तनहुँकाे अर्चलेडाँडाबाट प्याराग्लाइडिङकाे सफल परिक्षण

समाधान संवाददाता २०७५ चैत १० गते १३:०२

कृष्ण न्यौपाने
दमौली

तनहुँको व्यास नगरपालिका ११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट शबिार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । यहाँ व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा परीक्षण उडान गरिएको हो ।

पोखराको टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शंकर पराजुली र नारायण पराजुलीले प्याराग्लाइडिङ उडान गरेका हुन् । यहाँ विगतमा पनि एकल प्याराग्लाइडिङ उडान गरिएको भए पनि पहिलो पटक डबल उडान परीक्षण गरिएको व्यास नगरपालिका ३ का वडा सदस्य रविन पौडेलले बताए ।

Advertisement

प्याराग्लाइडर राजु आचार्य र शंकर पराजुलीले व्यास नगरपालिका ११ का वडाध्यक्ष निरबहादुर खड्का र स्थानीय विष्णु मास्कीसँग पहिलो उडान भरेका थिए । अर्चलेडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङको सोही वडाको फराकचौरमा अवतरण गरेको थियो । प्याराग्लाइडिङ गरेपछि वडाध्यक्ष खड्काले निकै रोमाञ्चक अनुभव भएको बताए । उनले भने, ‘पहिलो पटक आकाशमा उड्दासशुरुमा त डर लागे जस्तै भएको थियो । पछि भने निकै रमाइलो लाग्यो ।’

खड्काका अनुसार यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङको सम्भावना अध्ययनका लागि परीक्षण गरिएको हो । उनले भने, ‘यस ठाउँमा प्याराग्लाइडिङमार्फत् पर्यटक आकर्षित गराई समग्र यस क्षेत्रकै पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य राखेका छौं ।’

Advertisement

व्यावसायिक रुपमा प्याराग्लाइडिङका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा समेत जोड दिने उनले बताए । टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्यले यस ठाउँ प्याराग्लाइडिङको लागि उपयुक्त रहेको बताए । पोखरा र बन्दीपुरमा विगत ७ वर्षदेखि प्याराग्लाइडिङ उडान गर्दै आएका उनले यस ठाउँमा व्यावसायिक रुपमा नै प्याराग्लाइडिङ गर्न सकिने सम्भावना रहेको जानकारी दिए ।

तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवा ५ किलोमिटर र त्यहाँबाट ३÷४ किमीको दूरीमा अर्चलेडाँडा छ । यहाँका केही घरमा घरबाससमेत सञ्चालन भएको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यहाँको विकासमा टेवा पुग्ने स्थानीय सञ्जय श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया