काेल्ड स्टाेर्स नभएकाेले आलु भण्डारण गर्न समस्या

समाधान संवाददाता २०७५ चैत ५ गते १३:३१

राजन उपाध्याय
दुलेगौंडा

शुक्लागण्डकी ८ डहरेकी मञ्जु श्रेष्ठले करिब १ सय किलो आलु रोपिन् । करिब १ हजार २ सय किलो आलु फल्यो । उनले बलतल्ल ७ सय केजी बेचिन् । बाँकी आलु राख्न उनलाई कठिन भएको छ । ‘राख्ने ठाँउ नभएर कति त कुहिएर गएका छन्,’ आलु राखेको गोदाममा देखाउँदै उनले भनिन्, ‘सबै बेचौं २०÷२५ रुपैयाँप्रति केजी पनि बिक्री गर्न गाह्रो छ ।’

रमेश महतको घरमा पनि १ हजार २ सय किलो आलु छ । मिलन कृषि समूहका सदस्य मिलेर लगाएको करिब १ हजार ५ सय किलो आलु पनि व्यवस्थित रुपमा राख्न सकिएको छैन । ‘केही त बिक्री भयो, अरु के गर्ने ?,’ उनले प्रश्न गरे । वडाका मञ्जु र रमेश जस्तै थुप्रै कृषक उत्पादन भएको आलुले उचित बजार नपाउाँ र भण्डारण गर्ने स्थानसमेत नहुँदा चिन्तित छन् ।

Advertisement

नगरको १ वडा, १ उत्पादन अन्तर्गत वडा नं. ८ मा आलुका लागि छनोट भएको छ । कृषक मञ्जु भन्छिन्, ‘यही राख्ने ठाउँ हुने हो भने दुःख गरेको फल राम्रै पाइन्थ्यो । आगामी वर्ष पनि लगाउने उत्साह पनि हुन्थ्यो ।’ मिलन कृषि समूहका अध्यक्षसमेत रहेका महतले यस क्षेत्रमा चिस्यान केन्द्र भएमा उत्पादनमा वृद्धि भई नगरलाई नै आत्मनिर्भर बनाउन सकिने बताउँछन् ।

वडा कार्यालयले ढोरफिर्दीलाई आलुका लािग छनोट गरी अनुदानमा बिउ वितरण गरेको थियो । ‘किसानको उत्साहजनक सहभागिता र अथक महनेतबाट राम्रो उत्पादन भएको छ,’ वडाध्यक्ष कृष्ण रेग्मीले भने, ‘उत्पादित आलुका कारण वडामा आलु किन्न नपर्ने भएको छ ।’ उनले तत्कालै चिस्यान केन्द्र बनाउन खर्चिलो हुने भएकाले कार्यपालिका बैठकमा कुरा उठाउने उल्लेख गरे । रेग्मीले उत्पादित आलु कोल्ड स्टोरसम्म लैजान ढुवानी व्यवस्था वडाले गर्ने जानकारी दिए । ‘बिक्री गर्न चाहने कृषकले बेच्न सक्नुहुन्छ,’ उनले भने,’ ‘नभए पोखरासम्म लैजाने व्यवस्था हामीले गरेका छौं ।’ कृषि सेवा केन्द्र ढोरफिर्दीका प्राविधिक सहायक नारायण पौडेलले चैत ७ गतेभित्र आलुको परिमाण टिपाउन आग्रह गरे ।

Advertisement

आलुको बिउमा वडाले ९ लाख रुपैयाँ लगानी गरेको छ । यसबटा उत्पादन करिब ३ लाख ९० हजार किलो भएको छ । प्रचलित मूल्य अनुसार करिब १ करोड २० लाखको आलु उत्पादन भएको छ । वडामा खेतीयोग्य ६५ हेक्टर जमिनमध्ये जम्मा १० हेक्टरमा मात्र आलुखेती गरिएको छ । ‘बाँकी जग्गामा समेत आलु लगाउन सकियो भने समग्र शुक्लागण्डकी नगरपालिकालाई नै आलु उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ,’ उनले थपे ।

तपाईको प्रतिक्रिया