बगरबाट उदाएको ‘मेस्सी’ सपना
विकास रोकामगर
पोखरा
सेती नदी किनारमा ठूलो सुकुम्बासी बस्ती । बस्तीको गल्ली छिचोल्दै जाँदा पुछारमा देखिन्छ, ४ कोठे एउटा घर । त्यही घरभित्र ५ जनाको परिवार । त्यो परिवार सेतीसँग जिस्किँदै बसेको पनि २५ वषर्भन्दा बढी भइसकेको छ ।
१ त खोला किनारमा घर । कुन समयमा बाढी पस्छ र जीवन सोहोरेर लैजान्छ भन्ने थाहा छैन । त्यसमाथि न त उभिएको जमीन आफ्नो हो न त घामपानी छेकेको त्यो सानो छानो हकदाबी गर्ने कुनै प्रमाण नै छ । त्यही घरको एउटा छोरो भने ‘नेपालको मिस्सी’ बन्ने सपना हुर्काइरहेको छ ।
त्यो घरको मुख्य आयस्रोत भने त्यही सेती बगर हो । जीवनै उठाएर लैजान्छ कि भन्ने भयमा पनि आश्रय दिइरहेको छ । बाबु बिहानै खोलामा माछा मार्न जान्छन्, आमा र हजुरआमा बालुवा चाल्न । १२ वर्षीय क्रिजल (विनय) तामाङ सेती बगरमै सानो भाइसँग दिनभर खेलेर बस्छन्, लात्ते भकुन्डो ।
बगरमा फुटबल खेल्दाखेल्दै क्रिजल जापान जान पाउने भएका छन् । उनी १२ वर्ष मुनिका जापानमा हुन लागेको जुनियर कोपा पुमा टोरेरस फुटबल प्रतियोगिता खेल्न चैत ११ मा त्यता उड्न लागेका हुन् । त्यतिबेला उनीमात्रै उड्ने छैनन्, उनीसँगै सिंगो उनको सपना उड्ने छ । त्यो एउटा स्वर्णीम सपनाको उडान हुनेछ । प्रतियोगितामा जापान, नेपाल, ब्राजिल, जर्मनीलगायत विभिन्न ४० राष्ट्रको सहभागिता रहनेछ ।
जापानी भूमिमा क्रिजलले नेपालको तर्फबाट पहिलो खेल मार्च २९ मा खेल्नेछन् । मिडफिल्डर पोजिसनमा उभिन तयार उनलाई जितेरै आउन मन छ । भन्छन्, ‘मेस्सीले गोल गर्या देख्याछु । त्यस्तै गरी जितेर आउने हो ।’ उनीहरुलाई अहिले प्रशिक्षक शम्भु केसीले प्रशिक्षण दिइरहेका छन् ।
पहिलेपहिले क्रिजलकी आमालाई लाग्थ्यो, ‘दुख गरेर छोरालाई पढाउन स्कुल भर्ना गरियो । छोरो नपढेर फुटबल खेलेर बस्छ ।’ तर अचेल उनको त्यो विचार फेरिएको छ । उनी आफैं समय मिलाएर छोरोलाई फुटबल खेल्न दिइरहेकी छिन् । आफू नखाएर भएपनि छोरोलाई खेल्न चाहिने सरसामान जुटाइरहेकी छिन् ।
विदेशको नाममा इन्डिया पनि नदेखेको परिवारको छोरो जापान जाने तयारी गर्दैछ । यतिबेला परिवारलाई खुसीले झ्वाम्मै अंगालो हालेको छ । क्रिजलका आफन्त भन्छन्, ‘फुटबल खेलेर यति सानै उमेरमा विदेशसम्म पुग्छ भन्ने लागेकै थिएन । अब देशको नाम राखोस् । हामीलाई सुख देओस् ।’
क्रिजल स्वयंलाई थाहा छैन कहिलेदेखि बगरमा लाते भकुन्डो हिर्काउन थाले । तर उनलाई यत्ति थाहा छ, ‘फुटबल खेल्न खेल्न पाए सबै पुग्छ ।’ उनी झिसमिसेमै उठ्छन् र ‘दाइहरु’ले दिएको पुरानो फुटबल खुत्तामा नचाउन पुगिहाल्छन् ।
घरछेउमा सेतीले कटानपछि छोडेको सानो थुम्को छ । त्यही थुम्का क्रिजलका लागि रंगशाला भइदियो । त्यही थुम्कामा साथीभाइ मिलेर कयौं पटक ‘म्याच’ खेलेका छन् । घरनजिकको थुम्का देखाउँदै भन्छन्, ‘पैलेदेखि ह्यैं खेलेको हुम् । पछि दाइहरुसँग माथि खेल्न गएँ ।’
उक्त ठाउँमा २ वर्ष पहिले इन्द्रेणी फुटबल एकाडेमी खुल्यो । स्कुलमा पढ्दापढ्दै त्यही एकाडेमीमा पुगे । त्यहाँ पुगेपछि क्रिजलको खेलमा सुधारमात्रै आएन, खेलेर पनि विदेश जान पाइने रहेछ भन्ने लाग्यो । ‘सुरुदेखि नै हाम्रो नजरमा परेको थियो । अहिले उसले आफैं प्रमाणित गरेर देखाइदियो,’ उनलाई प्रशिक्षण दिइरहका अञ्जन देवकोटा भन्छन् ।
क्रिजल भानुभक्त विद्यालयमा कक्षा ७ मा पढ्छन् । उनलाई उत्तिसारो खेलाडीको नाम पनि थाहा छैन । तर उनले बार्सिलोनाका लियोनल मेस्सी भने चिनेका छन् । भन्छन्, ‘ठूलो भएर म पनि मिस्सी जस्तै खेलाडी हुन्छु ।’ उनलाई नेपालका खेलाडी विमल घर्तीमगरको नाम भने कण्ठै छ ।
क्रिजलका बाबु बमबहादुर तामाङको मुख्य पेसा भन्नु नै माछा मार्नु हो । उनी बिहानै उठ्छन् र जाली समाएर पोखराका खोलाखोला डौडिहाल्छन् । एकदिन माछा नमारे छाक छाक नटर्ने अर्को आपत आइलाग्छ ।
क्रिजलकी आमा र हजुरआमाको पनि त्यही कथा छ । उनीहरुले पहिले सेती खोलामै ढुंगा कुटेर गिटी बनाउँथे । तर हिजोआज कुटेको गिटी कसैले नकिन्दा त्यो व्यवसाय नै छोडिदिएको उनीहरु बताउँछन् । उनकी हजुरआमा भन्छिन्, ‘पहिले पो कुटेको गिटी बिक्थ्यो, अहिले त त्यो पनि हरायो । बिहानै उठेर बालुवा चाल्नुपर्छ ।’
छोरो, नाती खेलेर देशको नाम राखोस् भन्ने चाहना उनीहरुको छ । ‘बिहानबेलुकै खेल्छु भन्छ । साँझ ढिलोसम्म पढ्छ । समय नै पाउँदैन । आजभोलि बिहान खेल्न पठाइराखेका छौं,’ आमा भन्छिन्, ‘भोलि केही गरेर ठूलो मान्छे भयो भने हामीले पनि बगरमै ज्यान गुमाउनु पर्ने थिएन ।
तपाईको प्रतिक्रिया