फागु पूर्णिमा र तोरन्ल

समाधान संवाददाता २०७५ चैत ६ गते १४:००

फागु पूर्णिमाको रौनक रङहरुमा भेटिन्छ । सदभाव र मित्रताहरु भेटिन्छ । जसै प्रकृति रंगीन छ, जीवन रंगीन बनाउने, सम्बन्धहरु रंगीन बनाउने पर्व हो फागु पूर्णिमा । नेपाल र भारतमा यो पर्व मनाइन्छ । पौराणिक कहानी त जुनसुकै पर्वहरुमा पनि जोडिएका छन्, फागुमा पनि जोडिएको छ । भगवान् विष्णुका भक्त प्रल्हाद र उनकी फूपू होलिकाको कथासँग जोडेर फागुलाई होली पनि भनिन्छ । आफू आगोमा बसेर भतिज प्रल्हादलाई जलाउन खोज्दा होलिका आफैं जलेको प्रसंग पुराणहरुमा छ । होलिका भष्म भइन्, तर भगवान भक्त प्रल्हाद भएनन् भनेर उत्सव मनाउने चलन छ ।

हरेक पर्व उत्सवमय हुन्छन् । फागु पनि छ । तर पछिल्लो समय यसमा अनेक विकृति देखा परेका छन् । राज्य नै ती विकृतिका विरुद्ध उत्रनुपर्ने अवस्था छ । जोपायो त्यसैलाई रङ छ्याप्ने र दुख दिने प्रवृत्ति रोक्न प्रहरी परिचालित हुन्छ । यो भने दुखद पक्ष हो । पर्व सबैले मनाउनै पर्छ भन्ने हुँदैन । मन नलाग्नेलाई नमनाउने छुट हुन्छ । जबरजस्ती रङ र लोला हान्दा मित्रता र सद्भाव होइन वैमनश्यता बढ्छ । पर्वको गरिमा घट्छ । रंगीन पर्वको छवि धुमिल होइजान्छ ।

फागु पूर्णिकाकै दिन नेपालको एउटा जाति थकालीले तोरन्ल पर्व मनाउँछ । मूलत मुस्ताङ थातथलो भएको यो जातिका सदस्य अचेल देशैभरि छन् । बढी त काठमाडौंमा छन् । पोखरामा छन् । बुटवल, भैरहवातिर छन् । काठमाडौं र पोखराका थकाली समाज घरहरुतिर फागु पूर्णिमा आउनु केही दिनअघि देखि नै यो पर्वको रौनक सुरु भइसकेको थियो । धनुष वाणको खेल चलिसकेको थियो । नाकाभोटी अर्थात कौडी र गट्टा खेलमा रमाइलो थालिसकिएको थियो । मुख्य त पुरुषहरु धनुष वाणमा रमाउँछन् । महिलाहरु कौडीमा । गट्टामा ।

Advertisement

तोरन्लमा पितृपूजा हुन्छ । पितृपूजा नेपाली जातिमा मौलिक संस्कार छ । आफ्ना पूर्वजहरुप्रतिको श्रद्धा पितृपूजा हो । पूर्वजहरुले हामीलाई भाषा, संस्कृति, शिक्षामात्रै दिएका छन् । थुप्रै आविष्कार दिएका छन् । भौतिक पूर्वाधार दिएका छन् । उनीहरुले उपलब्ध गराएका तिनै ‘सम्पत्ति’ बाट यो पुस्ताको जीवन सहज भएको छ । त्यसैले पितृपूजाको संस्कार सुसंस्कार प्रतीत हुन्छ । यस्ता थुप्रै संस्कारलाई जोगाउने र कतिपय विकृतिलाई अन्त्य गर्दै हाम्रा मौलिक पर्वहरुको जर्गेना गर्नुपर्छ । नेपालभित्र बस्ने जुनसुकै जातिका पर्व पनि सबैका साझा हुन् । सबैका गौरव हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया