पोखरामा जुट्दैछन् देशभरका कांग्रेस कोषाध्यक्ष

समाधान संवाददाता २०७५ चैत ६ गते १०:०८

समाधान सम्वाददाता

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । नेपा ली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा सोमबार पत्रकार भेटघाट गरी चैत २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनको उद्घाटन सत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटन सत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

Advertisement

‘कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पार्टीलाई चलायमान र सुदृढ बनाउनका लागि हो’, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले भने, ‘यसले पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन सहयोग गर्नेछ ।’ उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्का भएर अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे ।

सम्मेलनले विदेश पलायन भएका युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ । सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रलाई आग्रहसमेत गर्ने छ ।

Advertisement

‘पार्टीभित्रको एकतासँगै सरकारका गतिविधिप्रति पनि खबरदारी गरिनेछ’, समितिकी महासचिव लक्ष्मी पाण्डेले भनिन्, ‘सम्मेलन पार्टीलाई व्यवस्थित बनाउन र सरकारलाई खबरदारी गर्न सफल हुनेछ ।’ कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष बाबुकृष्ण सापकोटा, कोषाध्यक्ष रेशम गुरुङ, वरिष्ठ सदस्य महेन्द्र थिङ र नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले बोलेका थिए ।

नेपाली कांग्रेस कास्कीको सोमबारको बैठकले सम्मेलनलाई सहयोग गर्नका लागि विभिन्न समिति गठन गरेको छ । बैठकले देवेन्द्र रानाभाटको संयोजकत्वमा मञ्च व्यवस्थापन, लक्ष्मी पाण्डेको संयोजकत्वमा अर्थ व्यवस्थापन, नवीन सिग्देलको संयोजकत्वमा प्रचारप्रसार, ओमप्रकाश गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, केवल गिरीको संयोजकत्वमा भोजन व्यवस्थापन र लक्ष्मण पहारीको संयोजकत्वमा आवस व्यवस्थापन समिति गठन गरेको हो ।

नेपाली कांग्रेस कास्कीको सोमबार भएको बैठकले कास्कीका ७२ वटै इकाइमा साधारण सदस्यता वितरण तथा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियान सञ्चालनका लागि पार्टी पदाधिकारी र क्षेत्रीय सभापतिको संयुक्त बैठकले अनुगमन टोली गठन गर्ने छ ।

तपाईको प्रतिक्रिया