दर्ता नभएकाे गाेल्डेन हेभन र एड्भान्स प्याराग्लाइडिङ कम्पनीलाई उडान गर्न राेक

समाधान संवाददाता २०७५ चैत ४ गते १५:२४

समाधान संवाददाता, पोखरा

दर्ता तथा नवीकरण नगरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको हो ।

ती कम्पनीहरुलाई महानगरले पटकपटक म्याद दिएर दर्ता हुन समय दिँदा पनि उपस्थित नभएपछि उडान बन्द गर्नु परेको महानगर राजश्व शाखाका आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायले जानकारी दिए । उनले भने, ‘धेरैपटक समय दियौं । तर उहाँहरुले अटेरी गर्नुभयो । कारबाही स्वरुप उडान बन्द गरिदिएका हौं,’।

Advertisement

सोमबारसम्म पोखरा महानगरमा ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भइसकेकाे उनले जानकारी दिए । महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो ।

थोरै कम्पनीलेमात्रै व्यवसाय दर्ता गरेको भन्दै महानगरले पुन २६ गतेसम्म फेरि समय दिएको थियो । उक्त समयावधिमा जम्मा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेका थिए । त्यसपश्चात महानगरमै उपस्थित भएर व्यवसायीले पुन समय थप्न माग गरेपछि फागुन २६ गतेसम्मको समय सम्मका लागि समय दिएको थियो । उक्त समयमावधिमा केत अधिकांश प्याराग्लाइडिङ कम्पनीले अटेरी गरे ।

Advertisement

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीका अनुसार पछिल्लो पटक तोकिएको म्यादमा समेत जम्मा २४ वटा कम्पनीले मात्रै व्यवसाय दर्ता गरेका थिए । पटकपटक म्याद दिँदा पनि अटेरी गरेपछि कारबाही प्रक्रियामा जाने महानगरले योजना बनाएको थियो ।

आन्तरिक लेखा परीक्षण प्रमुख रोमनाथ उपाध्यायले अटेरी प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाउन पोखरा वडा नम्बर १८ सँग सहकार्य गरिरहेको जानकारी दिए । ‘राजश्व नतिर्दासम्म अब कसैले उडान गर्न पाउने छैनन् । बाँकी रहेका कम्पनीले पनि राजश्व तिर्नुपर्छ,’ उनले भने ।

महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटा कम्पनीमात्रै सक्रिय छन् । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।

महानगरले पहिलेदेखि नै २५ हजार रुपैयाँ उठाउँदै आए पनि ०७५ मा ५० हजार रुपैयाँ कर तोकेको थियो । ‘त्यसवर्ष हामीले ५० हजार तोक्यौं । पछि प्रदेशले पनि उठाउन थालेपछि फेरि २५ झारेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।

तपाईको प्रतिक्रिया