दमौलीमा मौलिक कौरा प्रतियोगिता

समाधान संवाददाता २०७५ चैत ४ गते ९:२२

समाधान

कला, संस्कृति जगेर्ना गर्दै व्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले तनहुँको दमौलीमा मौलिक कौरा प्रतियोगिता हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले उद्योग दिवसको अवसरमा चैत २८ र २९ गते प्रथम तनहुँ मौलिक कौरा प्रतियोगिता गर्न लागेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा इकाइ सभापति राजकुमार श्रेष्ठले तनहुँ जिल्ला व्यास, पराशर र आदिकवि भानुभक्त आचार्यको नामबाट परिचित भइसकेकाले सांस्कृतिक रुपमा समेत जिल्लालाई परिचित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । उनले भने, ‘तनहुँ मौलिक कौराको खानी हो, कौराको माध्यमबाट तनहुँलाई देशभर परिचित गराउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं ।’ मेला, महोत्सवमा मात्रै कौरा प्रदर्शनी गर्ने गरिएकाले प्रतियोगिताकै रुपमा यसलाई अगाडि बढाउन खोजिएको छ ।

Advertisement

प्रतियोगितामा ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको छ । मगर, गुरुङ, दरै र मिश्रित जातको समूहलाई दमौलीको ४ चोकमा प्रतिस्पर्धा गराई ४ समूहबाट उत्कृष्ट १÷१ समूहलाई फाइनलमा प्रतिश्पर्धा गरिनेछ । दमौलीको अनसचोकमा मगर, सफासडकमा दरै, गणेशमानचोकमा गुरुङ र भोर्लेटारचोकमा मिश्रित जातिको कौरा प्रतियोगिता गरिनेछ । श्रेष्ठका अनुसार प्रतियोगितामा पेन ड्राइभमा गीत बजाएर नाच्न प्रतिबन्ध गरिएको छ । सहभागी आफैले गीत गाएर नाच्नुपर्ने नियम छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश नगद ५० हजार, ३० हजार, २० हजार र १० हजार प्राप्त गर्ने इकाइ सचिव दधिराज घिमिरेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया