उडान रोकेपछि प्याराग्लाइडिङ कम्पनी बल्ल आए करकाे दायरमा

समाधान संवाददाता २०७५ चैत ५ गते ८:५२
Tax paid red grunge stamp

विकास रोकामगर

उडान हुन नदिएपछि ८ वटा प्याराग्लाइडिङ कम्पनीले पोखरा महानगरपालिकामा दर्ता र नवीकरण शुल्क बुझाएका छन् । महानगरपालिकाले दर्ता तथा नवीकरण हुन अटेर गरेका प्याराग्लाइडिङ कम्पनीलाई सोमबार उडानमा रोक लगाएको थियो ।

८ वटा कम्पनीको गाडी नियन्त्रणमा लिई उडान रोकिदिएपछि सोमबार दिउँसो कम्पनीधनीले दर्ता नवीकरण शुल्क बुझाएका हुन् । शुल्क बुझाएपछि महानगरले तिनका गाडी छोडिएको छ ।

गोल्डेन हेभन, एडभान्स, फ्लाई टिजी, नमस्ते, हिमालयन स्काई, अन्नपूर्ण, एरोलाइट र ड्राइगन फ्लाई छन् । कर नतिर्ने ती कम्पनीका गाडीलाई महानगरले नियन्त्रणमा लिएको थियो । महानगर आन्तरिक लेखा परीक्षक प्रमुख रोमनाथ उपाध्यायले ती कम्पनीहरुले ९१ हजार रुपैयाँका दरले रकम बुझाएको जानकारी दिए ।

Advertisement

पोखरा महानगरपालिकाले हरेक प्याराग्लाइडिङ कम्पनीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ । नवीकरण शुल्क पनि त्यति नै छ । पोहोर यो शुल्क ५० हजार थियो । त्यसअघि ५५ सय रुपैयाँ थियो । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको मितिका आधारमा उनीहरुसँग शुल्क लिँदा ९१ हजार रुपैयाँ भएको थियो ।

उपाध्यायका अनुसार अब दर्ता भएका कम्पनी ४४ पुगेका छन् । यसअघि ३६ कम्पनी दर्ता भएका थिए । महानगरले व्यवसाय स्वीकृति लिन फागनु २२ गतेसम्मका लागि म्याद तोकेको थियो । उक्त म्यादमा जम्मा २ वटा कम्पनीले मात्रै व्यवसाय दर्ता गरेका थिए । त्यसपछि क्रमश अरु पनि दर्ता हुँदै आएका हुन् । दर्ता नभएकाहरुलाई महानगरले उडान रोक्न अडान राखेको छ । ‘राजस्व नतिर्दासम्म अब कसैले उडान गर्न पाउने छैनन् । बाँकी रहेका कम्पनीले पनि राजस्व तिर्नुपर्छ,’ उपाध्यायले भने ।

Advertisement

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीका अनुसार पछिल्लो पटक तोकिएको म्यादमा समेत जम्मा २४ वटा कम्पनीले मात्रै व्यवसाय दर्ता गरेका थिए । पटकपटक म्याद दिँदा पनि अटेरी गरेपछि कारबाही प्रक्रियामा जाने महानगरले योजना बनाएको थियो ।

आलेप प्रमुख उपाध्यायले अटेरी प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाउन पोखरा वडा नम्बर १८ नम्बर वडासँग सहकार्य गरिरहेको जानकारी दिए । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र ढिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।

तपाईको प्रतिक्रिया