डा. रेग्मीको एकल कविता वाचन

समाधान संवाददाता २०७५ चैत १० गते १३:२५

समाधान संवाददाता
पोखरा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको आयोजनामा शनिबार प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. जगन्नाथ रेग्मीको एकल कविता वाचन भएको छ ।

कार्यक्रममा रेग्मीले अनुष्टुप, शार्दूलविक्रीडित, मन्दाक्रान्ता तथा उपजाति छन्दका १३ कविता वाचन गरे । तीमध्ये १२ वटा नेपाली भाषाका र १ संस्कृत भाषाको कविता वाचन गरिएको थियो । वाचित कवितामा समसामयिक सामाजिक, राजनीतिक तथा विविध बेथितिप्रति व्यंग्य, प्रकृति चित्रण, देशप्रेम र मानवीय सार्वभौम भावनामा जोड दिइएको थियो ।

Advertisement

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले शास्त्रीय छन्दका कविता सुमधुर वाणीमा सुन्न पाएर आफ्नो बिहान सार्थक भएको धारणा व्यक्त गरे । उनले भने,‘गद्य र पद्यको विवाद हिजो रहे पनि आज त्यो अवस्था छैन । अब पद्य कविता वाचन कला जगन्नाथजस्ता कविहरूले युवा कविहरूलाई सिकाउनुपर्छ र छन्दमा नव आयामको खोजी पनि गरिनुपर्छ ।’

संस्थाका पूर्व अध्यक्ष प्राडा विष्णुप्रसाद पौडेलले एकल कविता वाचन चुनौतीपूर्ण रहेको धारणा राख्दै आन्तरिक र बाह्य सौन्दर्यको मेल गराएर ध्वन्यात्मकता सिर्जना गर्न सक्नु नै कविको खास खुबी भएको बताए ।
संस्थाका उपाध्यक्ष सुरज पौडलले स्वागत मन्तव्य तथा कवि रेग्मीको परिचय प्रस्तुत गरेका थिए भने गद्य लेखक संघका अध्यक्ष भूपनिधि पन्तले कार्यक्रम सफलताको कामना गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव डिल्लीराम पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया