चिउली पाचे तमु समाजको महायज्ञ सुरु

समाधान संवाददाता २०७५ चैत ७ गते ८:०६

समाधान संवाददाता

चिउली पाचे तमु समाजको आयोजनामा बुधबारदेखि श्रीमद्भागवत् महापुराण ज्ञान महायज्ञ सुरु भएको छ । पोखरा १२ चापापानीस्थित समाजको समाजघरमा सुरु महायज्ञ चैत १२ गतेसम्म चल्नेछ । महायज्ञका प्रमुख वाचक भागवताचार्य युवा सन्त रोहितराज महाराज (गुरुङ) छन् ।

महायज्ञ उद्घाटन अघि महायज्ञस्थलबाट सुरु भएको शोभायात्रा पुरानोधारा, माटेपानी, शीतलादेवी मन्दिर हुँदै महायज्ञस्थल पुगेको थियो । महायज्ञमा कथावाचनसहित दैनिक पूजा, भागवत् आरती, प्रसाद वितरण, लक्ष्यवर्ती प्रज्ज्वलन, पूर्णवर्ती हुने महायज्ञ मूलआयोजक समिति संयोजक कमानसिंह गुरुङले जानकारी दिए ।

Advertisement

महायज्ञ सुरु हुनुपूर्व दान गरेका समाजका सदस्य एवं महायज्ञ सल्लाहकार समाजसेवी गमबहादुर गुरुङ र तिलकुमारी गुरुङ लगायतलाई सम्मान गरिएको थियो । पोखरा २७ डाँडाकोनाक निवासी गुरुङ दम्पती र उनको परिवारले महायज्ञ पूर्व नै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दान गरी पहिलो दाता बने ।

पोखरा १२ माटेपानी निवासी महायज्ञ मूलआयोजक समिति संयोजक कमानसिंह गुरुङ र श्रीमती पदमशोभा गुरुङ परिवारले १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ दान गरेका छन् ।

Advertisement

जनजाति महासंघ पोखरा नगर कमिटी अध्यक्षसमेत रहेका पोखरा २९ भण्डारढिक निवासी जंगबहादुर गुरुङ र गोपीमाया गुरुङले १ लाख ११ हजार १ सय ११ र पोखरा ११ फूलबारी निवासी तेजबहादुर गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान दिए । उनीहरुलाई महायज्ञका प्रमुख वाचक रोहितराज महाराज (गुरुङ) ले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका हुन् ।

चिउली पाचे तमु समाजले पहिलोचोटि आयोजना गरेको सो महायज्ञ सफल पार्न सबै जनाको यस्तै सहयोग आवश्यक रहेका महायज्ञका सल्लाहकार मोती गिरीले बताए । पितृउद्धार साथै चौतर्फी विकासका लागि आयोजित महायज्ञमा भागवत् श्रवण गर्नेको उपस्थिति थियो । सिक्किम निवासी प्रमुख वाचक रोहितराजले संगीतमय शैलीमा महायज्ञको कथा वाचन गरेका छन् ।

समाजका ज्येष्ठ सदस्य ९० वर्षीय तेजबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता चिउली पाचे तमु समाजका अध्यक्ष रणबहादुर गुरुङले गरेका थिए । कार्यक्रम सञ्चालन महायज्ञ सल्लाहकार मोती गिरी र सञ्चारकर्मी देवीजंग गुरुङ तथा स्वागत मुलआयोजक समिति संयोजक संयोजक कमानसिंह गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया