व्यावहारिक शिक्षा नीतिमा जोड

समाधान संवाददाता २०७५ चैत ९ गते ९:३३

समाधान संवाददाता

भरतपोखरी विकास मञ्चको आयोजना एवं वडा शिक्षा समिति, पोखरा महानगरपालिका–३३, को सहयोगमा शुक्रबार आयोजित कार्यक्रममा स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्र हुनुपर्नेमा जोड दिइएको छ ।

‘संघीय शासन प्रणालीमा विद्यालय शिक्षा, स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रियामा वक्ताहरूले संविधानप्रदत्त अधिकार बमोजिम स्थानीय तहबाट बन्दै गरेका शिक्षा नीति दीर्घकालिन सोचका साथ बनाइनुपर्ने धारणा राखे ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सिंहदरबारका अधिकार स्थानीय तहमा आइसकेका अवस्थामा अब काम नगर्ने छुट नभएको उल्लेख गर्दै आवश्यकता र व्यवहारका आधारमा शिक्षा नीति तयार गरी बढ्नुपर्ने बताए ।

नेपाल हरेक दृष्टिबाट सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उनले उपलब्ध साधन स्रोतको पहिचान र अधिकतम उपयोग गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्नुपर्ने बताए ।

Advertisement

‘प्रदेशको विद्यालय शिक्षा कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. अशोक थापाले स्थानीय तहले दीर्घकालीन योजना र स्थानीय आवश्यकताका आधारमा शिक्षालाई सफल कार्यान्वयनको दिशामा अगाडि बढाउनुको विकल्प नभएको बताए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएका अवस्थामा आवश्यकता र औचित्यता समेतलाई दृष्टिगत गरी शिक्षाको विकासमा जुट्नुपर्ने बताए ।

अनेरास्ववियुका कार्यवाहक केन्द्रीय अध्यक्ष रश्मि आचार्यले राम्रो शिक्षा नीति नहुँदा त्यसले समग्र समाज एवं राष्ट्रलाई प्रभावित गर्ने बताउँदै समाजको आवश्यकतालाई उजागर गर्ने गरी शिक्षा नीति आउनुपर्ने धारणा राखे ।

देशमा उत्पादकत्व बृद्धि गर्दै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यलाई हासिल गर्न सक्ने किसिमको शिक्षा बर्तमानको आवश्यकता भएकोमा उनको जोड छ । वडा अध्यक्ष एवं वडा शिक्षा समिति अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षण संस्था एक अर्कामा दोषारोपण गर्न भन्दा पनि कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ त्यस तर्फ लाग्नु पर्ने बताए । विद्यालयहरू विद्यार्थी संख्या बढाउने मात्र नभै कसरी गुणस्तरीयता बढाउन सकिन्छ त्यस तर्फ केन्द्रित बन्नुपर्ने उनको भनाइ थियो ।

भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले शिक्षाको विकासका लागि सकारात्मक बहसको सुरुवात गर्ने लक्ष्यका साथ अन्तरक्रिया गरिएको बताए । कार्यक्रममा भरतपोखरी विकास मञ्चका महासचिव गणेशप्रसाद ढकाल, वडा शिक्षा समिति सदस्य यज्ञप्रसाद अधिकारी, सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, स्रोतव्यक्ति हेमराज आचार्य, मञ्चका कोषाध्यक्ष गोविन्द गौतम, श्रीधर पौडेल, मोहनलाल भण्डारी, श्रीधर आचार्य, लगायतले स्थानीय तहबाट बन्ने शिक्षा नीति स्थानीय आवश्यकता एवं औचित्यता समेतका आधारमा हुनुपर्नेमा जोड दिदै यसका लागि सामूहिक प्रयास आवश्यक हुने उल्लेख गरे ।

भरतपोखरी जन्मस्थान भै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. अशोक थापा र राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पूजा भण्डारीलाई मञ्चका तर्फबाट सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया