क्षमता अभिवृद्धि र पोषणसम्बन्धी तालिम

समाधान संवाददाता २०७५ चैत ६ गते १३:४९

समाधान संवाददाता
वालिङ

वालिङ नगरपालिका वडा नं १ ले बच्चाको बाल मृत्युदर घटाउन योजना अघि बढाएको छ । वडाले महिला लक्षित कार्यक्रम अन्तर्गत सुनौला १ हजार दिनका आमा र बच्चालाई स्वास्थ्य क्षमता अभिवृद्धि र पोषणसम्बन्धी तालिमसँगै अण्डा वितरण गरेको हो । अहिले नियमित गर्भ जाँच्ने, आइरन चक्की नियमित सेवन गर्ने, आमा र बच्चाको स्वास्थ्यमा सरोकार राख्ने व्यावहारिक परिवर्तन आमाहरुमा देखिएको छ ।

कार्यक्रम अन्तर्गत वडाभित्रका १ सय ८० जना महिलालाई १÷१ क्यारेट अण्डा उपहार प्रदान गर्दै घरमै प्रशस्त पाइने खाद्य वस्तुबाट पौष्टिक आहार बनाउने अभियानले वडाभित्रका आमा र बच्चा लाभान्वित भएको वडा अध्यक्ष केदार काफ्लेले बताए ।

Advertisement

महिला र बच्चाको स्वास्थ्यसँग जोडिएको यो अभियान नगरपालिकाकै पहिलो भएको उनको भनाइ छ । उनले भने, ‘कोही आर्थिक कमजोरीका कारण कोही चेतनका कारण पौष्टिक आहारबाट बञ्चित छन्, उनीहरुलाई लक्षित गर्दै आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन यो कार्यक्रम गरिएको हो ।’

मातृ तथा शिशु स्याहारसम्बन्धी तालिमसँगै सुत्केरी अवस्थामा पोषणयुक्त खानाको जानकारी दिँदै घरयासी खाद्यवस्तुबाट पौष्टिक आहार बनाउन प्रशिक्षणसमेत दिइएको थियोे । महिला तथा बालबालिकाको क्षमता वृद्धि गराउने कार्यक्रम घरकै दैलौमा आँउदा सहभागी खुसी देखिन्छन् ।

Advertisement

गाउँ घर तथा करेसाबारीमा सहज उपलब्ध हुने गाजर, फर्सीको हलुवा, मकै, भट्टमास लगायतका गेडागुडीबाट लिटो, सातु जस्ता आहार घरमै बनाउने विधि सिक्न पाउँदा देवी कोइराला निकै हर्षित बनिन् । उनी भन्छिन्,‘ घरमै भएको चिज सदुपयोग गर्न नजानेर बजारका बासी, रसायनयुक्त वस्तुको सेवन गरेका रहेछौँ । माछा मासुमा पाइने जस्तै पौष्टिक आहार घरमै बनाउन सकिँदो रहेछ ।’

कार्यक्रममा नगरप्रमुख दिलीपप्रताप खाँडले सुनौलो १ हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै वडाले सुरु गरेको कार्य प्रशंसनीय भएको बताए । हरेक बार खाना ४ भन्ने नारालाई सार्थकता दिन घरमै पाइने फर्सी, गाजर, पीठोबाट पौष्टिक तत्वयुक्त खाना बनाउने विधि व्यवहारमा उतार्न उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया