क्रिकेटर पारस भन्छन् ‘जहिल्यै ठूला कुरा, काम थोरै !’

समाधान संवाददाता २०७५ चैत १० गते १३:१७

विकास रोकामगर
पोखरा

‘जहिल्यै नेताका ठूला भाषण, भाषणपिच्छे परर्र ताली । आवश्यकभन्दा ठूला आयोजना । ती आयोजना कोही त वर्षौंसम्म पूरा हुँदैनन्, भए पनि कमजोर किसिमका हुन्छन् । १ ठाउँमा एउटा नेताको एउटा भाषण, अर्को ठाउँमा अर्को । नेताले बोलेका कुरा पूरामात्रै गर्ने हो भने पनि नेपालको विकास कायापलट हुन्थ्यो । जहिल्यै ठूला कुरा तर, काम भने कछ्वाको गति !’

यही कुरा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई पनि लागेको रहेछ । शनिबार पोखरा रंगशालाको क्रिकेट स्टेडियममा उभिएर नेपालीहरुको कार्यशैलीमा राम्रै व्यंग्य गरे । ‘हाम्रो नेपालमा जहिल्यै पनि कुरा ठूल्ठूलो हुन्छ । तर, काम भने सधैं कम हुन्छ । त्यही ठूला कुरामात्रै गर्ने बानीले विकास जहिल्यै ढिलो भयो,’ उनले बेथितिबारे पत्रकारसँग मनका कुरा खोले ।

Advertisement

खड्काले पोखरा रंगशाला सुधार गर्न ‘मिनिमम’ खर्चमात्रै गरे पनि २०२० सम्म अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन सकिने दाबी गरे । ‘सामान्य खर्चमै रंगशालाको प्राथमिक भौतिक पूर्वाधार पूरा गर्न सकियो भने त्यो सम्भव छ,’ उनले भने, ‘अहिलेको लागि मुख्य प्राथमिकता भनेको खेल्ने पिच, बाथरुम, पानी, खेलाडीका लागि २ तले भवन नै हुन् ।’ उनले आफूहरु खेलाडी भएकाले रंगशालाको विकास होस् भन्ने मात्रै चाहेको प्रष्ट्याए ।

‘१५÷१६ वर्ष क्रिकेटमै जीवन बिताइयो । यसैको माया लाग्छ । खेल क्षेत्रको चाँडै विकास होस् भन्ने पनि लाग्छ,’ खड्काले सुनाए, ‘यसका लागि हामीले पनि सहयोग गर्न सक्छौं भनेर नै लागिरहेका हौं ।’ उनले पोखरा क्रिकेट रंगशालाका लागिमात्रै सुधारको प्रयास गरेको नभइ समग्र पोखरेली क्रिकेट क्षेत्रलाई माथि उठाउन नै प्रयासरत रहेको बताए ।

Advertisement

‘यो रंगशालालाई सुधार गर्न अहिले ठूलो खर्च केही चाहिँदैन । ६० देखि ७० लाखमै यसको राम्रो सुधार गर्न सकिन्छ,’ खड्काले भने । उनले पोखरा रंगशालामा भएको क्रिकेट स्टेडियम आफू खेलेको सबै राष्ट्रमध्ये उत्कृष्ट भएको प्रतिक्रिया दिए । स्टेडियमको शनिबार उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीसँग अनुगमन गरेका हुन् ।

बर्खामासमा स्टेडियमा पानी जम्न नदिन खड्काले भएका खाल्डाखुल्डी समयमै पुर्न समेत सुझाए । ‘पिच सम्याउने मेसिन, घाँस काट्ने मेसिनलगायतका सामान्य उपलब्ध भएपनि स्टेडियम भए पनि क्रिकेटको सिजन जब सुरु हुन्छ, यो रंगशाला एउटा उदाहरणका रुपमा प्रस्तुत हुन्छ,’ उनले भने ।

खड्काले पिपिएलको तयारीका लागि मात्रै स्टेडियम सजाउन नलागेको प्रष्ट्याए । ‘पोखरा प्रिमियर लिग जब भयो । त्यसपछि यहाँ विदेशी खेलाडी पनि खेल्न पाए । तर, हामी यो रंगशालामा पूरै एउटा सिंगो विदेशी टिम खेलेको हेर्न चाहान्छौं,’ उनले भने । नेपाल ओडिआई राष्ट्र भइसकेकाले जुनसुकै समयमा पनि त्यही अनुरुपको म्याच खेल्न रंगशाला तयार राख्नुपर्ने बताए ।

‘हुन त अहिले कीर्तिपुर ग्राउन्डले पनि ओडिआई प्रमाणपत्र पाएको छैन । विदेशका मैदानमा जानुभयो भने सबै यस्तै हुन्छ । तर, त्यहाँ सामान्य भौतिक पूर्वाधार पूरा गरिएका हुन्छन्,’ खड्काले थपे, ‘भोलि पोखरा क्रिकेट रंगशालाले ओडिआई प्रमाणपत्र नपाउला भन्न सकिन्न । तर त्यसका लागि भौतिक पूर्वाधार पुग्न जरुरी छ ।’ उनले पोखरा क्रिकेट रंगशालालाई प्राकृतिक रुपमै बनाउन आग्रहसमेत गरे ।

ग्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा रगंशालामा बनेको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘क्रिकेट मैदानको भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार सधैं तयार छ ।’

मुख्यमन्त्री गुरुङले उनले प्रदेश सरकारले क्रिकेटका अन्य मैदान निर्माण गर्न जग्गाको खोजी भइरहेको समेत जानकारी दिए । उनले भने, ‘अहिले क्रिकेट मैदानको डिपिआर गर्न लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं । तपाईंहरु आउनुस् हामी सहयोग गर्न तयार छौं ।’ उनले क्षेत्रीय खेलकुद विकास समिति पनि संघीय संरचनामा ल्याउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया