दिल्ली क्यापिटल्सको पहिलाे ११ मा नेपाली ठिटाे सन्दिप

समाधान संवाददाता २०७५ चैत ७ गते १२:४९

पूर्व अष्ट्रेलियन क्रिकेटर तथा वर्तमान क्रिकेट विश्लेषक ब्र्याड हजले नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने दिल्ली क्यापिटल्सको एक्स-फ्याक्टर खेलाडी रहेको बताएका छन् ।

प्रख्यात क्रिकेट साइट, इएसपिएन क्रिकिन्फोसंगको एक कार्यक्रमका दौरान हजले सन्दिपको तारिफ गर्दै यस सिजन दिल्लीका लागि सन्दिपले राम्रो नतिजा निकाल्न महत्वपूर्ण योगदान दिन सक्ने समेत बताए । दिल्ली क्यापिटल्स टोलीको विश्लेषणका क्रममा हजले सन्दिपलाई आफ्नो दिल्ली क्यापिटल्सको सुरुवाती-११ मा समेत स्थान दिए ।

मार्च २३ शनिवार देखि सुरु हुँदैछ आईपीएलमा सन्दिपको टिम दिल्ली क्यापिटल्सले मार्च २४ तारिकमा मुम्बई इन्डीएन्स बिरुद्ध पहिलो खेल खेल्दैछ । प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको विजेता धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ ।

Advertisement

अष्ट्रेलियन टोलीका लागि ६ टेस्ट, २५ एक दिवसीय र १५ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका हजसंग आइपिएल क्रिकेटको समेत प्रसस्त अनुभव रहेको छ । कोलकत्ता नाइट राइडर्सका लागि खेलाडीका रुपमा आइपिएल खेलका ब्र्याडले प्रशिक्षकको रुपमा गुजरात लायन्स र किंग्स ११ पन्जाबसंग लामो समय बिताएका छन् ।

अन्तिम सिजनमा खेलेका ३ खेल र भर्खरै सम्पन्न बिग ब्यास लिगमा गरेको प्रदर्शनको तारिफ गर्दै हजले सन्दिप क्षमतावान रहेको धारणा राखेका थिए।

Advertisement

हज भन्छन् “मैले दिल्लीको एक्स-फ्याक्टर खेलाडीको रुपमा सन्दिप लामिछानेलाई लिएको छु । एक स्पिनरका रुपमा सन्दिपसंग टर्न् र बाउन्स राम्रो रहेको छ । उनको गुग्ली समेत सटिक छ । मैले उनलाई अष्ट्रेलियामा बिग ब्यासका दौरान बलिंग गरेको हेर्ने मौका पाएको थिए ।”

दिल्लीको टोलीमा सन्दिपको भूमिका ठूलो रहने र उनीबाट ठूलाे आशा रहेकाे समेत हजले बताए । सोहि कार्यक्रममा ब्र्याड हजसंगै पूर्व भारतीय खेलाडी अजित अग्रखरले समेत सन्दिपको तारिफ गरेका थिए । अजित र ब्र्याड दुबैले सन्दिपलाई आफुले छनोट गरेको दिल्लीको पहिलो ११ मा समेत मौका दिए ।

सन्दिपको टि-२० करियरमा कोशेढुंगा साबित भएको आइपिएलको अघिल्लो सिजन यता सन्दिपले विश्वभरका टि-२० लिगको स्वाद चाखिसकेका छन् । पछिल्लो बर्षको आइपिएल पछी संचालन भएका टि-२० लिगहरुमा दक्षिण अफ्रिकाको घरेलु टि-२० लिग र भाइटालिटि टि-२० ब्लास्ट ( इंग्ल्याण्ड ) बाहेक अन्य सबै प्रतियोगितामा सन्दिप सहभागी हुँदै आएका छन् ।

क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास, टि-१० लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायतका चर्चित टि-२० र टि-१० लिगहरुमा सन्दिपको प्रदर्शन समेत सन्तोषजनक रहँदै आएको छ । ३६ टि-२० खेलको अनुभव बटुलीसकेका सन्दिपले ६.८० को उत्कृस्ट इकोनोमीमा ४५ विकेट हात पारिसकेका छन् ।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन् । आइपिएल यता सन्दिपले क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल मात्र ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल मात्र ), बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका छन् ।

यी सबै अनुभवको बलमा यस सिजन दिल्लीले सन्दिपलाई धेरै खेलमा मौका दिने अपेक्षा गरिएको छ । यद्यपी टोलीमा अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी भारतीय स्पिनर रहेकाले सन्दिपले अन्तिम ११ मा स्थान बनाउन सजिलो भने रहनेछैन ।

तपाईको प्रतिक्रिया