पोखरा विकासको एउटा साक्षी गाउँ चापाकोटः नदेखिएको चाँदीको घेरा

समाधान संवाददाता २०७५ चैत १० गते ९:०७

अमृत सुवेदी

शिवलाल पराजुली चापाकोटको डाँडाबाट पोखरा नियाल्छन् र गम खान्छन्, ‘परिस्थिति क्या उल्टो बन्यो ।’ त्यो असुरो, टाप्रेघारी र झाडी महलैमहलको घारी बन्छ भन्ने के थाहा ?’ उनी सम्झन्छन्, जतिबेला पोखरा प्राय सुनसान र गाउँ गुल्जार थियो ।

शिवराज बाबुआमाका हातका औंला समाएर फेवातालको किनारै–किनार किनमेल गर्न झर्दा पोखराले विकासको हात समाएकै थिएन । अहिलेको व्यस्त र मुख्य बजार क्षेत्र पोखराको ताल किनारमा घुमाउने र झुप्रा घर थिए । कतिकति टिनले छाएका । मान्छेको चहलपहल हुँदैनथ्यो । महेन्द्रपुल, नालाको मुख लगायत क्षेत्रमा किनमेल गर्न शिवराज बुबाआमासँग पुग्थे ।

शिवराज २० को दशकको पोखरा सम्झन्छन्, ‘त्योबेला गाउँमा मान्छे पोखरा जान रुचाउँदैनथे । छोरी दिनसमेत चाहँदैनथे । औलोको डर हुन्छ भन्थे । कतिकति घर, कताकति खेती । धेरै त झाडी नै झाडी ।’

सबैखाले सुविधाले छुँदै गएपछि पोखराले विस्तारै रुप फेर्दै गयो । मान्छे जान डराउने झाडी पनि हेर्दाहेर्दै कंक्रिटको घारी बन्यो । फेवाको पानी खाएर हुर्किने र बस्नेहरुका दिन आए । चापाकोटको काखबाट बग्ने हर्पन खोला किनारकाले विकासको स्वाद चाख्नै पाएनन् । फेवातालको तल्लो तटीय किनारमा आकास ताकेर महल ठडिए ।

पोखरालाई उपत्यका बनाउने डाँडाँमध्येको १ हो, चापाकोट । आँखा जुधाएर बसेको पल्लो डाँडा सराङकोटले रुप फे¥यो । हावामा कावा खाँदै प्याराग्लाइडिङ उडाउने सराङकोट समृद्ध भयो, हुलका हुल पाहुना भिœयायो । सँगै कुम जोडेर बसेको पुम्दीभुम्दी डाँडो टेक्न संसारभरिबाट आउन थाले । शान्तिस्तूप बनेपछि पुग्दीभुम्दी कोटले पनि रुप फेर्दै गयो । विकासको भोक मेट्न नपाएको चापाकोट पोखराको विकासको साक्षी बनिरह्यो ।

शिरमा पञ्चासे, काखमा फेवाताल राखेको चापाकोट आफैं भने रित्तिँदै गयो । सुविधा, पूर्वाधार र जनसंख्यालगायत सबै कुराले पोखरा भरिँदै र चापाकोट रित्तिँदै गर्दा शिवराज जिब्रो टोक्छन् । ‘पोखराभन्दा यहीँ ठिक छ भन्ने चापाकोटेहरुको दुख कसले बुझ्ने ?’ पूर्व प्रधानपञ्च तथा गाविस अध्यक्षसमेत रहेका शिवराज सुनाउँछन्, ‘म झन्डै ७० वर्ष पुगें तर थोरै समयले नै मान्छेका भाग्यरेखा बदल्दो रहेछ ।’

शिवराजकै नेतृत्वमा चापाकोटको फेदीमा स्कुल खुल्यो । गाउँका अगुवाहरुको नेतृत्वमा २०५० सालमै बाटो खनियो । तर, त्यही बाटो भएर गाउँ छाड्नेहरु हिँडे, विकास पुगेन । चापाकोट बादलमा नदेखिएको चाँदीको घेराजस्तो बनिरह्यो । फेवाताल तल्लो तटीय क्षेत्र हुँदै किनारैकिनार हर्पन खोला शिरतिर उक्लिँदै गरेको विकास २ पटक चापाकोट उक्लन्छ भन्ने विश्वासमा स्थानीय छन् ।

छोटो र रोमाञ्चक गन्तव्य
स्पेनिस् १ नागरिक हप्ता दिनदेखि चापाकोट घडेरीमा डेरा जमाएर बसिरहेका छन् । त्यहाँबाट प्रकृतिलाई मनैदेखि महसुस गर्नु र गाउँलेसँगै रमाउनु उनको दैनिकी बनिरहेको छ । आफ्नो देशमा कुक पेसा गरेर पैसा बचाउँदै उनी नेपाल आए । उनी उपयुक्त गन्तव्यको खोजी गर्दै चापाकोट घडेरी आइपुगे र रोमाञ्चक बनिरहेका छन् ।

१ हप्तासम्म बसिरहेका यी पर्यटकमात्रै होइन, पोखरादेखि १ हुल शुक्रबार चापाकोटको भ्यू प्वइन्टसम्म पुगे । उनीहरु हाइकिङमा गएका हुन् । चापाकोट लामो समय बस्नेदेखि कम समय भएका तर रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य बनाउन चापाकोट पर्यटन विकास समिति लागि परिरहेको छ ।

ठूलाखेत, ओखलढुंगा, घडेरी हुँदै भ्यू प्वइन्टसम्म पुग्दा पर्यटन क्षेत्रका क्रियाशील र हाइकिङमा रुचि राख्ने युवा पनि रोमाञ्चक बने । उहिलेको चिहान डाँडालाई अहिले भ्यू प्वइन्ट भन्न थालिएको छ ।

चापाकोटभरि अहिले एक घर पनि गुरुङ छैनन् । त्यहाँबाट सबै गुरुङहरु मार्की भन्ने ठाउँमा बसाईं सरे । अहिले त्यही चिहान डाँडालाई गाउँलेले भ्यू प्वइन्ट नाम दिएर पर्यटक बोलाइरहेका छन् । जहाँबाट पोखरा, ताल, हिमाल र प्रकृतिको स्पर्शमा रोमाञ्चक हुन पाइन्छ ।

आँखाभरि अटाउने फेवाताल र पोखरा । उत्तरतर्फ चिसो हम्कने हिमाल र जन्मँदै गरेको बिहानको सूर्य हेर्न चापाकोट उत्कृष्ठ गन्तव्य भएको पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाको भनाइ छ । हाइकिङ र पोखरादेखि जम्मा १२ किलोमिटरको दूरीमा रहेको चापाकोट छोटो र रोमाञ्चक गन्तव्य भएको उनको भनाइ थियो ।

‘कम समय भएका, हिँड्न मन पराउने, प्रकृति र स्थानीय संस्कृतिको स्वाद लिने चाहनुहुन्छ भने चापाकोट आउनुस्,’ पर्यटन विकास समितिका अध्यक्ष भीम पराजुली निम्तो बाँड्छन् । पोखरादेखि ७ किलोमिटर गाडी गएर हर्पन खोलामा बनेको नयाँ पुल हुँदै चापाकोटका गाउँहरु पुग्न सकिन्छ ।

पर्यटक बोलाउन समिति र होमस्टे
चापाकोटको विकास र पर्यटन प्रवद्र्धन गर्न युवादेखि बुढाबुढीसम्म लागि परेका छन् । ओखलढुंगा, रैकर, घडेरी र मगर गाउँ लगायतलाई जोडेर पर्यटन विकास गर्न गाउँले संगठित भएर चापाकोट पर्यटन विकास समिति गठन गरेका छन् भने ४ गाउँलाई समेटेर होमस्टे चलाएका छन् ।

भीम पराजुलीको नेतृत्वमा गठन भएको समितिले चापाकोटको विकासमा नेतृत्व गरिरहेको छ । गाउँका होमस्टेमा पर्यटन जान थालेपछि स्थानीयको आशा र विश्वास पनि बढेको छ । गाउँसम्म पर्यटन लैजाने, पर्यटनका क्षेत्रमा सहभागिता जनाउने र विकास तथा पूर्वाधार निर्माणमा नेतृत्व गर्ने काम समितिले गरिरहेको छ । गाउँमा पुगेका पर्यटकलाई गाउँको स्वाद पस्किएर स्वागत गर्ने काम होमस्टेले गरिरहेको चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विष्णु पराजुलीले बताए । अहिले १२ घरमा होमस्टे सञ्चालित छ ।

शान्तिस्तूपा, भुम्दीकोट हुँदै पनि जान सकिने, पामे वा ठूला खेत हुँदै पनि पुग्न सकिने र पञ्चासे रुटमा पनि पर्ने भएकाले यहाँको होमस्टेको सम्भावना धेरै रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका निवर्तमान अध्यक्ष तारानाथ पहारीले बताए ।

होमस्टे चलाउनु एकातिर राम्रो भए पनि जोगाइराख्न र टिकाइराख्न भने चुनौतीपूर्ण रहेको पर्यटन बोर्डका प्रवन्धक थपलियाको भनाइ छ । ‘पोखराको पर्यटनसँग यहाँको उत्पादन जोड्नुहोला । होमस्टेका नाममा लैनौ भैंसी बेचेर होमस्टेका कोठा चाहिँ नबनाउनुहोला । पर्यटन गाउँको अर्गानिक चिज खान आउँछन्,’ थपलियाको सुझाव छ ।

रिसोर्ट र ठूलो लगानीको सम्भावना
चापाकोट नजिकैको डाँडाखर्कमा एउटा पुरानो घर छ । पर्यटन व्यवसायी डम्बर पुनले पुरानो शैलीको घरलाई परिमार्जन गरेका छैनन् र नाम दिएका छन्, ‘ब्याक टु नेचर’ । बस्ने, खाने र योगालाई समेत जोडेर उनले ब्याक टु नेचर चलाइरहेका छन् र त्यो पर्यटकको आकर्षण बनेको छ ।

आकर्षण र लगानीको सम्भावना रहेको ठाउँ हो, चापाकोट । युनिटी इको भिलेज, विभिन्न कटेज चापाकोट क्षेत्रमा बन्न थालेका छन् । तर, चापाकोट पर्यटन विकास समितिले रिसोर्टलगायत ठूला लगानीकर्तालाई बोलाइरहेको छ । ‘अब पोखराले धान्न सक्दैन । यदी गाउँगाउँको विकास गर्ने हो भने यस्ता क्षेत्रमा लगानी हुनुपर्छ भनेर वातावरण बनाइरहेका छौं,’ समिति अध्यक्ष पराजुलीले भने ।

पोखराभन्दा बाहिर प्रकृति र संस्कृतिसँग रमाउने पर्यटकलाई लक्षित गरेर रिर्सोटहरुको सम्भावना रहेको सांसद राजीव पहारी बताउँछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चापाकोटजस्ता डाँडाँ–डाँडामा रिर्सोट खोल्न आह्वान गर्दै आएका छन् ।

अब लेकसाइडलाई विकास चाहिएको छैनः पहारी
गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले अब फेवातालको माथिल्लो तटीय क्षेत्रमा विकास चाहिएको बताएका छन् । फेवाताल बचाउनका निम्ति पनि माथिल्लो तटीय क्षेत्रमा लगानी र विकास चाहिएको पहारीको भनाइ छ ।

‘पहिले स्याल कराउने पोखरा लेकसाइड अहिले दशौं गुना बढेको छ । अब त्यसलाई के विकास गर्नुप¥यो,’ पहारीले भने, ‘फेवाताल जोगाउन लेकसाइडको विकास गरेर हुँदैन ।’

फेवातालसम्म जाने ढुंगा, गिटी बालुवाको व्यवस्थापन गर्न र यो क्षेत्रको विकसमा आफूले नेतृत्व लिने उनको भनाइ थियो । चापाकोट, पञ्चासे लगायतका ठाउँसम्म पुग्ने बाटोमा पर्ने खहरे खोलामा साढे ७ करोडको लगानीमा पुल बन्न लागेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया