अतृप्त एउटा तृष्णा

समाधान संवाददाता २०७५ चैत ९ गते ९:१५

सपना गुरुङ

Advertisement

भाइ, खट्टावाला चाट मलाई !

सधैं झैं सोमबारे हाट लागेको थियो । हप्ताभरिलाई सब्जी किनमेलमा भ्याइनभ्याई थियो मलाई । मन्डीमा सब्जी पसलेसँग भाउमा बार्गेनिङ गरिरहेकी मलाई अकस्मात यो आवाजले स्तब्ध बनाइदियो । परिचित लाग्ने आवाज कानमा ठोक्किएपछि बार्गेनिङ छोडेर आवाज आएतिर नजर मोडें । छेउमै रहेको स्टलमा पानीपुरी र चाट खानेहरुको हुलमा एउटी युवती अर्डर गर्दै थिइन् । मलाई चिने झै लाग्यो अनि सर्सर्ती पाउदेखि शिरसम्म गौर गरें । टाइट जिन्स अनि फेसनेबल टिसर्टमा गोरी राम्री केटी स्टलवालले दिएको चाट खाँदै थिइन् । मेरो खुसीको सीमा नै रहेन । अनि चिच्याइहालें- बिनी ….!

Advertisement

साँच्चै ! उनी विनीता थिइन् । मेरो सानैदेखिको मिल्ने पुरानी सहेली । धेरैपछिको अन्तरालमा उनलाई देख्दा खुसीले पागल जस्तै भएँ । आफूलाई सम्हाल्न सकिनँ । अनि उनलाई अंगालो हाल्न पुगें- हे, भगवान ! मैले चिताएकी थिइनँ, कि तिमीलाई यसरी भेट्छु भनेर ।

साँच्चीकै म खुसीले बेकाबु भइरहेकी थिएँ । मैले यसरी अंगालो हालें उनलाई मानाैं उनी सर्वाधिक प्रिय हुन् जसलाई म कदापी अलग हुन दिने छैन । तर उनले मलाई एकै झट्कामा आफूबाट अलग गराइन् । अनि नचिनेजस्तो गरी तर्किन खोजिन् । उनको बेवास्ताले म असमन्जस्यमा परें । वाक्य फुटेन । बोल्नलाई एकैचोटि आएका वाक्यहरु अचानक घाँटीमै आएर रोकिए । एकतमासले उनका सकारात्मक प्रतिक्रियाको आशा राख्दै मेरा नयनहरु उनलाई घुर्न थाले । मौन उनी अनौठो पाराले मेरो हुलिया नियाल्दै थिइन् । अनि मैले पनि एकफेर आपूmलाई सम्पूर्ण गौर गरें- सुतीको धोती, ब्लाउज, सल, सिउँदोमा सिन्दुर ! अनि हातभरि टन्नै चुरा ! साथै रहेको मेरो ४ वर्षको छोरा । म सम्पूर्ण रुपले गृहिणी देखिएकी थिएँ । मलाई उपेक्षित नजरले घुर्नसम्म घुरेपछि उनका नयन मेरो छोरामाथि यसरी केन्द्रित थिए, मानौं उनका नजरले ‘को हो यो ?’ भनेर कडा प्रश्न तेस्र्याएको छ ।

Advertisement

बल्जफ्ती ओठहरु कप्कपाइ बोलें म, ‘मेरो बाबु सुदीप ।’ बाबु, आन्टीलाई दर्शन गर भनेर छोरालाई अह्र्याएँ । बाबुले पनि लोलेपोते आवाजमै बोल्यो, ‘नमत्ते आन्टी !’

यति हुँदासम्म पनि विनीता चुइँक्क नबोली हतारहतार चाटको पैसा तिरी त्यहाँबाट हिँडिन् । मेरो मन नराम्रोसित अमिलो भयो । एकतमासले भित्रभित्र दुखिरह्यो । आँसु आँखाको डिलबाट बिनाअनुमति बग्न थाल्यो । मनभित्र अनेकौं सवाल र जवाफले एकैचोटि भलाकुसारी सँगै युद्ध गर्न थाले । दिमागी हालत अचानक बिग्रेजस्तै भयो । यतिका वर्षसम्म मेरो मानसपटलमा विनीको कुनै अत्तोपत्तो थिएन । आज एक्कासि उनको भेटले मेरो दिमागमा यस्तो भूचल ल्याइदियो, सब उथलपुथल भइदियो । मेरो चैन बेचैनमा परिणत भइदियो । मेरो ध्यानदृष्टि, मगजमा उनी यसरी छाइन् कि लाग्यो- म पागल हुन्छु ।

घर आएको पत्तै भएन । घर पुगेपछि सिधै बेडमा पल्टिएँ । बिमार भएको महसुस भयो मलाई । तनावले होला, शरीर तातोले हन्हनी बलिरहेको थियो । खाना पनि खाइनँ । श्रीमान्ले ‘के भयो ?’ भनेर सोध्दा टाउको दुख्यो भनें ।

राति श्रीमान् सुतिसकेपछि फेसबुक खोल्न पुगें । आशा उही थियो उनी भेटिन्छ कि । विनीता प्रधान टाइप गरेर सर्च गरें । अहँ ! भेटिनँ । अनि बिनी प्रधान लेखेर सर्च गरें । तर पनि भेट्न सकिनँ । अन्तमा नेपाली अक्षरमा बिनीमात्रै के टाइप गरेकी थिएँ, सुरुमै उनको प्रोफाइल फोटो देखिहालें । अनि हत्तपत्त फ्रेन्ड रिक्वेस्ट पठाइहालें । सुरुदेखि अन्तसम्म उनको प्रोफाइल चियाउन थालें । सबै फोटाहरु नयाँ थिए । उनको फेसबुक आइडी नै नयाँ थियो क्यार ! पुराना अप्डेट अनि पुराना फोटा केही थिएनन् । पहिला कि बिनी र अहिलेकी बिनीमा धर्ती र आसमानको फरक थियो । सुन्दर त अहिले पनि उत्तिकै थिइन्, जस्तो पहिला थिइन् । तर उनको लवाइखवाइ, चालढाल समग्र रुपमा भन्नु पर्दा उनको व्यक्तित्वको अन्दाज बिल्कुल फरक थियो ।

रात छिप्पदै थियो । घडीले पनि १० बजाइसकेको थियो । मन ब्याकुलतामा छट्पटिरहेको थियो । मन बाँध्न सकिनँ अनि ‘हाइ……’ भनेर म्यासेज पठाएँ । कुनै जवाफ आएन । न त मेरो रिक्वेस्ट एसेप्टको नोटिफिकेसन नै आयो ।

फेरि पनि म्यासेज पठाउने दुस्साहस गरें मैले ।

बिनी !…..

मलाई थाहा छ, मसँग तिमी धेरै नाराज छ्यौ, दुखी छ्यौ । नहोऊ पनि कसरी, मैले तिम्रो दिल तोडेकी छु । मन दुखाएकी छु । माफीको लायक त छैन म तर पनि तिमीलाई एकपल्ट भेटेर तिम्रो काखमा बेसरी रुने मन छ ।

साँच्चै आज मलाई बेस्सरी रोइदिउँजस्तै लागिरेहेको थियो । दिन महिना अनि साल गर्दै ८ वर्ष बितेको पत्तै पाइनँ । यो अन्तरालमा बिनी कहाँ थिइन् त ? न त मेरो दिमागले सम्झेको थियो ! न त खोजेको नै थियो । आफ्नै संसारमा यसरी विलीन थिएँ म । एक किसिमले भनूँ भनें बिनीको कुनै सम्झना मेरो मस्तिष्कमा जीवित नभएकोजस्तै थियो ।

तर आज एकपल्ट फेरि उनीप्रतिको स्नेह र प्रेम ब्युँतिएर आफ्नो अस्तित्व खोज्न अन्दोलन गरिरेहेको महसुस भयो । सानैदेखि नाकमा सिँगान तान्दै फुत्रुक्कफुत्रुक्क उफ्रँदै र खेल्दै हुर्केका हामी, भाडाकुटी अनि टालाटुली बटुली पुतली खेल्दै हुर्केका हामी ।

सँगै खाने, लाउने कुरा सँगै मनका भावनाहरु साट्दै गर्दा एक अर्का बिना एकपल पनि बस्न नसक्ने हामी एक अर्काको दुखमा रुने अनि सुखमा रमाउने गर्थ्यौ। कैयौं पल्ट हामी स्कुल बाट भागेर फ्लिम हेर्न अनि पार्कतिर घुमी मस्ती गथ्र्यौं । कति पल्ट त उनले होमवर्क नगर्दा उनको लागि उनी सँगै सरको चुटाइ खाने दैनिकी नै बनेको थियो । परीक्षाको बहानामा कहिले म उनीकहाँ पढ्न भनेर जान्थें त कहिले उनी मेरोमा आउँथिन् । रातभर मजाक मस्ती गरेर बस्थ्यौं ।

एक दिन शिवरात्रिको बेला थियो । सधै जस्तै म उन को मा पढ्न भनेर गएँ । म कोठामा पढ्दै थिएँ, बिनी खाएर आउन ढिला गरिन् । पढाइमा एकाग्र मेरो ध्यान एक्कासि ढोका खोलेको आवाज ले भंग ग¥यो । ढोकामा बिनी थिइन् । बिस्तारै ढोका ढप्काएर चुरोट र सलाई देखाउँदै बोलिन् ओई !…खाने हो ?
म आश्चर्य चकित हुँदै ठूला आँखा बनाएर कराएँ, ‘बहुलाही हुन थाल्यौ कि क्या हो ?’

उनले हत्तपत्त चोर औंला ओठमा राखेर चुप हुने संकेत गरिन् । मैले पनि दबेको स्वरमा भनें, ‘बुबा र दाइले चाल पाउनु भयो भने जगल्टा हातमा लिनु होला नि ।’
‘छ्या ! कत्ति झाँक्री झंै कामेको,’ उनले निडर भएर भनिन्, ‘कत्ति न सधै खाने जस्तो ! कहिलेकाहीँ त रमाइलो पनि गर्नु पर्छ क्या ।
उनले एउटा चुरोट सल्काएर दिँदै भनिन्, ‘कान्छू ! ल एक्फेर चाखी हेर त ।’

मैले अस्वीकार गर्दै भनें, ‘खादिनँ हो म त ।’

आबुइ ! साथी भएर मैले भनेको नमान्ने ? ल जा अब मदेखि कट्टी ! उनले रिसाएर चोचो बटार्न थालिन् । अनि म पनि उनी रिसाएको देख्न कहाँ सक्थेर ? झट्ट भनिहालें, ‘ल, ल ! एक्फेर मात्रै तान्छु है त । खोइ लेऊ ।

मैले सल्किएको चुरोट लिएर एकसर्को के लिएको थिएँ, बिनीको दाइ कोठामा छिर्नुभयो । सोध्नु भयो, ‘नानु रिमोट देखेनौ ?

दाइको अकस्मात प्रवेशले चुरोटको सर्को मुखभित्रै अड्काई मूर्तिबत उभिरहेँ म । लुगलुग काप्दै के गरुँ कसो गरुँ झै भयो । बिनीचाहिँ दाइको आवाज सुन्नासाथ मेरो हातको चुरोट खोसेर झ्यालबाट फालिदिएर जस्ताको तस्तै भएर उभिइन् । ‘रिमोर्ट सोफामुनि लुकाएकी छु दाइ ! बाबुले कार्टुनमात्रै लाउँछ भनेर,’ उनले हत्तपत्त जवाफ दिइन् ।

एह हो र ? भनेर दाइ फुत्त निस्किनु भयो बाहिर । तब म निस्सासिँदै हतारहतार बाथरुमतिर दगुरें । मुखभर भरिएको धुवाँले असल्जिएर झन्डै उल्टी आयो । लगातार खोक्न थालें । सास लिन गाह्रो भयो । मुख खोकलेर थुचुक्क बसें भित्ताको आडेस लाएर । आत्तिएर बिनी के भयो ? भन्दै मलाई समाउन आइन् । मेरो आँखाबाट आँसु बग्न थाले । साँच्चै भनूँ भने म रोइरहेकी थिएँ । बिनीले बडो प्यारले मेरो आँसु पुछिदिइन् । अनि भिजेको कपाल निधारबाट पन्छाउँदै बोलिन्, ‘सरी तिमीलाई रुवाउने नियत थिएन ।’ उनले फिल्मी शैलीमा कान समाएर भनिन्, ‘साँच्चै अब यस्तो कहिल्यै गर्दिनँ प्लिज ।’

उनको त्यो अवोधपनाले मलाई साह्रै माया लागेर आयो उनीप्रति । अनि गम्लंग अंगालो हालेर मैले भने, ‘इट्स ओके ।’

उनले पनि मलाई उस्तै गरी अंगालेर छातीमा टाँसिन् । हुन त हामी यसअघि पनि हाँस्ने रुने गथ्र्याैं, अंगालो माथ्र्यौै । त्यस दिन खोइ किन कुन्नि ? उनको अंगालो मलाई अनौठो महसुस भइरहेको थियो । उनको छाती मेरो छातीसँग टाँसिँदा मुटुमा बेसरी ढ्यांग्रो ठोके जस्तै लाग्यो । द्रुत गतिमा मुटुको धड्कन बढ्न थाल्यो । उनको आलिंगन पनि बिस्तारै कसिलो हुँदै गयो । श्वासप्रश्वास पनि तीब्र गतिमा चल्न थाल्यो । बिस्तारै उनका हातहरु मेरो ढाड्मा यताउता सल्बलाउन थाले झै लाग्यो । तब काउकुतीका फोहोरा एकैचोटि छुटे झै लाग्न थाल्यो । रोमरोममा एककिसिमको रोमान्चक तरंग तरंगित हुन थाल्यो । उनको ओठले बिस्तारै मेरो घाँटीनिर जब चुमेको महसुस भयो तब जिउभरि हजार भोल्टको करेन्ट दौडियो । कताकता मीठो आनन्दको अनुभूतिसँगै मदहोश हुँदै गएँ । उनले फेरेको प्रत्येक श्वास पनि मीठो अत्तर जस्तै सुगन्धित लाग्यो मलाई । म सम्पूर्ण होस गुमाएर साग गलेजस्तै लथ्र्याकलुथ्रुक भइसकेकी थिएँ । उनका हातहरु मेरो टिसर्टभित्र यत्रतत्र म्याराथन दगुरे । उनका ओठहरु मेरो घाँटी, कान जताततै नाच्दै थिए । अनि म स्वर्गीय मीठो अनुभूतिको सुस्केरामा लिप्त हुँदै गएँ । मैले भुलिदिएँ म कस्को अंगालोमा छु । मलाई एउटा हट्टाकट्टा मर्दको बलिष्ठ कसिलो बाहुपासको यहसास भइरहेको थियो । जब उनका अधर मेरा अधरसँग टाँसिन आइपुगे तब मेरा नजरले उनलाइ देखे अनि झसंग झस्केर एकै झट्कामा उनलाई आफूबाट अलग गराएँ ।

के भयो ? उनले सोधिन् । मलाई केही बोल्ने आँट आएन । शरमले पानीपानी भएकी मलाई आफंैसँग लाज लागेर आयो । छि ! कस्ती मान्छे हँु म ? एउटी केटी भएर केटीसँग ? एकैचोटि सयौं प्रश्नले झटारो हान्यो । कुनै खुंखार अपराधी भएको महसुस भयो आफूलाई । हत्तपत्त कपाल अनि लुगा सम्हालेर उठें अनि घरतिर दौडिएँ ।

यो कसरी सम्भव छ ? जब कि हामी दुबै महिला हौं । विपरीत लिंगीप्रति आकर्षित हुनुको बजाय उस्तै लिंगका हामी एक अर्काप्रतिको यो आकर्षण ? अप्रिय परिणाम निम्त्याउने त होइन भन्ने डर लागिरह्यो । कसैले थाहा पायो भने हाम्रो सम्बन्धलाई समाजले कस्तो दृष्टिले हेर्ला ? कुन दर्जामा राख्ला हामीलाई ?

बिनीको घरबाट आएदेखि मस्तिष्कमा त्यस्ता धेरै प्रश्नहरुले चिथोरिरह्यो । सोच्दासोच्दा दिमागको नशा चुडिएर फुट्ला जस्तै भयो । अन्जानै अन्जानमा यसरी कुरा अघि बढ्ला भनेर सोचेकी थिइन्ँ । साथीप्रतिको प्रेम यस्तो रुप लिएर प्रकट भएको चेतनासम्म भएन मलाई । मलाई उनको माया लग्थ्यो । प्रिय सहेली थिइन् उनी । उनी पनि प्रेम गर्थिन् मलाई । एकअर्का बिना अधुरो थियौ हामी तर यस्को अर्थ यो हैन कि हाम्रो हाम्रो माया अनि प्रेमको रुप यो हो । मलाई कतै मन्जुर थिएन कि हाम्रो सम्बन्ध यो रुपले अघि बढोस् । केबल हामी अत्यन्तै मिल्ने सहेली हौं । यही भन्ने थियो ।

त्यो दिनदेखि म बिनीको घर जान छोडिदिएँ । कलेज पनि गइनँ । उनको लगातार कल आइरह्यो । मैले रिसिभ गरिनँ । न त कुनै प्रतिक्रिया नै जनाएँ । फेसबुकमा अनगिन्ती म्यासेज आइरयो उनको । रिप्लाई दिन अर्थ देखिनँ । फेसबुक पनि बन्द गरिदिएँ । मलाई भेट्न उनी नआएकी पनि कहाँ हुन र ? म सन्चो छैन भनेर तर्किदिएँ । कोठा थुनेर बसिदिएँ । दिन प्रतिदिन उनलाई बेवास्ता गर्न थालें । हाम्रो सम्बन्धको बारेमा कुनै कुरा गर्न मन लागेन । धेरै दिन कोठामा बन्द भएर बसिदिएँ । झ्यालबाट तल हेर्दा बिनीले मेरो झ्यालतिर चियाएको दृश्य हेर्न नसकी कैयौंपल्ट झ्याल पनि बन्द गर्नु पर्‍यो । धेरै दिन आफुलाइ बिनाकसुरको सजाय दिई बसे अँधेरीकुनामा भित्रभित्रै गुम्सिएर ।

एक दिन मेरो घरमा फुपू आउनु भयो । फुपूले मेरो लागि बिहेको प्रस्ताव बोकेर आउनु भएको रैछ । बाबाले हामी त राजी छौं, तर छोरी पनि हुनु प¥यो भन्नुभयो । उसको जिन्दगीको यति ठूलो फैसला उसकै हातमा छोडेको छु मैले भनेर भन्नू भयो । मैले पनि बिनीसँग टाढिनुको सही विकल्प नै बिहेलाई रोज्ने निर्णय गरें । अनि त त्यसपछि मेरो बिहेको हल्ला गाउँ छिमेकमा करेन्ट झैं फैलियो ।

सायद मेरो बिहेको कुरा सुनेर नै होला, बिनी मेरो घर आइन् । बुवाममीले उनलाई मेरो कोठामा पठाउनु भयो । उनको आगमनमा म बिल्कुल मौन थिएँ । के बोलूँ ? मसँग कुनै शब्द नै थिएन । मेरो समीप बसेर मेरो हात समाई रुन्चे अनुहार लाएर मलाई हेरिन् । म कुनै अपराधी जस्तै झुकी रहें ! नजर मिलाउन सकिनँ । चुपचाप नजर अन्तै मोडें ।

‘साच्चै बिहे गर्ने होउ त ?’ उनले गह्रुंगो स्वरमा भनिन् । ‘हामीले अहिलेसम्म बिताएका पलहरु एकछिन्मै बिर्सिदियौ ?

साँच्चै म केही बोल्ने स्थितिमा थिइनँ । न त आँट थियोे । भक्कानिएर मुटु फुट्ला जस्तै भए पनि मुठी दह्रो पारी कसिरहे । आँसु छल्की जाला भन्ने डरले सिलिङतिर एकोहोरो नियालिरहें चुपचाप ।

‘त्यो दिन जे गल्ती भए पनि आउँदा दिनमा म फेरि गल्ती दोहो¥याई शरमले दिनदिनै मर्न चाहन्न । अनि दुनियाको नियम हो एउटी छोरी मान्छे कुनै छोरा मान्छेसँग घर बसाउने । त्यसैले प्लिज मलाई अरु तनाव नदेऊ । मैले उन्को हातबाट मेरो हात फुत्काउँदै बोल्ने दुस्साहस गरें ।

‘समाज अनि दुनियाँलाई त सजिलै छल्न सक्छेउ तिमी । आफूलाई कसरी झुक्याउन सक्छ्यौ ? ठूलो गल्ती गर्दैछ्यौ तिमी,’ बिनीले मलाइ मेरो पहिचान चिनाउने प्रयास गरिन् ।

‘समाजमा छिःछिः र दुरदुर भएर हेलाँ भई बाँच्नुभन्दा त आपूmलाइ घुटनमै जिउन मन्जुर छ मलाई,’ म मेरै अडानमा अडिग भइदिएँ ।

‘पहिला हामी आफूलाई पूर्णरुपमा स्वीकारौं । हाम्रो परिचय छिपाउन हैन पहिचान देखाउन हिम्मत गरौं । तब मात्र दुनियाँले स्वीकार्छ,’ उनले भनिन्, ‘अहिलेको समयमा पनि चेतना साँघुरो बनायौं भने कसरी खुसीले बाँचिन्छ ? हामी पनि मान्छे हौं । आफ्नो ईच्छा खुसी अरुले जस्तै भोग्न पाउनुपर्छ ।’

म भने उनको कुरालाई बेवास्ता गरी आफ्नो निर्णयमा कठोर थिएँ । हुन पनि समाज हिँड्ने बाटो छोडेर कसरी अर्को बाटो हिँड्न सकूँला म ? जन्म दिने बुबाममी, इस्टमित्रलाई त्यागेर पुरुषको साटो कसरी छोरी मान्छेसँग जीवन बिताउने फैसला गर्न सक्छु म ? आफ्नो स्वार्थका लागि परिवारको इज्जत लिलाम गर्नु मलाई रहर छैन भनेर मलाई भुलिदिन आग्रह गरें । धेरै विलाप गरिन् । रोइ कराई गरिन् । तर मेरो पत्थर मन पगाल्न सकिनन् ।

दिनहरु बित्दै गए । बिहेको दिन पनि आयो । बिहेमा सबै साथीहरु आए । बिनी आइनन् । मैले खोजीनिती गरिनँ । अरुले बिनी किन आइननन् भनेर निदिखुदी नगरेका पनि होइनन् । तर मैले थाहा छैन भनेर टारिदिएँ । मेरो उत्तर सुनेर कसैले ओठ लेब्राए भने कसैले चासो देखाएनन् । जन्ती आए । स्वयम्वर भयो । बिहे पनि सकियो । अन्माउने बेला बुबाममी रुनु भयो । म पनि रुँदै जन्मघरबाट बिदा भई पराइघर गएँ ।

नयाँ घरले बिस्तारै मेरो जीवनको कायापलट नै गरिदियो । दिन बित्दै गए । मेरो दिनचर्या सासुससुरा अनि श्रीमान्को सेवामा समर्पित हुँदै गयो । असल बुहारी अनि असल श्रीमतीको पदवी पाउन मैले सबै अतीतलाई नमिठो सपना सम्झी भुल्दै गएँ । बिनीको याद सुरुसुरुमा त निकै आयो । मेरो बिहेपछि मैले उनलाई कहिल्यै देखिनँ । माइत जाँदा पनि उनको घरमा जाने आँट गरिनँ । यस्तै रित ले मेरो स्मृतिमा उनको याद मेटिएर गए जस्तै भयो ।

बिहे गरेको वर्ष दिनमा मेरो छोरी जन्मिई । संसारभरको खुसीको अनुभूति भयो । छोरीको आगमनले श्रीमान्सँग मेरो समीपता झनै बढेर आयो । उहाँ पनि मलाई निकै प्रेम गर्नुभयो । दिन प्रतिदिन म उहाँसँग निजिकिँदै गएँ । उहाँसँगको समीपताले मैले बिनीलाई कुन मोड्मा छोडेँ, पत्तै पाइनँ ।

हाम्रो परिवारमा केही वर्ष नबित्दै फेरि खुसीयाली छायो । मैले छोरा जन्माएँ । त्यसपछि म नानीबाबुको स्याहारसुसार गर्दा गर्दै ८ वर्ष पुगेको चाल पाइनँ ।

आज अचानक बिनीसँगको यो भेटले म लामो निद्राबाट ब्यँुझिए झै भएँ । पुराना यादहरु झल्झली आँखा वरिपरि नृत्य गर्न थाले । ढुसी लागिसकेका सम्झनाका पोका खोतल्न बाध्य भएँ ।

रात धेरै छिप्पिसकेको थियो । मोबाइलको घडीमा १२ः १५ भएको रैछ । निद्रा कोषौं दुर भागेको थियो । फेसबुकमा हेरें न त कुनै म्यासेज थियोे न त कुनै नटिफिकेसन । कोल्टे फर्केर श्रीमान्तिर हेरें, मस्त निद्रामा हुनुहुन्थ्यो । ओढ्ने कम्बल लथालिंग थियो । विस्तारै तानेर घाँटीसम्म ढाक्ने गरी ओढाइदिएर पल्टिएँ । निद्रा पटक्कै आएन । घरीघरी कोल्टे फेर्दा हर पाट्टियो । मनमा अनगन्ती कुरा खेल्न थाले । बेतमासले छट्पटिन थाले । मुख सुकेजस्तो हुन्छ, उठेर पानी पिउँछु । कतिपल्ट त खुइँय गर्दै ओछ्यानबाट उठेर ढुम्म बस्छु । निदाउन साह्रै गाह्रो भयो । यस्तै छट्पटीमा कतिबेला आँखा लागेछ पत्तै पाइनँ ।

बिहान अबेरसम्म पनि आँखा खुलेन । सायद बिसन्चो छ भनेर होला, कसैले उठाएन । म उठ्दा नानीबाबु पनि स्कुल गइसकेका रैछन् । आँखा खोले पनि ओछ्यान छोड्न भने सकेकी थिइनँ । त्यही बेला म्यासेजको भिप बज्यो मोबाइलमा । हतारिँदै मोबाइल चेक गरें कतै फेसबुकमा बिनीको म्यासेज त होइन भनेर । तर खुसीले उज्यालो भएको मेरो मुहार फेरि निराशाले चाउरियो । फोनको म्यासेज इनबक्समा उहाँको म्यासेज थियो, ‘बुबाममी दोकान गइसक्नु भाछ । नानीबाबुलाई स्कुल छोडेर म अफिस आइसकें । खाना गरमै होला । खाएर आरम गर । साँझ आउँदा दबाई लिएर आउछु ।’

मैले निधार छामें तातै थियोे । जिउ पनि उस्तै थियो । सायद उहाँलाई लागेछ मलाई ज्वरो आको छ ।

फेरि मैले फेसबुक चेक गरें । इन्बक्स खाली थियो । मन साह्रै ब्याकुल भयो । घोप्टिएर सिरानीमा मुख दलीदली रुन मन लाग्यो । साँच्चै भनूँ भने कुर्लीकुर्ली भित्रामा टाउको ठोकी रुन मन लाग्यो ।

आठ वर्षको अन्तरालपछि एकदिन झुल्किएकी बिनी फेरि कालो रातको अँधेरीमा विलीन भए झै कता विलीन भइन् कता । उनलाई खोज्न उनको घरसम्म पुगें । थाहा लाग्यो उनले घर छोडेको पनि ८ वर्ष पुगेछ । उनलाई फेरि पनि भेट्ने झुटो आशामा धेरैपल्ट त्यही चाटवालाको स्टल धाएँ । कता खोजु उनलाई ? मन पागल हुन थाल्यो । तनावै तनावले डिप्रेसनको सिकार बन्नु पुगें ।

रातमा निद्रा पर्न छोड्यो । दिनमा होश हराउन थालें । दिन दिनै गल्न थालेँ म । फेसबुकमा म्यासेज हेर्ने दिनचर्या नै बन्यो मेरो । उनको झल्को कुनै गन्ध पाउन सकिनँ । अतीतमा बिनीसँगको मीठा पलहरु याद गर्दै पागल जस्तै मुस्कुराउने बानी बस्न थाल्यो । एकोहोरो टोलाउने होश हराउनेजस्ता लक्षणले ग्रसित हुँदै गएँ ।

एक प्रकारको मानसिक बिमारी जस्तै भए म।परिवारमा धेरै बोल्न छोडिसकेकी थिए । बच्चाहरुको ख्याल भएन । श्रीमान्सँग एक किसिमको वितृष्णा पैदा भएर आयो । व्यवहारमा चिड्चिडापन आउन थाल्यो । कसैको माया लाग्दैन्थ्यो । मन, मस्तिष्कमा बिनीको याद पछ्याउँदै भौतारिन थाल्यो । मेरो दिल दिमागले केबल उनलाई खोजी रह्यो ।

दिनानुदिन बद्लिएको मेरो बेहोरादेखि मेरो परिवारले आखिरमा मनोचिकित्सक कहाँ पु¥याउनु भयो । डाक्टरले पनि मलाई मनरोगी घोषित गरिदिए । एक्लै बस्न नदिने, ब्यस्त हुने, मनमा कुरा नखेलाउने सल्लाह दिए । मानसिक सुधार आउँछ कि भनेर होला, सासूससुराले मलाई दोकानमा सँगै लान थाल्नु भयो । दिनभरि ग्राहकसँग भुल्न थालें । तर पनि मेरो दिमागी हालतमा सुधार आएन । बिनीले मेरो मस्तिष्कमा राज गरिरहिन्, मानौं उनको साम्राज्य हो मेरो दिमाग । मन सधै उनकै सम्झनामा कता कता बादलपारि सय गरिरहन्थ्यो । यसैगरी दिन महिना बित्दै गए । तर पनि मैले फेसबुकमा उनको म्यासेजको आस गरिराखेँ । हिजो जसरी गुमनाम थिइन् उनी अहिले पनि गुमनामी छिन् । अनि म दिमागको बिरामी उनलाई खोज्न र पछ्याउन आज पनि हरेक दिन हरेक पल फेसबुकका म्यासेज बक्समा उनलाई पर्खिरहेकी हुन्छु । कहिँ कतै उनै गुमनामीको आहटको झिनो आशामा ।

बुर्तिबाङ, बागलुङ

तपाईको प्रतिक्रिया