अशान्ति मच्चाएकाले विप्लव समूह प्रतिबन्ध- मुख्यमन्त्री

समाधान संवाददाता २०७५ चैत ७ गते ८:०१

सुरेशराज अधिकरी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेत्रविक्रम चन्द विप्लव नेतृत्व समूहले सरकारी बजेटबाट चन्दा मागेको बताएका छन् । पोखरामा बुधबार आयोजित १ कार्यक्रममा उनले भने, ‘जिल्लाका सरकारी हाकिमहरु बस्न सक्दिन भन्न थालिसके, उनीहरुसँग विप्लव समूहले बजेटको ५ प्रतिशत चन्दा मागेको छ ।’

चन्दा आतंक र अशान्ति मच्चाएकै कारण सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको मुख्यमन्त्रीको भनाइ थियो । स्वतन्त्र पत्रकार संघको कार्यक्रममा पत्रकार भैरव रिसाललाई सामाजिक पत्रकारिता पुरस्कार अर्पण गरेपछि मुख्यमन्त्री गुरुङले उक्त भनाइ राखेका थिए ।

Advertisement

‘साउनमा हुनुपर्ने काम पुसमा सुरु भएको छ,’ उनले भने, ‘त्यसमा यसरी विकासमा बाधा आए ढिलो विकास हुन्छ ।’ गण्डकी प्रदेशमा मात्र नभई नेपालमा विभिन्न जिल्लामा विकासका विभिन्न योजनामा रकम माग्दै आएका कारण विप्लव समूहलाई प्रतिबन्ध लगाएको उनले बताए । उनले भने, ‘वार्तामा नआएकाले प्रतिबन्ध लागेको हो ।’

सीके राउतलाई राजनीतिक मूलधारमा ल्याउन सरकार सफल भएको मुख्यमन्त्री गुरुङले बताए । उनले भने, ‘संविधान मानेर आएकालाई विवादमा ल्याउनुपर्ने छैन ।’

Advertisement

त्यसअघि मुख्यमन्त्री गुरुङले पत्रकार भैरव रिसाल २५ हजार रुपैयाँ नगद, सम्मानपत्रसहितको पुरस्कार अर्पण गरे । रिसालले नेपालमा प्रगति भएको तर अपेक्षा गरे जति नभएको अनुभव बाँडे । उनले भने, ‘म २०११ सालमा पोखरा आएको, रातोमाटो भएको पिँढीमा सुतेको मान्छे हुँ । त्यति बेला सिमेन्ट आइसकेको थिएन ।’

स्वतन्त्र पत्रकार संघले सञ्चालन गर्ने गरी लीलाभक्त आचार्यले ५ लाख रुपैयाँको अक्षयकोष पुरस्कारका लागि खडा गरेका हुन् । नारायण कार्की संयोजकत्वको प्रतिभा छनोट समितिले रिसाललाई पुरस्कारका लागि छनोट गरेको थियो । संघको आठौं वार्षिकोत्सवकै अवसरमा आयोजित उक्त समारोहमा धरानकी पत्रकार मनीता चाम्लिङ राईलाई समेत पुरस्कृत गरिएको थियो ।

संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार केशवराज पराजुली, कांग्रेस नेता सोभियतबहादुर अधिकारी, पुरस्कार संस्थापक लीलाभक्त आचार्य, पत्रकार दुर्गा अधिकारीले भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया