स्वास्थमा बजेट थप्नुपर्छः मन्त्री उपेन्द्र यादव

समाधान संवाददाता २०७५ चैत १० गते १२:३७

समाधान संवाददाता
पोखरा

उपप्रधान स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ४ प्रतिशत बजेटले स्वास्थ्य क्षेत्रको विकास नहुने बताएका छन् । सरकारले छुट्याएको बजेट कर्मचारीको तलबमै सकिने बताउँदै उनले आम जनताको स्वास्थ्यमा उचित कदम चाल्न नसकेको बताए । उक्त रकमले सरकारले डाक्टर थप्न र अहिले देशमा स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नकिने बताए । उनले १० प्रतिशत बजेट सरकारले छुट्टाउनुपर्ने बताए ।

‘स्वास्थ्य क्षेत्रमा ४ दशमलव ४ प्रतिशतमात्र बजेट छुट्टिएको छ, उनले भने, ‘४ प्रतिशत बजेट कर्मचारीको तलब भत्तामा सकिन्छ, बाँकी शून्य दशमवल ४ प्रतिशतले कति विकास गर्न सकिन्छ ।’

Advertisement

संघीय प्रेस फोरम कास्कीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा अहिले नेपालमा जम्मा १४ सय डाक्टरमात्र सरकारी सेवामा रहेको उनले बताए ।

नेपालको जनसंख्याको हिसाबमा २१ हजार डाक्टर आवश्यक रहेको यादवको भनाइ छ ।

Advertisement

स्वास्थ्यको क्षेत्रमा प्रविधि तथा दक्ष जनशक्ति न्यून रहेको जानकारी दिए । स्वास्थ्यको क्षेत्रमा लगानी हुन आवश्यक रहेको बताउँदै ९० प्रतिशत जनताले सरकारी अस्पतालबाटै सेवा लिने गरेको जानकारी दिए ।
जनतालाई राम्रो उपचार दिन क्रमश जनशक्ति बढाउनु पर्नेमा जोड दिए । उनले प्रत्येक वर्ष केही डाक्टर थप्दै जाने योजना सुनाए । संघीय समाजवादी फोरमका पार्टी अध्यक्ष रहेका यादवले फोरम संविधान संशोधनकै लागि सरकारमा आएको बताए ।

यादवले संविधान संशोधन नभए सरकारलाई साथ नदिनेसमेत बताए । ‘अहिलेसम्म संविधान संशोधन हुने लक्षण छ, ‘उनले भने, ‘संविधान संशोधन नहुने भए त्यही दिनदेखि सरकार छाडिन्छ ।’

यादवले हतारमा जारी गरेको संविधानको कमी कमजोरी संसोधनमार्फत् सच्याउने कुरा प्रधानमन्त्रीले बारम्बार दोहोर्‍याएको बताउँदै कार्यान्वयन नभए जुनसुकै कदम चाल्नेसमेत चेतावनी दिए ।

मुलुक एकात्मकबाट संघीयतामा जान नसकेको औल्याउँदै प्रदेश सरकार अधिकारविहीन भएको यादवको भनाइ छ । उनले प्रदेश सरकारलाई साधन, स्रोत र अधिकार दिएर सोही दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले प्रदेश सरकारलाई अधिकार नदिए संघीयताको महत्व नहुने यादवको भनाइ छ । आमजनतालाई जनताको सरकार हो भन्ने अनुभूति दिलाई जनताले फरक अनुभूति पाउनुपर्ने बताए । उनले फरक प्रसंगमा सिके राउतले आफ्नो मिसन सबै त्यागेको बताए ।

तपाईको प्रतिक्रिया