एचआइभी संक्रमित बिरामी उपचारका लागि डाक्टर पञ्छिए

समाधान संवाददाता २०७५ चैत ७ गते १३:४७

समाधान संवाददाता, बुटवल

एक साता अघि दाँतको उपचारका लागि अस्पताल पुगेका एक बालकलाई चिकित्सकले थप्पड हानेको घटना सेलाउन नपाउँदै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पुनः एक बिरामीको उपचारमा चिकित्सकले आनाकानी गरेको घटना बाहिर आएको हो ।

उपचारको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आएका एक युवाले आफू एचआइभी संक्रमित भएको कारण चिकित्सकले उपचार नगरेको बताएका छन् ।अर्घाखाँची पाणिनी गाउँपालिकाका २३ वर्षीय उनी शरीरको पछाडिपट्टिको भागमा पिलो आएपछि उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका थिए ।पिलोको उपचारका लागि बुटवल आएका २३ वर्षीय एक युवालाई आफू एचआइभी संक्रमित भएकै कारण चिकित्सकले उपचारमा आनाकानी गरेको बताए ।

Advertisement

मंगलबार दिउँसो अस्पताल आएका युवाको चेकजाँचपछि चिकित्सकले पिलोको अपरेशन गर्नुपर्ने भए पनि आफूहरू अपरेशन गर्न असमर्थ भएको भन्दै पन्छिएको बिरामीका दाजुले गुनासो गरे । ‘चिकित्सकले भाइलाई हेरे पनि बरु हाम्रो जागिर जाओस् तपाईंको बिरामीको उपचार गर्न सक्दैनौं, अटेर नगर्नुस् भन्दै पञ्छिनुभयो,’ उनले भने।

‘सरकारी अस्पताल आएर पनि के हामी गरिबको, एचआइभी संक्रमितको उपचार नै नहुने हो?’ उनले प्रश्न गरे । उनले सरकारी सेवासुविधा लिएका चिकित्सकले बिरामीमाथि खेलवाड गरेको बताए ।

Advertisement

लामो समय भारतमा बस्दै आएका उनी ३ हप्ता अघि मात्र घर फर्किएका थिए । भारतमै बिरामी भएर घर आएका उनलाई २ हप्ता अघि उपचारको लागि चेकजाँच गर्दा एचआइभी संक्रमित भएको पुष्टि भएको थियो । टिबीको शंका लागेपछि परिवारले उनलाई पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा लगेका थिए ।

उक्त अस्पतालले प्रादेशिक अस्पतालमा ‘रेफर’ गरेपछि परिवारले उनलाई बुटवल ल्याएको थियो । मंगलबार दिउँसो अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिए पनि पिलोको अपरेशन गर्न चिकित्सकले आनाकानी गरेपछि रातभर अस्पतालको बेडमा त्यत्तिकै पल्टिएका थिए ।

चिकित्सकले पिलोको अपरेशन नगरे पनि मंगलबार राति नै पिलो आफैं फुटिसकेको बिरामी युवाले बताए। अस्पताल भर्ना भएपछि उनको चेकजाँच गरेका डा. भुवन पौडेल र डा. सरद पोखरेलले राति नै पिलो फुटे पनि उपचार नगरेको बताइएको छ।

इमरजेन्सीमा रहेका चिकित्सक तथा अरु स्वास्थ्यकर्मीले राति फुटेको पिलोको ड्रेसिङ समेत बुधवार बिहानसम्म नगरेपछि अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. कृष्ण खनाल स्वयं आफैंले बिरामीको ड्रेसिङ गरेका थिए । डा. खनालले कतिपय पिलोको उपचार समेत सिनियर चिकित्सकले गर्नुपर्ने भए पनि यो केशमा भने त्यस्तो जटिल नदेखिएको बताए ।

उनले एचआइभी संक्रमित कतिपय गर्भवती महिलाहरूको डेलिभरी लगायत अरु संक्रमितको पनि यहीबाट उपचार भइरहेकोले संक्रमित भएकै कारण अपरेशन भएन भन्नु गलत भएको बताए । यता अस्पतालका अरु सेवाग्राहीले एचआइभी संक्रमित भएकै कारण अस्पतालले उपचार नगर्नु अस्पताल प्रशासनको समेत कमजोरी भएको बताउँछन् ।

तपाईको प्रतिक्रिया