मुख्यमन्त्रीसँग समन्वय गर्न प्रधानमन्त्रीको ‘एक्सन रुम’

समाधान संवाददाता २०७५ चैत ९ गते ८:१८

सांकेतिक तस्विर

Advertisement

शरद शर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसँग समन्वय र राष्ट्रिय गौरवका आयोजनाको अवलोकनका लागि ‘एक्सन रुम’ बनाउन थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तल्लो तलामा एक्सन रुम बनाउन लागिएको हो ।

Advertisement

प्रधाामन्त्री ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न र ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नका लागि एक्सन रुम बनाउन थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

बोलपत्र आह्वान गरी शास्त्र नेटवर्क सोलुसनले उक्त रुम बनाउन थालेको हो । एक्सन रुममा बन्ने ‘टेलिप्रिजेन्ट’ प्रणालीमार्फत प्रधानमन्त्री ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष बैठक गर्न सक्ने उनले बताए । सातवटै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग बैठक गर्न मुख्यमन्त्रीको कार्यकक्षमा ‘भिडियो कन्फरेन्स’ बनाइनेछ ।

Advertisement

प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम र ७ वटै प्रदेशका मुख्य कार्यालयमा रहेको निर्माणमा हुने ‘भिडियो कन्फरेन्स’लाई एकापसमा नेटवर्किङ गरिनेछ । दुवैलाई एकापसमा नेटवर्किङमा जोडेपछि एक्सन रुपबाट प्रधामन्त्री र भिडियो कन्फरेन्स रुमबाट प्रदेश मुख्ममन्त्रीहरु आवश्यक परेको बेला बैठक बस्ने सक्नेछन् ।

‘प्रधानमन्त्री ओलीले ‘टेलिप्रिजेन्ट’को माध्यमबाट ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष बैठक गर्न सक्नुहुन्छ,’ उनले भने, ‘एक्सन रुम बनेपछि मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउनु पर्दैन ।’ उनका अनुसार प्रधानमन्त्री ओली र ७ वटै प्रदेशका मुख्यमन्त्रीबीच संघ र प्रदेश विषयमा छलफल गर्न सक्नेछन् ।

प्रधानमन्त्री कार्यालयमा एक्सन रुमबाट ७ वटै प्रदेश कार्यालयमा प्रदेश र संघबीच देखिएका समस्या समाधान गर्न सहज हुनेछ । ‘टेलिप्रिजेन्ट’बाट प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक र एकल बैठक बस्न सक्ने व्यवस्था गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताए । ‘भौतिक रुपमा प्रधानमन्त्री र मुख्यमन्त्रीसँगै नभए पनि वास्तविक जस्तै बैठक सञ्चालन हुनेछ,’ उनले भने, ‘प्रत्यक्ष रुपमा एकापसम कुरा गरे उहाँहरुबीच समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग एक्लाएक्लै वा सामूहिक बैठक बस्न सक्नुहुनेछ ।’

एक्सन रुपमा तीन वटा ५५ इन्चको टेलिभिजन, तीन वटा टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिनेछ । मुख्यमन्त्रीको कार्यालयमा बन्ने भिडियो कन्फरेन्स रुम एक वटा टेलिभिजन, क्यामेरा, माइक र कोडेक (डाटा ट्रान्सफर गर्ने) रहनेछ । एक्सन रुममा अगाडि छ र पछाडि ८ गरी १४ जना बस्न मिल्ने र भिडियो कन्फरेन्स रुममा ३ जनासम्म बसेर बैठक सञ्चालन गर्न सकिनेछ ।

प्रधानमन्त्री कार्यालयमा रहेको माइक सेन्सरजडित रहेको हुनेछ । उक्त सेन्सर जडित माइकले जो बैठकमा बोलिरहेको हुन्छ एक्सन रुममा रहेको टेलिभिजनमा सोही व्यक्तिलाई देखाउने छ । जसले गर्दा आपसमा संवाद गर्न सजिलो हुन्छ । यसैगरी उक्त एक्सन रुमबाट प्रधानमन्त्री ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजना, प्रधानमन्त्री निवास वालुवाटार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको समेत अवलोकन गर्न सक्नेछन् । राष्ट्रिय गौरव आयोजनास्थलमा आइपी क्यामेरा जडित रहेको हुन्छ । एक्सन रुमसँग आइपी क्यामेराको नेटवर्किङ गरिएको हुन्छ ।

उक्त क्यामेराको सहयोगमा आयोजनामा के भइरहेको छ भन्ने जानकारी प्रधानमन्त्री ओलीले एक्सन रुमबाट लिनुहुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताए । ‘एक्सन रुमबाट प्रधानमन्त्रीले आयोजनास्थलमा जडान गरिएको क्यामेराको सहयोगले कुन आयोजनाको के कस्तो प्रगति भइरहेको छ भन्ने जानकारी लिनसक्नुहुने छ,’ उनले भने, ‘आवश्यक परे प्रधानमन्त्रीले एक्सन रुमबाट भिडियो कन्फरेन्समार्फत नै आयोजना प्रमुखसँग आयोजनाको बारेमा कुरा गर्न सक्नुहुनेछ ।’

उनका अनुसार एक्सन रुमबाट प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाइभर्सन, राष्ट्रपति चुरे भावर संरक्षण, सिक्टा सिँचाइ आयोजना, रानी–जमरा सिँचाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्य–पहाडी पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग र काठमाडौँ–तराई दु्रतमार्ग अवलोकन गर्नुहुनेछ । ४ करोड ४८ लाखमा बन्ने उक्त एक्सन रुम २ महीनाभित्र बनिसक्ने प्रवक्ता कुँवरले जानकारी दिए । एक्सन रुममा सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयका प्राविधिक कर्मचारी रहनेछ ।

तपाईको प्रतिक्रिया