हिउँले थलिएका पशुचौपाया धमाधम मर्दै

समाधान संवाददाता २०७५ चैत १० गते १२:२७

सुन्दरकुमार थकाली
मुस्ताङ

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा पशुचौपाया धमाधम मरेपछि किसान चिन्तित भएका छन् । हिमपात र चिसो खेपेका चौपायामा अज्ञात रोगले पशु मरेका हुन् । इलाका प्रशासन कार्यालय लोमान्थाङका कार्यालय सहयोगी आङ्गेल गुरुङका अनुसार लोमान्थाङ ३ को फुवा र ठिंगर, वडा नं. ४ को चुम्जुङ र किम्लिङ, वडा नं. ५ को लोमान्थाङमा पशु संक्रमणका कारण दिनहुँ पशुचौपाया मरेका हुन् । पशु उपचारका लागि भेटेरिनरी चिकित्सक टोली त्यहाँ पुगेको बताइएकोे छ ।

उत्तरी सीमावर्ती क्षेत्र लोमान्थाङ गाउँपालिकाका खर्कमा लामो समयसम्म भारी हिमपात हुँदा चरन क्षेत्रका सयौं चौरी,याक तथा भेडाबाख्रा अलपत्र परेका थिए भने सयाैं चौपाया मरेका थिए । मौसम सुधारसँगै सुरक्षित बासस्थानमा ल्याइएका चौपायामा पनि रोगको महामारी देखा परेको हो । लामो समयसम्म खर्कमा घाँस तथा पानीबाट बञ्चित चौपायामा चिसोका कारण संंक्रमण देखा परेको हो ।

Advertisement

सीमित खेतीपाती हुने उपल्लो मुस्ताङमा पशुपालन व्यवसाय स्थानीयको जीविकोपार्जनको माध्यम बनेको थियो । लाखौं रुपैयाँ लगानी गरेर पशुपालन गरेका किसानका चौपाया मरेपछि पशुपालन व्यवसाय नै संकटमा पर्ने देखिएको छ । ‘पहिले हिमपात र चिसोका कारण चौपाया मरे, फेरि रोगले,’ लोमान्थाङ १ सेखाङका निमा गुरुङले भने, ‘पशु सुस्त हुने, टोलाउने र खाना खान नमान्ने झोक्राउने लक्षण देखा प¥यो, सबैका गोठमा २०÷२५ चौपाया मरे ।’

लोमान्थाङ ५ मा भने फरक रोग देखा परेको बताइएको छ । त्यहाँ पशु चौपायाको दाँत झर्ने, गिजा निकाल्ने लक्षण देखिएको छ । उपल्लो मुस्ताङका पशुचौपाया उद्धारमा मुस्ताङका जनप्रतिनिधिले पहल गरेका छन् । प्रतिनिधि सभा सांसद प्रेमप्रसाद तुलाचनको पहलमा १ पशु मेडिकल टोली उपल्लो मुस्ताङ पुगेको छ । थासाङको धौलागिरि प्राविधिक शिक्षालयमा कार्यरत पशु चिकित्सक फडिन्द्र चौधरीसहितको मेडिकल टोली त्यहाँ पुगेको सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

Advertisement

प्राविधिक शिक्षालय तथा घरपझोङ गाउँपालिकामा सञ्चित पशु औषधीसमेत उपल्लो मुस्ताङ पुगेका मेडिकल टोलीले पशु स्वास्थ्य परीक्षण गरिरहेकोे सांसद तुलाचनले बताए । शनिबार करिब २ लाखको पशु औषधीसहित जनप्रतिनिधि तथा प्रशासनको टोली वस्तुगत अवस्था बुझ्न त्यसतर्फ जाने उनले जनाए ।

संक्रमित पशु चौपायाको प्रारम्भिक परीक्षणपश्चात पोखरामा ल्याब परीक्षण गराई थप उपचार गराइने प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए । मुस्ताङमा यसवर्ष १४ सय भन्दा बढी पशुचौपाया मरेका थिए । यसबाट पशुपालक किसानले करिब साढे ४ करोड बराबरको क्षति व्यहोर्नु परेको छ ।

तपाईको प्रतिक्रिया