कालिगण्डकी करिडोरका स्थानीय भन्छन्ः सडक विस्तारअघि मुअब्जा देऊ

समाधान संवाददाता २०७५ चैत ११ गते ८:२८

सुन्दरकुमार थकाली

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर र मुस्ताङ सदरमुकाम जोमसोमका स्थानीयबीच आइतबार सडक मापदण्ड लगायत ५ बुँदे सहमति भएको छ । जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा भएको बहुपक्षीय छलफलमा करिडोर र जोमसोमका स्थानीयले सडक निर्माणलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सडक निर्माण द्रुत गतिमा अघि बढाउने, हाल देखिएका समस्या आपसी समझदारीमा समाधान गर्ने, जोमसोम क्षेत्रमा पर्ने करिडोर सडक मापदण्ड कालिगण्डकी नदीले कटान गरेकाले संरक्षणका लागि पहल गर्ने सहमति भएको छ । मापदण्डभित्र पर्ने घर तथा टहराको उचित मुआब्जा दिने र सडक निर्माणलाई गुणस्तरीय बनाई तोकिएको समयमै सक्ने सहमति भएको छ । मंगलबारदेखि स्थानीय सरोकारवाला, जनप्रतिनिधि, गाउँ मुखिया लगायतको रोहबरमा सडक छेउछाउका घर टहराको मापदण्ड मार्किङ गरिने भएको छ ।

Advertisement

बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनीदेखि जोमसोम ४ खण्ड र जोमसोमदेखि कोरला ७ खण्डमा काम गरिरहेको छ । करिडोरले सडकको मध्यभागबाट दायाँ बायाँ साढे ५ मिटर गरी ११ मिटर मापदण्ड तोकेको छ । आयोजना प्रमुख मुकुन्द अधिकारीले सडकको मापदण्डमा पर्ने संरचनालाई समयमै स्थान्तरण गरी काम अघि बढाइने बताए । उनले संरचना हटाएमात्र सडक निर्माण सहज हुने बताए । आयोजनाबाट बनेका र निर्माणाधीन मोटरेबल पुल सबै ११ मिटरका भएकाले मापदण्ड घटाउन नमिल्ने उनको भनाइ छ ।

करिडोर सडकका इन्जिनियर जगत प्रजापतिले सरोकारवालाको आग्रहमा सडक मापदण्ड पुनः रेखांकन गरिने जानकारी दिए । मापदण्डमा पर्ने विद्युत, खानेपानी, टेलिफोन, ढल जस्ता संरचनाको उचित व्यवस्थापन गरिने उनले बताए । नदी कटान रोकी सडक बचाउन करिडोरले जोमसोमका २ स्थानमा २ सय मिटरभन्दा बढी क्षेत्रमा ५ मिटर अग्लो आरसिसी ढलानसहित ग्याबिन राखेर तटबन्ध लगाउने योजना उनले सुनाए ।

Advertisement

करिडोरले जोमसोम बजार क्षेत्रमा सडक ढलान गर्ने जनाएको छ । कालोपत्रे गर्दा मेसिनहरुको भाइब्रेसनले घरहरुमा असर पर्ने भएकाले ढलान गर्नु उपयुक्त हुने प्रजापतिको सुझाव छ । प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले राष्ट्रिय गौरवको आयोजनाबाट मुस्ताङको समृद्धि र विकासमा योगदान पुग्ने उल्लेख गरे । उनले सडक निर्माण गर्दा बस्ती बचाएर काम अघि बढाउन आग्रह गरे ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङले कारला सडक मुस्ताङबासीका लागि गौरवको बिषय भएको बताइन् । छलफलमा पुथाङ गाउँ समाजले सडक मापदण्ड १ मिटर घटाउन आग्रह गर्दैै ज्ञापनपत्र बुझाएको छ । जोमसोमबासीले घर टहराको मुआब्जा उपलब्ध नगराएसम्म सडक बनाउन नदिने चेतावनी दिएका छन् ।

छलफलमा पूर्वसभासद चन्द्रबहादुर थकाली, नेकपाका रमेश भट्टचन, नेपाली कांग्रेसका गणेश शेरचन, गाउँपालिका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, निर्माण व्यवसायी संघका अध्यक्ष जयन्द्रलाल थकाली, गाउँ मुखिया रामप्रसाद शेरचन, यातायात व्यवसायी राजु लालचन, पत्रकार भीमबहादुर रसाइली, तिलक विक, नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली र खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र शेरचनले सडक निर्माण र मापदण्डबारे सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया