तोरन्ल मनाउँदै थकाली

समाधान संवाददाता २०७५ चैत ५ गते १२:०२

सुन्दरकुमार थकाली
मुस्ताङ

थकाली समुदायको मुख्य चाड तोरन्ल सुरु भएको छ । सोमबारदेखि मुस्ताङका बिभिन्न स्थानका थकालले पर्व मनाउन सुरु गरेका हुन् । तोरन्लमा देश विदेशमा रहेका थकाली युवायुवती घर फर्किन्छन् । यो पर्वमा तारो हान्ने, कौडा खेल्ने, पितृ चढाउने, नाचगान गर्ने, मीठो खाने र राम्रो लगाउने चलन छ ।

मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि घाँसासम्म र पोखरा, काठमाडौं, बुटवल, भैरहवा लगायतका स्थानमा बसोबास गरेका थकाली समुदायले तोरन्ल पर्व मनाउँछन् । तोरन्लको मुख्य विशेषता पितृ पूजा हो । दिवंगत पितृलाई खुसी राख्न चोखो पानी र खानेकुराका परिकार बनाएर चढाउने गरिन्छ । पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्ट ३ दिनसम्म मध्यरातमा उठेर पितृको नाममा प्रसाद चढाउने प्रचलन छ ।

Advertisement

पूर्णिमाको अघिल्लो दिन तारा थाप्ने (धसा चुह) गरिन्छ । तारा थाप्दा थकाली परम्परा अनुसार पूजाआजा गरिन्छ । यसरी पुजाआजा गर्दा तारो खेल्दा कुनै अनिष्ट नहोस् भनी कामना गरिन्छ । धसा पूजापछि मात्र तारो हान्ने खेल हुन्छ । महिलाभने कौडा खेलेर रमाइलो गर्छन् ।

मुस्ताङको जोमसोममा तोरन्लकै अवसरमा सोमबारदेखि आर्चरी अर्थात तारा हान्ने खेल सुरु भएको हो । तारा खेल सञ्चालन पूर्व गाउँ मुखिया निवासमा जोमसोमका थकाली समुदायको भेला भएको थियो । मुखियाको साथमा तारा धसोलाई बाजागाजा राखिएको तारा धसोसहित तारास्थलमा पु¥याइएको थियो । तारो खेल गाउँमुखिया रामप्रसाद थकालीले धसो पूजाआजा र तारोको तिर हान्दै सुरुआत गरे ।

Advertisement

जोमसोममा १५ दिनसम्म तारो हान्ने खेल हुन्छ । पूर्व गाउँ मुखिया चन्द्रबहादुर थकालीले तोरन्ल थकालीको महान पर्व भएको बताए । वर्षभरी काम गरी वसन्त ऋतुको सन्तुलित मौसममा सबै थकान बिर्सिएर तोरन्ल मनाइने उनी बताउँछन् । गाउँमुखिया रामप्रसाद थकालीले तोरन्ल पर्व थकालीको मौलिक पहिचान भएको बताए । जनहित माविका अध्यक्ष जयन्द्रलाल थकालीले तोरन्ल आपसी सद्भावको पर्व भएको बताए । यसको पूर्वसन्ध्यामा थकाली समुदायका प्रत्येक घर सिंगार्ने र घरभित्रका भाडावर्तन सरसफाइ गर्ने चलन छ ।

तारो हान्ने खेल उद्घाटन कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङ लगायतले बोलेका थिए । मार्फा, टुकुचे, लेते, कुञ्जो, घाँसा लगायतका स्थानमा समेत सोमबारदेखि तोरन्लको रौनक सुरु भएको छ । मुस्ताङमा ठिनी, स्याङ र चिमाङका तिन गाउँले थकालीले तोरन्ल पर्व जस्तै त्युङ्ला पर्व मनाइसकेका छन् । यता मार्फाली थकाली यस पर्वलाई तेरमी पर्वका रुपमा मनाउछन् । तोरन्ल, तेरमी र त्युङ्ला पर्वको समान महत्व भए पनि बिधि केही भएको मार्फाका अगुवा दीपक लालचन बताउँछन् ।

तपाईको प्रतिक्रिया