तनहुँमा ८ महिनामा ६ हजारले लिए नागरिकता

कृष्ण न्यौपाने
दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०७५-०७६ मा ६ हजारभन्दा बढी नागरिकता वितरण गरेको छ । कार्यालयले साउनदेखि फागुनसम्म ६ हजार ६ सय २४ नागरिकता वितरण गरेको जनाएको छ ।
वंशजको आधारमा ६ हजार ६ सय १२, वैवाहिक अंगीकृतको आधारमा १२ वटा नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनका अनुसार यस अवधिमा ४ हजार ४८ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । शर्माका अनुसार ३ जनाले नागरिकता परित्याग गरेका छन् भने नाबालक परिचयपत्र २ सय १६ वटा वितरण गरिएको छ ।
कार्यालयले सोही अवधिमा जिल्लाबाट ४ हजार ४ सय ४१ राहदानीका लागि सिफारिस गरेको छ भने १ हजार ५ सय ७८ राहदानी दु्रत सेवाका लागि सिफारिस भएको छ । यस अवधिमा जिल्लाबाट ३ हजार ३ सय ८३ राहदानी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
यस अवधिमा २४ जना विपद्बाट पीडित भएकोमा विपद् पीडितलाई ४ लाख ६० हजार राहत वितरण गरिएको छ ।
यस अवधिमा दर्ता भएका ६३ र गत आर्थिक वर्षका समेत गरी ८४ मुद्दा फछ्र्यौट भएको छ । प्रजिअ शर्माका अनुसार ७ सय ७८ लाई आदिवासी जनजाति प्रमाणित, ३ सय ३४ लाई दलित प्रमाणित, २ हजार ६ सय ४१ लाई पेन्सन सिफारिस गरिएको छ । ८ महिनाको अवधिमा १ सय १ संस्था दर्ता भएका छन् भने ६ सय ४१ संस्था नवीकरण भएको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ९१ हातहतियार नवीकरण भएको र ५ हतियार नामसारी भएका छन् । कार्यालयमा निवेदनमार्फत् दर्ता भएका ५० गुनासा फछ्र्यौट भएका छन् भने हेलो सरकारमार्फत् ७ गुनासा फछ्र्यौट भएका छन् ।
२ करोड ६६ लाख राजस्व संकलन
चालु आर्थिक वर्षको यस अवधिमा २ करोड ६६ लाख ११ हजार १ सय १९ राजस्व संकलन भएको छ । संस्था दर्ता, हातहतियार नवीकरण, राहदानी दस्तुर, प्रशासनिक दण्ड जरिवाना, न्यायिक दण्ड जरिवाना, परीक्षा दस्तुर र बेरुजु असुलीबाट उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
संस्था दर्ताबाट ८ लाख ८३ हजार २ सय ८०, हातहतियार नवीकरणबाट ५९ हजार १ सय ४५, राहदानी दस्तुरबाट २ करोड ३१ लाख ३० हजार ५ सय, न्यायिक दण्ड जरिवानाबाट २३ लाख ४४ हजार १ सय ७१, परीक्षा दस्तुरबाट १ लाख ३९ हजार ६ सय र बेरुजु असुलीबाट २४ हजार ४ सय २३ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया