होर्डिङबोर्ड र पोखरा

समाधान संवाददाता २०७५ चैत ८ गते १४:०७

भारतका सीमावर्ती सहरमा पुग्दा हामीलाई अचम्म लाग्छ । कच्चीपक्की सबै घरका भित्ता रंगिएका हुन्छन् विज्ञापनले । ती विज्ञापन कति भरपर्दा हुन् र विज्ञापनले कति असर पार्छ भन्ने पक्ष फरक पाटो हो । तर सुन्दर घरलाई भद्धा विज्ञापनले भने कुरुप बनाएको प्रष्ट हुन्छ ।

नेपालका सहरको अवस्था पनि उस्तै छ । विज्ञापनको नाममा जहाँजहिं रंग्याउने, घरका छतहरुमा होर्डिङ बोर्ड टाँस्ने । केही वर्ष पहिला काठमाडौंको थापाथली पुल नजिकै राखिएको होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भनेर निकै गुनासो आयोे । नाम चलेको भोड्काको बोत्तल समाएर उभिएकी चर्चित हिरोइनको तस्बिर त्यहाँ राखिएको थियो । भोड्काको बोत्तलभन्दा पनि हिरोइनको शरीरका कामुक अंगमा चालकको ध्यान खिच्दा दुर्घटना त हुने नै भयो ।

अहिले पोखरामा पनि होर्डिङ बोर्डले बजार तताएको छ । पोखरा महानगरपालिकाले फ्लेक्स र मेटलका होर्डिङ बोर्ड हटाउने अभियान थालेको छ । सार्वजनिक, निजी, साझेदारी मोडल अनुसार महानगरले पोखरा उद्योग वाणिज्य संघलाई यस्ता बोर्डको ठेक्का दिएको थियो ।

Advertisement

आम्दानीका स्रोत क्रमस साँघुरिँदै गएपछि संघले होर्डिङ बोर्डतिर चासो दिएको थियो । तर त्यसको व्यवस्थापन आफैले गर्न सक्ने अवस्था नरहेकाले विराटनगरको आकृति एडभरटाइजिङलाई उसले ठेक्का दियो । आकृतिले अर्को कम्पनी छायाँ एड्भरटाइजिङ र छायाँले पोखराकै परिचय एड्भरटाइजिङलाई कामको जिम्मा दियो ।

महानगरले पोखरा उवासंघ सँगको सम्झौता रद्ध गरेपछि त्यसपछिका ३ कम्पनीले अहिले आफूहरु मर्कामा परेको गुनासो गरिरहेका छन् । महानगरले गर्नुपर्ने थुप्रै काम बाँकी रहेकै अवस्थामा सिमित कर्मचारी र उनीहरु नजिकका व्यक्तिको प्रभावमा परेर यो निर्णय गरिएको आरोप लागेको छ । पुराना र भद्धा होर्डिङबोर्ड हटाएर चुस्त आकारका डिजिटल बोर्डहरु राख्ने योजना महानगरले सुनाएको छ ।

Advertisement

सफा, सुन्दर र व्यवस्थित सहर बनाउन हामी सबैको दायित्व हो । पोखरा महानगरले यसतर्फ चालेको कदम सकारात्मक नै हो । तर के महानगरले भनेजस्तै गरी काम हुन सक्ला त भन्नेमा प्रश्न उब्जेको छ । पोखराका चोकहरु साँघुरा भएकै कारण सालिक हटाउने, पालिखेचोकका घर भत्काउने सम्मका काम महानगरले गरेकै हौ । त सुरु गरेका काम टुंगोमा नपुर्‍याउँदै काम रोकिने गरिनेकाले पत्याइहाल्ने अवस्था पनि छैन ।

बिजुलीका पोलमा गुजमुटिएका तार हटाउने काम महानगरले थाल्दा महानगरवासी खुसी भएका थिए । फिर्के खोलाको मापदण्ड कायम गर्ने भनेर थालिएको सीमाकंनले पनि पूर्णता पाएको छैन । बिना तयार काम थाल्ने तर टुंगोमा नपुग्ने महानगरको विशेषता नै बनेको छ । १ वर्ष अघि नै पोखरामा बनाइएका सोलारजडित प्रतीक्षालय केबल नमुना बनेका छन् ।

महानगरको खर्च जोगाउने नाममा कम्पनीहरुको जिम्मामा यस्ता काम सुम्पिँदा आशा अनुसारको परिणाम आउन सक्दैन । पानी पर्दा नओत्ने र बस्ने पनि नमिल्ने प्रतीक्षालाय अहिले महानगरकै टाउको दुखाइ बनेको छ । पछिल्लो समयमा थालेको होर्डिङ बोर्ड व्यवस्थापन पनि यस्तो नहोस् । सबै पक्षलाई हित हुने गरी महानगर अगाडि बढोस्, शुभकामना ।

तपाईको प्रतिक्रिया