संस्मरणः लाहुरेनीको आग्रहमा भारतीय लाहुरेलाई चिठ्ठी लेखिदिन्थे

समाधान संवाददाता २०७५ चैत ४ गते १७:००

रामप्रसाद शर्मा

स्याङ्जा जिल्लाको सदर मुकाम स्याङ्जा बजार सरेको पनि ६ दशक पुग्न लागिसक्यो । हामी केटाकेटी छँदा हुलाक नुवाकोटमा भएकोले चिठी खसाल्न र आएका चिठी ल्याउन नुवाकोट गइन्थ्यो । गाउँमा पढेलेखेका मान्छे धेरै थिएनन् ।

हामीलाई भारतीय सेनामा जागिरेका श्रीमतीहरुले आफ्ना लोग्नेलाई चिठी लेख्न लगाउँथे । यसरी कसकसका चिठीहरु खसाल्नुछ, थाहा पाएसम्मका संकलन गरी खसाल्न लग्ने र ऊताबाट आएका चिठी ल्याइ मैदानको चौतारामा फिँजाइदिने गरिन्थ्यो । जसजसका हुन् त्यहिँबाट लैजान्थे । हुलाकी थिएनन् । यो काम गर्न जसलाई मौका पर्‍यो उसैले गर्थे । नुवाकोट पुगेर घर फर्कन दिनभर लाग्थ्यो । एउटा चिठी पुग्न र त्यसको जवाफ आउन अन्दाजी ३ महिना लाग्थ्यो ।

चिठीको ढाँचा निश्चित हुन्थ्यो । अरु कुरा जेजे भन्छन् त्यही लेख्नु पर्ने र लेखाउनेलाई पढेर सुनाउन पथ्र्याे । हामीबाट लेखाइने गरेको चिठीको ढाँचा यस प्रकार हुन्थ्यो ।
श्री स्वस्ती श्री ६ श्री आगे त्यहाँ भारतको मेरठमा राजगरी बस्नुभएका मेरा सिरका स्वामी देवबहादुरकै मालुम होस् कि ईतमा आफूकी गृहे लक्ष्मी देवकीको दुई हात दुई गोडा जोडी सेवा ढोग छ । बाँची मालुम गर्नु होला जी । औरबात यता सपै निकानन्दै छम् । थारो भैंसी साहा गएन । वासुदेवकाँ खोटे मन्तरेर ख्वाएको हो । क्यै काम लागेन । बकेर्नोले पाँचमुठी दिन्थ्यो, हरियो घाँस नभै पगार्नै सकिन्न । एक हाते छ । नछुनी भएका बेला डाँडाखेतका कान्छालाई दुहुन लाएको पछाडिका खुट्टाले कन्चेटमा हानेर थलापरो बरा । चँदराले कुदेको दारको ठेकी दुई फक्ल्याँटा भयो । भईचम्पा र काँचो सिम्रिक लाएर कस्सो ठीक भयो । मुडुली गाई लुत्तलुत्त बार भत्काएर आर्काको बाली खान पल्को । अस्ति मत्रै अर्मल तिर्न परो । मलाई त ब्यानै झिस्मिसेमा उठेर पँधेरा जान पर्च । डोको फाटेर अर्ध छ । गाउरी पनि चुहुन्छ । गोठको धन्दा र कुँडोपानी गरिसकेर एक डोको घाँस काट्न पर्च । घरपस्दा बज्यैले पस्केर दिएको चिसो ढिंडो, इतिकिती काँडा उम्रेको भात र दालको टोर्लांगे चिसो झोल खाने हो । पुस माघको जाडोमा अगयलाई जोगाउन गारो छ । वनबाट झिंझा, पतई, स्याउला ल्याउन पाइँदैन । पतई सोर्न पनि नपाइने भयो । थाँक्रा काट्न पनि नपाइने भयो । जताततै ढुंगा छेंडेर झुन्ड्याएका छन् । वन रोक्का भयो अरे । अरु अरु रजा आउँचन् । भुजुंगेमा लाइट बल्दा तपैं हो कि भनेर बाटो हेर्चु । बाजे बटौली गएर नुन तेल वरापरि ल्याउनु भयो । ४ पाथी नुन र एक टिन तेल ल्याउनु भो । ऐले गर्दन ऐंठिएर थला पर्नु भछ । मलाई छिटको गुनियो ल्याइदिनु भछ । मजेत्रो पनि अर्धानो भयो । चुरापोते किनेको चुरेट्नीलाई दिने पैसो भएन । यौटा मखमलको चोलो र बाक्लो खास्टो यता आउने लाउरेसँग पठाइदिनु होला । और बात बाँकी पछि लेखाम्ला । ईति संवत २०१६ साल चैत २५ गते रोज ६ शुभम् ।

प्रत्युत्तर जस्ताको तस्तै
स्वस्ती श्री ३ श्री आगे घरमा मेरो बाटो हेरेर बसिरहेकी मेरी प्राणप्यारी गृहलक्ष्मी देवकीकै मालुम होस कि ईतम सिरको स्वामी देवबहादुरको तरफबाट सुभआशीर्वाद छ जी । बाँचिमालुम गरेस् । औरबात यता हामी आजका दिनतक निका आनन्द छम् । कैले कैले राति दुश्मनका गोली आम्चन् । जोगिन पर्च । बंकरभित्र पस्नी हो । अस्तिमत्रै अर्चलेको थमे गोली लागेर म¥यो । मरुवा चिठी रातो धागोले बाँधेर घरमा पठाए अरे भन्ने सुनाएका थिए । भैंसी थारो बस्यो भनेर फिकर नगरेस् । कटाईमा दिए हुन्च । डाँडाखेतका कान्छालाई धेरै दुख नदिएस् । बकेर्नो सुको भने कोइबात छैन । साहा गैहाल्च । गामतिर यताबाट पठाएका ठिम्रा र कुलिन (क्याप्सुल र क्विनिन औषधी) पाइएला । खोजेर खानदिनु । बा आमालाई सेवा ढोग छ । बाँची मालुम गर्नुहोलाजी । बाआमा अब बुढा भए । बालाई बटौली नजान भनेस् । म आम्दा नुनतेल वरापरि ल्याम्चु । तेतिन्जेल टोपाले ल्याको भोटेनुन साटेर खानु । समसट्टी दिन्न होला । २,३ पाथी कोदो मकै थपिदिएस् । वनजंगलमा छिर्न दिएनन् भने खैर कोइबात छैन । चितादारलाई झिंजा र पतइ सोर्न देऊ भनेस् । म आम्दा यौटा जडाउरी ल्याइदिम्ला । साँजब्यान दुख गर्न पर्यो भनेर दिल छोटा नगर्नु । याँ हाम्रो ओस्तादले ब्यान तीन बजे उठाएर रातो माटो र चुनाले ठाडो ईंटा र रुख पोत्न लाउँच । खान पनि टायममा दिन्नँ, दिएकाले पेट भरिन्न । २५-३० केजीको जिनिस बोकेर अपडाउन गर्न पर्च । धोबादीको मानबहादुर, बाँस्तराको चन्द्रे, खर्सुको भीमेले छुट्टीको लागि रिपोट ग¥याछन् । अडर आयो भने अप्रेलमा आम्चन् । तैंले भनेको जिनिस र अक्डम बक्डम पठाई दिन्चु । धेरै पीर नगरेस् । अरुसँग मस्केर र आँखा जुधाएर बात नमारेस् । जमाना खराब छ । कसैको भरविस्वास नगरेस् । हाम्रो पल्टन नेफा लद्दाखतिर जाला जस्तो छ । एकजोली परेवा चन्डीथानमा लगेर ऊडाइदिएस् । घर खर्च र तँलाई फुर्मासीको पैसा पनि पठाई दिन्चु । बाँची मालुम गरेस । गाँऊले दाजुभाइ इस्टमित्रलाई दर्जा माफिक ढोग, नमस्कार, आशीर्वाद छ । ईति संवत २०१६ साल असार १६ गते रोज ३ । शुभम् ।
(शर्मा नेपाल सरकारको अवकाशप्राप्त सहसचिव हुन्)

तपाईको प्रतिक्रिया