जिएमसीको ताला खुल्यो, पढाइ र उपचार सेवा अनिश्चित

समाधान संवाददाता २०७५ चैत ६ गते ९:४४
Gandaki Medical College. Photo: GMC

समाधान सम्वाददाता

गण्डकी मेडिकल कलेजमा विद्यार्थीले लगाएको ताला खुले पनि पठनपाठन भने भएको छैन । विद्यार्थीले कलेज प्रशासनबाहेक अन्य ठाउँमा लगाएको ताला चैत २ मा खोलेका थिए । कलेजले बढी शुल्क असुलेको भन्दै विद्यार्थीले माघ १८ मा कलेजमा तालाबन्दी गरेका थिए ।

विद्यार्थीले ४६ दिनपछि ताला खुलाएर कलेजमा पढाइ सञ्चालन गर्न माग गरेका थिए । तर कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा अझै सुरु भएको छैन ।

Advertisement

कलेज प्रशासनले त्रिभुवन विश्वविद्यालयले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता लगायत माग राख्दै विद्यार्थी लगभग डेढ महिनादेखि आन्दोलन गरेका थिए । आफूहरुको मुद्दा कानुनी प्रक्रियामा अघि बढेको तर आन्दोलन नटुंगिएकोे भन्दै कलेजमा लगाएका ताला खोलेका थिए । एमबिबिएस दोस्रो वर्षका विद्यार्थीको परीक्षाका लागि चैत १० गते फर्म भर्ने अन्तिम म्याद छ । दोस्रो वर्षमा ६३ विद्यार्थी छन् । दोस्रो वर्षको परीक्षा वैशाख २१ गतेदेखि सुरु हुनेछ ।

एमबिबिएस तेस्रो वर्षका ८३ विद्यार्थीले भने फागुन १२ गते हुने परीक्षाका लागि फारमनै भरेनन् । विद्यार्थीले मेडिकल कलेज सञ्चालक र कर्मचारीसहित ११ जनाविरुद्ध ५० करोड रुपैयाँ बराबरको ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएका थिए ।

Advertisement

उनीहरुले मुद्दा दर्ता गराएका बाहेकका सञ्चालकलाई राखेर कार्य समिति गठन गर्न माग गरे पनि अहिलेसम्म कार्य समिति गठन भएको छैन । फागुन २२ गते जिल्ला प्रहरी कार्यालयले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिन कलेजका पूर्व सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परे पनि अन्य फरार छन् । विद्यार्थीले शिक्षा मन्त्रालय, कलेज प्रशासन, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शास्त्र अध्ययन संस्थानसँग दोस्रो वर्षको फर्म भर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।

कलेजले ५३ करोड ठगी गरेको आरोप लगाउँदै विद्यार्थीले जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धीकरण विभागमा ११ जनाविरुद्ध उजुरी दिएका छन् । ११ जनामध्ये ९ जना फरार छन् ।

तपाईको प्रतिक्रिया