पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआरआई

समाधान संवाददाता २०७५ चैत ११ गते ११:३९

समाधान संवाददाता
पोखरा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक एमआरआई सेवा सुरुवात भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुदानमा १० करोड ५० लाखको लागतमा एमआरआई मेसिन जडान गरिएको हो । बोलपत्र आह्वान गरिएको मध्ये फिलिप्स कम्पनीको मल्टिभा १.५ मोडलको मेसिन जडान गरी सेवा सुरुआत गरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । एमआरआई गर्नेले ४ हजार देखि ११ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

Advertisement

पोखराका निजी अस्पतालमा एमआरआईको लागि ११ देखि १८ हजार रुपैयाँसम्म तिर्नु पर्ने बाध्यता छ । नसा सम्बन्धी रोगको जाँचको लागि एमआरआई सेवा अत्यन्तै उपयोगी भएकोले सम्बन्धित सेवा अभाव पूर्ति भएको प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले बताए । उनले फागुन महिना देखिनै अनौपचारिक रुपमा एमआरआई सेवा सुरुवात भएको जानकारी दिए ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एमआरआई कक्षको उद्घाटन पछि बोल्दै कुल बजेटको १० प्रतिशत नछुट्याएएसम्म स्वास्थ्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन ।

Advertisement

उपप्रधान मन्त्री यादवले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रको लागि १० प्रतिशत बजेट आवश्यक पर्ने औल्याएको बताए । उनले स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट नभएको उल्लेख गरे । ‘स्वास्थ्य क्षेत्रमा कुल बजेटको ४.४ प्रतिशत मात्र छुट्याइएको छ,’ मन्त्री यादवले भने, ‘४ प्रतिशत बजेट कर्मचारीको खर्चमा जान्छ । शून्य दशमलव ४ प्रतिशतले बजेटले स्वास्थ्य सेवा चलाउन परेको छ ।’ उनले बजेट प्रयाप्त नहँुदा स्वास्थ क्षेत्रको पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको उल्लेख गरे । मन्त्री यादवले वर्षौं पुराना भौतिक पूर्वाधार एवं जनशक्तिले अहिलेको माग धान्न नसक्ने दाबी गरे ।

पश्चिम नेपाल र पहाडी क्षेत्रको केन्द्रको रुपमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई काठमाडाैं पछिको स्वास्थ्य र चिकित्सा शिक्षाको केन्द्र बनाउने सरकारको नीति रहेको जानकारी दिँदै उनले उपलब्ध जनशक्ति र श्रोत र साधनको उपयोग गरेर जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिए । ‘प्रतिष्ठानलाई पश्चिम नेपालको नमुना र गौरवको रुपमा विकास गरौैं,’ मन्त्री यादवले भने, ‘गुरु योजना निर्माण गरेर चरण चरणमा सुधारका काम गरौं । सरोकारवालासंग समन्वय र सहकार्य गरेर स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा ध्यान दिन आवश्यक छ ।’ उनले स्वास्थ्य क्षेत्रको विशिष्ट र विशेषज्ञ सेवा दिन समेत सुझाव दिए ।

सरकारले सिमित श्रोत र साधनका बाबजुद काम गर्नु परेको उल्लेख गर्दै उनले राज्यको अनुदानका आधारमा मात्र चल्न नसकिने सुझाव दिए । मन्त्री यादवले प्रक्रिया र विधिसम्मत ढंगले कामा गर्न समेत निर्देशन दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा थापाले चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तरतहको पढाई सुरुवात गर्न लागेको बताए । उपकुलपति थापाले प्रतिष्ठानले गुणस्तरीय चिकित्सा शिक्षा एवं स्वास्थ्य सेवाका लागि पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्य, मेडिकल रेकर्ड अफिसर भीमप्रसाद पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया