आदिकवि क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण गर्न १लाख अमेरिकी डलर सहयाेग

समाधान संवाददाता २०७५ चैत ८ गते ११:२४

समाधान संवाददाता
दमौली

तनहुँको व्यास १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशाला भवन बनाउन लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले १ लाख अमेरिकी डलर सहयोग गरेको छ । क्याम्पसमा विज्ञान विषय पढाइका लागि प्रयोगशाला भवन आवश्यक भएपछि फाउन्डेसनले सहयोग गरेको हो ।

भवनको बुधबार लायन्स क्लब अफ नेपाल ३२५ बि १ का डिस्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठले उद्घाटन गरे । उनले क्याम्पसबाट विज्ञान प्रयोगशाला भवनको माग भएपछि फाउन्डसनमार्फत् सहयोग गरिएको बताए । लायन्सको सहयोगबाट मात्रै भवन निर्माण सम्पन्न नहुने भएकाले स्थानीयवासीको समेत सहयोग हुनुपर्ने उनले बताए ।

Advertisement

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्याम्पसको पूर्वाधार निर्माणमा नगरपालिकाको सधै सहयोग रहने प्रतिबद्धता गरे । क्याम्पस सञ्चालक समिति अध्यक्ष रामचन्द्र बस्नेतले गुणस्तरीय शिक्षा प्रदानका लागि प्रयोगशाला भवनले सहयोग पुग्ने बताए । उनले भने, ‘विज्ञान विषयको अत्यधिक माग भएकाले प्रयोगशाला भवनकको आवश्यकता खड्किएको थियो । लायन्स क्लवले सहयोग गरेर ठूलो गुन लगाएको छ ।’ २ करोड ४० लाख लगानीमा निर्माण हुने भवनका लागि अपुग रकम स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग माग गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

भवन निर्माणका लागि क्याम्पसको तर्फबाट १ करोड ३२ लाख लागत सहभागिता रहनेछ । जसमध्ये क्याम्पसले ४६ लाख जम्मा गरिसकेको छ भने बाँकी ८६ लाख अपुग छ । हड्खलेले भने, ‘बाँकी रकम जुटाउन क्याम्पसलाई चुनौती छ । तर पनि सहयोग रकम जुटाउन क्याम्पस सफल हुने विश्वास लिएका छौं ।’

Advertisement

२०४४ सालमा स्थापित क्याम्पसमा २ हजार ५ सयभन्दा बढी विद्यार्थी छन् । जसमध्ये विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी ४ सय छन् । हड्खलेका अनुसार उनीहरुमध्ये ७० प्रतिशत जनजाति र १८ प्रतिशत दलित छन् भने छात्राको संख्या ८० प्रतिशत छ । १ हजार ७ सय वर्ग मिटरमा फैलने भवन ४ तलाको हुनेछ । २०७६ फागुनसम्म भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यसअघि लायन्स क्लबले क्याम्पसको भवन निर्माणका लागि समेत ५० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ । नेपालको स्वास्थ्य, शिक्षा र अपांगताको क्षेत्रमा सहयोग गर्दै आएको लायन्सले यसअघि व्यास नगरपालिका १२ घाँसीकुवास्थित अमरज्योति माध्यमिक विद्यालयमा समेत २ करोड ५० लाख सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया