बाटो, एअरपोर्ट, ठूला संरचनाले सधै बजार गुलजार बनाउछन् भन्ने छैन । कहिलेकाँही यस्ता पूर्वाधार र विकासले पुरानै परिचयलाई पनि छेकिदिन्छन् । हराभर बस्ती उजाड बन्न सक्छ, उजाड ठाउँमा महल बन्छन् । यस्तै नियति भोग्दै छ मुस्ताङ सदरमुकामको पुरानो जोमसोम बजार ।

पुथाङमा एअरपोर्ट बनेपछि आवागमन, होटल र सरकारी कार्यालय त्यतै बने । पछि पुगेको सडक पनि त्यही छेउबाटै अघि बढ्यो । अहिले जोमसोम पुग्ने जेसुकैलाई पुथाङ र आसपासकै बजारम मुख्य बजार लाग्छ । पछिल्लो विकासले परिचय छेकिदिएको बस्तीसम्म पुग्ने विरलै हुन्छन् ।

Advertisement

सदरमुकामसँगै जोडिएको जोमसोम बजार न पर्यटक पुग्छनु, न चहलपहल छ । त्यहाँ पुग्ने पर्यटकले जोमसोम बजार भनी पुथाङ एयरपोर्ट बजारलाई सम्झन्छन् । जहाँ आधुनिक शैलीका होटल छन्, सडक छ । बजार छ ।

मुस्ताङको सदियौंदेखि संरक्षित बजार जोमसोम पुग्नेहरु पनि वास्तविक तस्विर नपाउदा दुःखी हुन्छन् । प्रचीन सभ्यता र अवस्थितिबारे जानकारी नगराइदा जोमसोम गुमनाम बनेको भीषण थकाली बताउँछन् । जोमसोमसम्म पर्यटक लैजान स्थानीय तह र सरोकारवालाले भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।

Advertisement

पुरानो काठेपुल तरेपछि पूर्वतर्फको गुजुमुच्च बाक्लो बस्ती यहाँको पुरानो बजार हो । एकापसमा जोडिएका पुराना र प्राचीन घरहरुले जोमसोमको वास्तविक पहिचान बोकेको पर्यटन व्यवसायी राकेश भट्टचन बताउँछन् । जोमसोमको पुरानो बजारको श्रीपेच भनेकै काठेपुल पारीको गाउँ हो । थकाली, गुरुङ, ताङ्वेतानी र केही दलित समुदायको यहाँ बसोबास छ । यहाँका सबैजसो घर ढुंगा–माटोले बनेका छने । सबै घरको छतमा सख्खर माटो बिच्छ्याइएको छ ।

सहर बजारमा सिमेन्ट र बालुवाले ढलान गर्ने गरिए पनि यहाँका घर माटो ढलान गरिन्छन् । यस्ता घर बढी वर्षा र हिमपातका कारण जोखिमपूर्ण मानिन्छन् । २०६३ सालबाट सडक सञ्जाल जोडिएपछि नयाँ आधुनिक डिजाइनमा घर बन्न हुन थालेका छन् । जोमसोमको चारैतिर साँघुरो गल्ली छ । घरको छतमा लस्करै सजाइएका दाउराले जोमसोमको सांस्कृतिक परिचय दिन्छ ।

जोमसोम बजारका बासिन्दाका अलग अलग भाषा र सभ्यता छन् । समाजमा मिलेर काम गर्ने र परेका बेला आपसमा सघाउने संस्कार छँदै छ । मुखियाको अगुवाइमा समाजका हरेक गतिबिधि हुनु जोमसोमको अर्काे परिचय हो । पछिल्लो समय पर्यटक आगमन बढे पनि जोमसोम बजारका स्थानीयले कुनै फाईदा लिन नसकेको अजित थकाली बताउँछन् ।

पुरानो बजार ओझेलमा परे पनि पुथाङको छेउको बजार भने गुलजार हुँदै गएको छ । जोमसोम बजारलाई समेटेर नेपथ्यका अमृत गुरुङले २ दशकअघि गीत गाए ः जोमसोमे बजार, बाह्र बजे हावा सरर…। मुस्ताङको हावापानी, भूगोल, भेषभूषा सँगसँगै र मुस्ताङ र पोखराको जीवन्त सम्वन्धलाई नेपथ्य ब्यान्डले उजिल्यायो । वसन्ती लालचनको क्या राम्रो स्याउबारी मार्फा गावैमा र अमृत गुरुङको जोमसोमे बजार कुनै कालखण्डका मुस्ताङ चिनाउने र धेरैको ओठमा झुण्डिएका गीत थिए । पुरानो बजारलाई पनि यी गीत सुहाउँदो बनाउन सरोकारवाला लाग्नुपर्ने स्थानीयबासी बताउँछन् ।

तपाईको प्रतिक्रिया