श्रम स्वीकृतिले बढायो रेमिट्यान्स

समाधान संवाददाता २०७५ चैत ८ गते १३:४४

समाधान संवाददाता
पोखरा

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह १ महिनामै ७७ अर्बभन्दा धेरैले बढेको छ । पुनश्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि रेमिट्यान्स आप्रवाह बढेको हो ।
चालु आर्थिक वर्षको माघसम्ममा रेमिट्यान्स आप्रवाह ५ सय १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो रेमिट्यान्स पुसको तुलनामा ७७ अर्ब १९ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षको पुससम्ममा ४ सय ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको रेमिट्यान्स प्रवाह गत आवको सोही अवधिको तुलनामा १ खर्ब १४ अर्ब २० करोड रुपैयाँ अर्थात २८.५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सात महिनामा ४०१ अर्ब ३५ करोड रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स आप्रवाह १.७ प्रतिशतले मात्र बढेको हो ।

Advertisement

चालु आर्थिक वर्षको माघसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा चालु खाता घाटा विस्तार भई १ सय ६६ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४२ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सात महिनामा १ अर्ब ३८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ४६ करोड पुगेको छ ।

Advertisement

चालु आर्थिक वर्षको माघसम्ममा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब २८ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा १७ करोड ९१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ४३ करोड ३० लाखले घाटामा छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३४ करोड रुपैयाँ थियो । चालु आवको ७ महिनासम्ममा १० अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ माघ मसान्तमा ९ अर्ब ४९ करोड छ ।

यो सञ्चितीले आर्थिक वर्ष २०७५÷७६ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । तर, २०७५ माघ मसान्तमा केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा १ सय ७९ अर्ब ७५ करोड रुपैयाँ मौज्दात छ ।

तपाईको प्रतिक्रिया